धम्बोजिमा राजा वीरेन्द्रको शालिक पुनःस्थापनाको तयारी, उपमहानगरलाई औपचारिक हस्तान्तरण

बाँके ,२८ पुस।

नेपालगन्जको ऐतिहासिक वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक पुनःस्थापना गर्ने प्रक्रिया अघि बढेको छ । एतिहासिक पुरातात्त्विक धरोहर संरक्षण एवं शालिक पुनर्स्थापना समितिले वीरेन्द्रचोकमा राख्नका लागि राजा वीरेन्द्रको अर्धकदको शालिक नेपालगन्ज उपमहानगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
समितिका संयोजक भीमबहादुर शाहीले राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाको उपस्थितिमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई शालिक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा संयोजक शाहीले एक महिनाभित्र शालिक स्थापना गर्न मेयर विष्टलाई आग्रह गर्नुभयो ।
वीरेन्द्रचोकमा यसअघि रहेको राजा वीरेन्द्रको शालिक दोस्रो जनआन्दोलनको क्रममा तोडफोड गरिएको थियो । त्यसयता उक्त स्थानमा पुनः शालिक स्थापना गर्न राजावादी तथा राष्ट्रवादी समूहले पटक–पटक प्रयास गरे पनि विभिन्न कारणले सफल हुन सकेका थिएनन् ।
पछिल्लो समय भने राजा वीरेन्द्रको शालिक पुनःस्थापनाका विषयमा राजसंस्था र हिन्दु राष्ट्रप्रति आस्था राख्ने विभिन्न दल तथा समूहबीच सहमति बढ्दै गएको देखिन्छ । पार्टीको झण्डा र पहिचानभन्दा माथि उठेर शालिक स्थापना गर्नुपर्नेमा उनीहरू एकमत हुँदै आएका छन् । केही दिनअघि यिनै समूहले मेयर विष्टलाई ज्ञापनपत्र बुझाउँदै वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक राख्न माग गरेका थिए ।


यसैबीच, भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा नेपालगन्जमा रहेका वीपी कोइराला, पुष्पलाल, गणेशमान सिंह र सहिद सेतु विकका शालिकसमेत तोडफोड गरिएको थियो । ती सबै शालिक एकैपटक पुनःस्थापना गर्ने तयारीमा मेयर विष्ट लागिपरेका छन् । यही सन्दर्भमा नेता र सहिदका शालिकसँगै राजा वीरेन्द्रको शालिक पनि राख्नुपर्ने दबाब नगरपालिकामाथि बढ्दै गएको छ ।
शालिक हस्तान्तरणपछि राप्रपा नेपालका नेता तेजविक्रम शाहले ६ फिट उचाइको राजा वीरेन्द्रको शालिक राख्ने तयारी भएकाले अन्य शालिक राखेर ऐतिहासिक धरोहरलाई कुरुप बनाउन नहुने धारणा राख्नुभयो ।
समितिका संयोजक शाहीले आफूहरूले दिएको शालिक होस् वा अन्य कुनै शालिक, एक महिनाभित्र वीरेन्द्रचोकमा शालिक स्थापना हुनैपर्ने स्पष्ट गर्नुभयो । उक्त अवधिभित्र नेपालगन्ज उपमहानगरपालिकाले शालिक नराखे जनताले नै शालिक राख्ने चेतावनीसमेत उहाँले दिनुभएको छ ।

धम्बोजिमा राजा वीरेन्द्रको शालिक पुनःस्थापनाको तयारी, उपमहानगरलाई औपचारिक हस्तान्तरण

फागुन २१ को निर्वाचन सफल पार्न लुम्बिनी

Leave a comment

Your email address will not be published. Required fields are marked *