बजेट अभावले छिन्चु–जाजरकोट सडक अलपत्र

सुशील खड्का
सुर्खेत, १६ माघ ।
छिन्चु–जाजरकोट जोड्ने कर्णाली प्रदेशकै एक महत्वपूर्ण मुख्य सडक निर्माण थालिएको तीन वर्ष पूरा हुनै लाग्दा पनि अपेक्षाअनुसारको प्रगति देखिएको छैन । छिन्चुबाट सुर्खेतकै मेहलकुनाहुँदै सिम्ता, सल्यान, रूकुम पश्चिम, जाजरकोट र डोल्पासम्म जोड्ने यो सडक कर्णाली र लुम्बिनी प्रदेशलाई जोड्ने जीवनरेखा मानिन्छ । तर, निर्माणमा देखिएको ढिलाइ, कच्ची सडक र धुलोका कारण यस सडक प्रयोग गर्ने स्थानीय र यात्रुहरू दैनिक सास्ती भोगिरहेका छन् ।
सडक विस्तारका क्रममा ३३ केभी र ११ केभीका विद्युत् पोल तथा तार नहटाइनु, आवश्यकता अनुसार बजेट विनियोजन नहुनु र कमजोर ठेक्का व्यवस्थापनले सडक निर्माण थप प्रभावित बनेको हो । राज्यको उदासिनता र कमजोर समन्वयकै कारण सडक निर्माण लामो समयसम्म अलपत्र पर्दा स्थानीयवासीले धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता हट्न सकेको छैन ।
सडक डिभिजन कार्यालय सुर्खेतले छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत राताचौर नजिकको साँधी खोलादेखि गुर्भाकोट नगरपालिकाको पोखरेसम्म करिब २० किलोमिटर सडक स्तरोन्नतिको काम गरिहेको छ । १ वैशाख २०८० मा सम्झौता भएको यो आयोजनाको कुल लागत ७९ करोड ७८ लाख २७ हजार रुपैयाँ छ । तर, पर्याप्त बजेटका अभावका कारण अहिले यो सडक अलपत्र बनेको छ ।
केएस कन्ट्रक्सन प्रालिले ठेक्का पाएको भए पनि ठूलो लगानी हुँदाहुँदै कामले गति लिन नसकेको स्थानीयको गुनासो छ । कच्ची र धुलाम्मे सडकले बजार क्षेत्रमै बस्न र व्यापार गर्नसमेत कठिन भएको स्थानीय गुनासो छ । ‘सडक निर्माणमा नाममा खनेर अलपत्र छाडिदा धुलो यति धेरै उड्छ कि घर बाहिर बस्नै सकिँदैन,’ स्थानीय तिलक वली भन्छन्, ‘निर्माण व्यवसायीलाई सोध्दा बजेट नै पर्याप्त छैन भन्छन् । आखिर हाम्रो पीडा कसले बुझिदिने ?, धुलोका कारण बालबालिका र जेष्ठ नागरिकलाई स्वास्थ्य सम्बन्धिका समस्या बढ्न थालेका छन् ।’ उनले तत्काल सडक निर्माणको कामलाई गति दिन माग गरे ।
यो सडक केवल स्थानीय आवागमनका लागि मात्रै होइन, छिन्चुबाट मेहलकुना, सिम्ता, सल्यान, रूकुम पश्चिम, जाजरकोट, डोल्पा हुँदै नेपालगञ्जसम्म जाने यात्रुहरूको मुख्य मार्ग हो । दैनिक रूपमा मालवाहक सवारी, सार्वजनिक बस, एम्बुलेन्स र निजी सवारीसाधन यही सडक प्रयोग गर्छन् । तर वर्षौंदेखि कच्ची अवस्थामा रहेको सडकका कारण लामो दूरीका यात्रुहरूले घण्टौँसम्म धुलो र हिलो सहँदै यात्रा गर्नु परेको छ ।
वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले सवारी साधन बिग्रिने, दुर्घटनाको जोखिम बढ्ने र यात्रा समय दोब्बर लाग्ने समस्या रहेको यात्रुहरूको अनुभव छ । जाजरकोट र डोल्पातर्फ जाने नागरिकहरू समयमै गन्तव्यमा पुग्न नसक्दा थप समस्या भोगिरहेका छन् । स्थानीयका अनुसार कच्ची सडकका कारण साना व्यवसाय प्रभावित हुनुका साथै कृषि उपज ढुवानीमासमेत कठिनाइ भइरहेको छ ।
सडक निर्माणको लक्ष्यअनुसार २०८३ साउन भित्र करिब २० किलोमिटर सडक कालोपत्रे गर्ने योजना छ । बजार क्षेत्रमा फोरलेन र बाँकी क्षेत्रमा डबल लेन सडक निर्माण गरिने जनाइएको छ । तर, विद्युत्का पोल सार्ने प्रक्रिया, रुख कटान तथा ठेक्का व्यवस्थापनको समस्या समाधान नहुँदा र बजेट अभाव कायमै रहँदा सम्झौता मितिसम्म सडकले पूर्णता पाउने आधार गुम्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतका प्रमुख इन्जिनियर किरण खनालले विद्युत् पोल सार्ने विषयमा छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने दावी गरे ।
‘पहिल्यै ठेक्का लागिसकेको सडक भएकाले केही प्राविधिक र प्रशासनिक कारणले ढिलाइ भएको देखिन्छ,’ खनाल भन्छन्, ‘सडक डिभिजन कार्यालयसँग समन्वय गरेर छिट्टै निकास दिन्छौं ।’ उक्त सडकका लागि चालु आर्थिक वर्षमा सडक निर्माणका लागि जम्मा १२ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरिएको छ । प्रारम्भिक लागत विवरणअनुसार विद्युत् पोल सार्न मात्रै करिब चार करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनका अनुसार सडक निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि स्थानीय तहले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ ।
‘मेहलकुना बजार क्षेत्रमा पानी निकास, विद्युत् पोल र स्थानीय विवादका विषयमा समस्या छन्,’ पुन भन्छन्, ‘स्थानीय तहबाट समाधान गर्न सकिने विषयमा पहल गरिरहेका छौं र सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ ।’ तीन वर्षको अवधिमा कतिपय स्थानमा नाला, कल्भर्ट निर्माण र सडक चौडा गर्ने काम सम्पन्न भए पनि समग्र सडक सहज र सुरक्षित बन्न सकेको छैन । योजना तय गर्दा नै पर्याप्त बजेट सुनिश्चित नगर्नु र पूर्वतयारी कमजोर हुनुको असर अहिले स्थानीयले प्रत्यक्ष रूपमा भोगिरहेका छन् ।






