बाँके क्षेत्र नं. २ मा उच्च सुरक्षा सतर्कता सीमा सिलदेखि मतदानस्थलसम्म कडा निगरानी

बाँके, २० फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गराउन बाँके क्षेत्र नं. २ मा सुरक्षा सतर्कता उच्च पारिएको छ । निर्वाचन सुरक्षा समितिको टोलीले सीमा क्षेत्रदेखि संवेदनशील मतदानस्थलसम्म स्थलगत निरीक्षण गर्दै समग्र सुरक्षा अवस्थाको अनुगमन गरेको हो ।
अनुगमन टोलीको नेतृत्व बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले गरेका थिए । टोलीमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक अंगुर जिसी, सशस्त्र प्रहरी उपरीक्षक भीम चन्द, नेपाली सेनाका बज्र दलका प्रमुख सेनानी राम चन्द्र श्रेष्ठ तथा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख हरिष बहादुर विष्ट लगायत सुरक्षा निकायका प्रतिनिधिहरू सहभागी भएका थिए । टोलीले सीमा क्षेत्र, संवेदनशील मतदान केन्द्र, कर्मचारी परिचालन अवस्था तथा आवश्यक सुरक्षा समन्वयबारे विस्तृत जानकारी लिँदै तयारीको समीक्षा गरेको थियो ।
मध्यरातदेखि सीमा नाका सिल
निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि सीमा नाका सिल गरिएको प्रशासनले जनाएको छ । अत्यावश्यक सेवासँग सम्बन्धित आवागमनबाहेक अन्य सबै आवागमनमा रोक लगाइएको छ । मतदान केन्द्रहरूमा कर्मचारी तथा सुरक्षा निकायका टोलीहरू पुगिसकेको र आवश्यक तयारीलाई तीव्र पारिएको बताइएको छ ।
सर्वपक्षीय बैठकबाट ११ बुँदे प्रतिबद्धता
यसैबीच नेपालगञ्ज–१४ भवानीयापुरस्थित महेन्द्र माध्यमिक विद्यालय मतदान केन्द्रमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ। मतदान अधिकृत कर्मध्वज छत्यालका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न राजनीतिक दलहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकबाट मतदान प्रक्रिया भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्यसहित ११ बुँदे निर्णय गरिएको मतदान केन्द्रका मतदान अधिकृत धनबहादुर शाहीले जानकारी दिए । उक्त क्षेत्रमा वरिष्ठ प्रहरी नायब निरीक्षक मोहम्मद तकि खाँको नेतृत्वमा चार वटा मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना व्यापक रूपमा परिचालन गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा बाँकेमा सुरक्षा संयन्त्र पूर्ण सतर्कताका साथ तयारीमा जुटेको देखिन्छ । प्रशासनले शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सबै पक्षसँग सहकार्य गर्न आह्वान गरेको छ ।






