अख्तियार सम्पर्क कार्यालय नेपालगन्जद्वारा ९७३ उजुरी फछ्र्यौट

बाँके ,१ फाल्गुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तर्गत सम्पर्क कार्यालय नेपालगन्जले पछिल्ला दुई आर्थिक वर्षमा कुल ९७३ वटा उजुरी फछ्र्यौट गरेको जनाएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ७८८ तथा चालु आर्थिक वर्षमा हालसम्म १८५ वटा उजुरी फछ्र्यौट गरिएको कार्यालयले जानकारी दिएको छ ।

आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा बिहीबार सम्पर्क कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख झरेन्द्र प्रसाद चापागाईँले उक्त तथ्याङ्क सार्वजनिक गरे । उनका अनुसार गत आर्थिक वर्षमा ९०२ वटा उजुरी दर्ता भएका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ४७१ वटा उजुरी दर्ता भइसकेका छन् ।

कार्यालय प्रमुख चापागाईँले नेपालगन्ज सम्पर्क कार्यालयको कार्यक्षेत्र दाङ, बाँके, बर्दिया र रोल्पा जिल्ला रहेको जानकारी दिँदै ती जिल्लामध्ये स्थानीय तहसँग सम्बन्धित उजुरीको संख्या सबैभन्दा बढी रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाबाट परेको छ । उक्त गाउँपालिकासम्बन्धी मात्रै २५ वटा उजुरी दर्ता भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले भ्रष्टाचार नियन्त्रणका लागि सबै निकाय तथा नागरिक जिम्मेवार बन्नुपर्ने आवश्यकता औँल्याए । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन सबै पक्षले इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचारविरुद्ध सञ्चारमाध्यमले खबरदारी र सचेतनामूलक भूमिका निर्वाह गरिरहेको बताए ।

नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वतन्त्र संवैधानिक निकायका रूपमा स्थापना गरिएको हो । स्थापना कालदेखि नै आयोगले सार्वजनिक निकायमा हुने अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धान, कारबाही र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

स्थापना दिवसको अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीलाई सम्मान समेत गरिएको छ। २० हजार रुपैयाँ राशिको ‘अख्तियार अनुसन्धान सेवा पुरस्कार’ इन्जिनियर हेमबहादुर सिंजालीलाई प्रदान गरिएको छ भने १० हजार रुपैयाँ राशिको ‘अख्तियार सेवा पुरस्कार’ रञ्जित अधिकारीलाई प्रदान गरिएको छ ।

यसै अवसरमा कार्यालयले कर्मचारीबीच खेलकुद प्रतियोगिता समेत आयोजना गरेको थियो । क्रिकेट, टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीलाई पुरस्कार वितरण गरिएको कार्यालयले जनाएको छ ।

अख्तियार सम्पर्क कार्यालय नेपालगन्जद्वारा ९७३ उजुरी फछ्र्यौट

चन्दननाथमा युवालाई व्यवहारिक क्याड्रे तालिम

अख्तियार सम्पर्क कार्यालय नेपालगन्जद्वारा ९७३ उजुरी फछ्र्यौट

उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन

Leave a comment

Your email address will not be published. Required fields are marked *