कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

सुर्खेत, ३० असोज ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष कर्णालीमा चाडपर्वका बेला खाद्यान्न अभाव हुन नदिने जनाएको छ । त्यसका लागि कम्पनीले गत वर्ष २१ वटा रहेको वितरण केन्द्रको संख्या बढाएर यस वर्ष ८१ पुर्‍याएको छ ।

चाडपर्वअघि नै अधिकांश वितरण केन्द्रमा खाद्यान्न पुर्‍याएर मौज्दात राखिएको कम्पनीको कर्णाली प्रदेश प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका अनुसार मुगुको मुगुम कार्मारोङको एउटा स्थान र बाजुराको मुक्तिकोटमा बाटो अवरुद्ध भएकाले खाद्यान्न पठाउन सकिएको छैन । अन्य जिल्लाका वितरण केन्द्रमा भने खाद्यान्न पुर्‍याइएको छ । 

स्थानीय उत्पादनले वर्षभरको माग धान्न नसक्ने माथिल्लो कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा समेत चाडपर्वअघि नै खाद्यान्न पुर्‍याइएको कार्यालय प्रमुख केशवराज बुढाले बताए । चाडपर्वका बेला खाद्यान्नको माग बढ्ने, ढुवानी प्रभावित हुने र मूल्यवृद्धिको जोखिम रहने अवस्थालाई ध्यानमा राखेर यस वर्ष आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको उनले बताए । 

विगतका वर्षमा साउनमा खुल्ने टेन्डर यस वर्ष जेठमै खोलिएको थियो। टेन्डर प्रक्रिया छोट्याइएकाले समयमै सबै जिल्लामा खाद्यान्न पुर्‍याउन सकिएको कार्यालयको भनाइ छ । हिमाली जिल्ला हुम्लामा दसैंअघि नै खाद्यान्न पुर्‍याइएको छ । 

सिमकोट शाखा तथा सर्केगाड र श्रीनगर डिपोमा समेत खाद्यान्न मौज्दात राखिएको छ । कम्पनीले जिल्लाका सदरमुकाममा सीमित वितरण प्रणालीलाई गाउँबस्तीसम्म विस्तार गर्ने उद्देश्यले वितरण केन्द्रको कोटा बाँडफाँट गरी बिक्रीवितरणलाई विकेन्द्रित गरेको बुढाले बताए । ‘थोरै ठाउँबाट वितरण हुँदा नागरिकले गुनासो गरेपछि स्थानीयको मागअनुसार वितरण केन्द्र बढाइएको हो,’ उनले भने । यसअघि चाडपर्व लक्षित सुपथ मूल्यका बिक्री केन्द्र सञ्चालन हुँदै आएकामा यस वर्षदेखि तिनलाई वर्षैभरि सञ्चालनमा ल्याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रदेश प्रादेशिक कार्यालयका अनुसार हुम्लामा १३, मुगु, डोल्पा र जाजरकोटमा १२/१२, जुम्लामा सात, कालीकोटमा १४, दैलेखमा चार, रुकुम पश्चिममा पाँच र सुर्खेतमा दुईवटा वितरण केन्द्र सञ्चालनमा छन् । ती केन्द्रबाट खाद्यान्न ढुवानी तथा बिक्रीवितरण भइरहेको छ ।

चाडपर्वका लागि सुर्खेतस्थित प्रादेशिक कार्यालयमा पनि खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मौज्दात राखिएको छ । कार्यालय प्रमुख बुढाका अनुसार यहाँ १३ हजार क्विन्टल चामल, ६४० क्विन्टल दाल, ४० हजार लिटर तेल र ४५० क्विन्टल चिनी मौज्दात छ । आवश्यक परे अन्य कार्यालयबाट समेत आपूर्ति गर्न सकिने गरी व्यवस्थापन गरिएको उनले बताए । कर्णालीमा सहुलियत दरमा खाद्यान्न बिक्रीका लागि यस वर्ष एक करोड ४० लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

उद्योग वाणिज्य संघ र स्याक नेपालबीच दुईवर्षे

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

भोटेकोशी बाढी : दशैँ आयो तर आमाबुवा

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!