कोलम्बियामा विमान दुर्घटना, सांसदसहित १५ जनाको मृत्यु

कोलम्बिया,१५ माघ।
दक्षिण अमेरिकी देश कोलम्बियामा बुधबार विमान दुर्घटना भएको छ । बीचक्राफ्ट १९०० नामको विमानमा सवार सबै १५ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानमा १३ यात्रु र दुई चालक दलका सदस्य थिए । साथै, विमानमा कोलम्बियाली सांसद र आगामी चुनावका उम्मेदवार पनि थिए । विमान भेनेजुएला–कोलम्बिया सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
कोलम्बियाको सरकारी एयरलाइन्स सटेनाद्वारा सञ्चालित यो विमानले कुकुटा शहरबाट उडान भरेको थियो र बुधबार दिउँसो ओकाना शहरमा अवतरण गर्नुअघि सम्पर्क विच्छेद भएको थियो ।
विमान हराएको खबर पाउने बित्तिकै खोजी कार्य सुरु भएको थियो । बुधबार बिहान ११ः४२ बजे कुकुटाबाट उडेको विमान अवतरण गर्नुभन्दा ११ मिनेट अगाडि सम्पर्क विच्छेद भएको थियो ।
विमानको भग्नावशेष कुकुटाको दुर्गम पहाडी क्षेत्रमा फेला परेको थियो । कुकुटा द्रुत गतिमा मौसम परिवर्तन हुने पहाडी क्षेत्र हो ।
कोलम्बियाली सरकारले खोजीमा सहयोग गर्न वायुसेना पनि खटाएको थियो ।
कोलम्बियाको नागरिक उड्डयन एजेन्सीका अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण पत्ता लगाउन भग्नावशेषको जाँच गरिरहेका छन् ।






