कर्णालीमा चुनावको तयारी पुरा भोट दिन मतदाता तम्तयार 

ओम शाही
सुर्खेत, २० फागुन ।
कर्णाली प्रदेशमा बिहिबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । प्रदेशका नौ सय ४१ मतदान स्थलमा कर्मचारी र निर्वाचन सामग्री पुगेसँगै तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिए ।
‘कर्णालीका नौ सय ४१ मतदान स्थलमा मतपत्र, मतपेटिका लगायतका सामग्रीसहित निर्वाचन अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु पुग्नु भएको छ,’ चौलागाईले भने, ‘हुम्ला र डोल्पाका २४ मतदान स्थलमा हेलिबाट कर्मचारी र निर्वाचन सामग्री पुर्‍याइएको छ । समर्गमा मतदानअघिका सबै तयारी पुरा भएको अवस्था छ ।’
उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतका कार्यालयको तयारी र प्रदेशभरको सुरक्षा व्यवस्था हेर्दा कुनै भव्यतव्य नभए चुनाव हुने निश्चित भएको बताए । चुनावको तयारी पुरा भएसँगै मतदाताहरु भोट हाल्न तम्तयार भएर बसेका छन् । अहिले अध्ययन, रोजगारी, व्यापार व्यवसायको शिलशिलामा बाहिरिएकाहरु धमाधम घर फर्किरहेका छन् ।
कर्णालीमा नौ सय ४१ मतदान स्थल र एक हजार चार सय ३७ मतदान केन्द्र छन्‌ । कर्णाली प्रदेश प्रहरीका कार्यालयका अनुसार प्रदेशभर नौ सय ४१ मतदान स्थलमध्ये सात सय ७९ मतदान स्थल संवेदनशील मानिएका छन् । यसमा चार सय २० संवेदनशील, तीन सय ५९ अति संवेदनशील, एक सय ६२ सामान्य छन् ।
त्यस्तै, कर्णालीमा १८ मतदान स्थल अस्थायी छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहका अनुसार एक हजार चार सय ३७ मतदान केन्द्रमध्ये एक हजार एक सय मतदान केन्द्र संवेदनशील छन्‌ । जसमा संवेदनशील ६ सय ५९, अति संवदेनशिल चार सय ४१ र तीन सय एक सामान्य मतदान केन्द्र छन् ।
प्रदेशभर १० लाख ३७ हजार दुई सय ५० मतदाता छन्, भने १२ निर्वाचन क्षेत्रमा एक सय ३८ जनाले उम्मेदवारी दिएका छन् । प्रहरी प्रवक्ता शाहका अनुसार कर्णालीमा चुनाव लक्षित सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ । हालसम्म कर्णालीमा कुनै पनि सुरक्षा चुनौती नरहेको उल्लेख गर्दै शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी झण्डै १५ हजार सुरक्षाकर्मी चुनावी सुरक्षार्थ तैनाथ गरिएको बताए ।
उनले कर्णालीका अति संवेदशिल मतदान स्थलमा देखिन सक्ने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताए । ‘कर्णालीमा मौसमी प्रतिकुलता बाहेक अन्य कुनै पनि सुरक्षा चुनौती देखिएका छैनन् । प्रदेशभर निर्वाचन अधिकृतहरु निर्वाचन सामग्रीसहित मतदान स्थलमा पुग्नु भएको छ,’ उनले भने, ‘चुनावलाई भयरहित स्वच्छ र निष्पक्ष बनाउन तीन वटै सुरक्षा निकाय आवश्यकता अनुसार खटिएको अवस्था छ । सुरक्षाकै कारण मतदान प्रभावित हुने वा स्थगित हुने अवस्था छैन ।’
अनुमति बिना सवारी चलाउन निषेध
सरकारले बिहिबार हुने मतदान अवधिभर निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउँन बुधबार राति १२ बजेदेखि बिहीबार मतदान कार्य सम्पन्न नहुँदासम्म अनुमती बिना सवारी चलाउन पाइने छैन ।
यद्यपी, एम्बुलेन्स, खानेपानीका ट्याङ्कर, दुध ढुवानी गर्ने सवारी, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी सञ्चालनमा रोक लगाएको छैन । त्यस्तै, नम्बर प्लेटमा सिडी उल्लेख भएका कुटनीतिक नियोगका सवारी तथा अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधनलाई कर्णालीका १० वटै जिल्लामा रोक लगाइएको छ ।
आचारसंहिता पालना गर्न आग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, मितव्ययी र पारदर्शी बनाउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ लाई पालना गर्न जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् ।
मंगलबार रातीदेखि सुरु भएको मौन अवधिभर दलका उम्मेदवार, दलका भातृ संगठन लगायत सम्बन्धित आचारसंहिता पालना गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत डिलबहादुर कार्कीले बताए ।
उनले आचारसंहिता पालना गराउन अनुगमनको पाटोलाई व्यापक बनाइएको दावी गरे । उनका अनुसार मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरकिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन । यस्तो कार्य गरिएको फेला परे आचारसंहिताअनुसार कारवाही गरिने उनले बताए ।
त्यस्तै, मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्रीहरु हटाउनु पर्ने हुन्छ । ‘कुनै पनि विधि, प्रकृया वा माध्यामबाट मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने, कृतिम बौद्धिकमत्ता (एआई) को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार–प्रसारका सामग्रीहरु पोष्ट वा शेयर गर्न वा गराउन वा प्रतिक्रिया दिन नहुने,’ आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा भनिएको छ ।
त्यस्तै, मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह, उम्मेदवारको तस्बिर अंकित भएको पहिरन या व्याच, टिसर्ट, क्याप, गम्छा आदि बोक्न, देखाउन र लगाउन नहुने, कुनै पनि किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने कार्य गर्न नहुने आचारसंहितामा भनिएको छ ।
तर हिँड्डुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रुपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरीक लगायतका मतदाताको हकमा मुख्य निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा नपर्ने आचारसंहिता अनुगमन अधिकृत कार्कीले बताए ।
मतदाता वा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी वाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पनि नुहने उनले बताए । निर्वाचन आचारसंहिता २०८२ विपरित कार्य भएको पाइएमा तत्काल कानुन बमोजिम कारवाही हुने उनले बताए ।
कर्णालीमा चुनावको तयारी पुरा भोट दिन मतदाता तम्तयार 

बाँके क्षेत्र नं. २ मा उच्च सुरक्षा

कर्णालीमा चुनावको तयारी पुरा भोट दिन मतदाता तम्तयार 

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds