राजापुरका विपन्न परिवारका छ बालबालिकालाई शैक्षिक सामग्रीसहित खाद्यान्न र लत्ताकपडा सहयोग

बर्दिया २९ असोज ।
बाँके युनेस्को क्लब (बीयूसी) ले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत अति विपन्न चार परिवारका छ जना बालबालिकालाई करिब एक लाख रुपैयाँ बराबरका शैक्षिक सामग्री, खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ।
आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारका बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न, नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्न तथा पठनपाठनलाई निरन्तरता दिन सहयोग उपलब्ध गराइएको हो। राजापुर नगरपालिका वडा नम्बर २, ३, ५ र ८ का विपन्न परिवारका बालबालिकालाई लक्षित गरी उक्त सामग्री वितरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ।

राजापुर नगरपालिकाका नगर प्रमुख दीपेश थारूले सम्बन्धित परिवारका बालबालिकालाई सहयोग सामग्री हस्तान्तरण गर्नुभएको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अनिता चौधरी, शिक्षा शाखा प्रमुख टिकानाथ गोसाईं, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक ईश्वर बीके, वित्त तथा खरिद अधिकृत होमकुमार चौधरी र फिल्ड सुपरभाइजर प्रमिसा थारूलगायतको सहभागिता रहेको थियो।
आर्थिक अभावका कारण बालबालिकाको शिक्षा र दैनिक जीवनयापनमा पर्न सक्ने कठिनाइ न्यूनीकरण गर्ने उद्देश्यले शैक्षिक सामग्री, खाद्यान्न र लत्ताकपडा उपलब्ध गराइएको हो। यसबाट बालबालिकालाई आवश्यक शैक्षिक सामग्रीको अभाव कम हुनुका साथै परिवारको दैनिक आवश्यकतामा समेत केही राहत पुग्ने अपेक्षा गरिएको छ।

सहयोग सामग्री हस्तान्तरणपछि नगर प्रमुख थारूले बालबालिकालाई नियमित रूपमा विद्यालय जान, लगनशीलताका साथ अध्ययन गर्न र उपलब्ध शैक्षिक अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो। उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सिकाइ निरन्तरता र शैक्षिक प्रगतिमा जोड दिनुभयो।
आर्थिक तथा सामाजिक कठिनाइका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र उनीहरूको सिकाइ तथा विकासमा अवरोध नआओस् भन्ने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ। बालबालिकाले शिक्षा प्राप्त गर्ने, सुरक्षित वातावरणमा हुर्कने र सम्मानजनक जीवनयापन गर्ने अवसर सुनिश्चित गर्न स्थानीय सरकार, समुदाय तथा विकास साझेदारबीचको सहकार्य आवश्यक रहेको पनि क्लबले उल्लेख गरेको छ।

बालबालिकाको आवश्यकता पहिचान गरी शिक्षा, संरक्षण र आधारभूत सेवामा पहुँच बढाउने यस्ता सहयोगले विपन्न परिवारका बालबालिकालाई नियमित अध्ययनका लागि प्रोत्साहित गर्नुका साथै उनीहरूको शैक्षिक निरन्तरतामा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।






