तिला–१ का ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबर सिरक वितरण

काली बहादुर परियार
जुम्ला ,२२ पुस।

हिमाली जिल्लामा चिसो बढेसँगै जनजीवन प्रभावित बन्दै गएको बेला तिला गाउँपालिका–१ ले वडाभित्रका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो फाइबर सिरक वितरण गरेको छ ।

हिउँदे याममा अत्यधिक चिसोले सबैभन्दा बढी जोखिममा पर्ने वर्गलाई लक्षित गर्दै स्थानीय सरकारले राहत कार्यक्रम अघि सारेको हो । तिला गाउँपालिका–१ का वडा सचिव मिमकोशा रोकायाका अनुसार जाडोको प्रभाव बढे पछि वडाले अग्रसरता लिँदै ज्येष्ठ नागरिकका लागि न्यानो कपडा अन्तर्गत फाइबर सिरक वितरण गरेको हो ।

चिसोले ज्येष्ठ नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले वडाले यो कार्यक्रम ल्याएको उनकाे भनाइ छ । चालू आर्थिक वर्ष २०८२/८३ मा वडाले यस कार्यक्रमका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियाे ।

वडा सचिव रोकायाका अनुसार वडा भित्रका करिब १ सय ३४ जना ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरिएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर सिरक वितरण गरिएको तिला गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष हस्तवीर दमाईले जानकारी दिए ।

दिनदिनै चिसो बढ्दै गएकोले सबैभन्दा संवेदनशील वर्गलाई राहत दिनु आवश्यक ठानेका छौं उनले भने । सिरक पाए पछि ज्येष्ठ नागरिकहरू खुसी देखिएका छन् । स्थानीय ज्येष्ठ नागरिक आँसे बुढाले जाडोको समयमा न्यानो सिरकले ठूलो राहत पुगेको बताए ।

यो चिसोमा यस्तो सहयोग पाउनु भनेको जीवन सहज हुनु रहेकाे बताए । कार्यक्रमका क्रममा वडाले ज्येष्ठ नागरिकका चासो, गुनासो, समस्या र इच्छाहरू समेत सुनेको छ । यस प्रति ज्येष्ठ नागरिकहरूले स्थानीय सरकार प्रति धन्यवाद र खुसी व्यक्त गरेका छन् ।

सिरक वितरण कार्यक्रममा तिला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आसे बस्नेत, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश विश्वकर्मा, उपाध्यक्ष गाेरीकला बुढा लगायत स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । स्थानीय सरकारको यो पहलले जाडोमा नागरिकलाई न्यानो मात्र होइन, अपनत्वको अनुभूति पनि दिएको छ ।

तिला–१ का ज्येष्ठ नागरिकलाई जाडो छल्न फाइबर सिरक वितरण

घुयँत्राे:भोट बक्स नेपालमा, चुनावी ब्रिफिङ भारतमा !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds