भुवा जात्रामा गएका युवाको शव भेटियो : रहस्यमय बन्यो चौकुनेको घटना

सुर्खेत,८ कार्तिक ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का २० वर्षीय भुवन धमला मृत फेला परेका छन्। कार्तिक ३ गतेदेखि बेपत्ता रहेका उनी चार दिनपछि तामाधारा खोलाको ताताथाई क्षेत्रमा मृत अवस्थामा भेटिएका हुन्।
स्थानीय युवाका रूपमा परिचित भुवन कार्तिक ३ गते चौकुने–१० घाटगाउँमा लाग्ने भुवा जात्रा हेर्न गएका थिए। रातिको समयमा लाग्ने उक्त जात्रामा सहभागी भएका उनी भोलिपल्ट घर नफर्किएपछि परिवार र स्थानीयले खोजी सुरु गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार शुक्रवार बिहान तामाधारा खोलामा उनको शव फेला परेको हो। घटनाको प्रकृति शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ। “घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ,” उनले बताए।
यसैबीच, चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विकले घटनाप्रति दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
स्थानीय बासिन्दाहरूले पनि घटनाको रहस्य छिट्टै खुलेर पीडित परिवारलाई न्याय दिलाउन सरकार र सुरक्षासंस्थालाई आग्रह गरेका छन्।






