सम्पादकीय : एकअर्कालाई सरापेर देश बन्दैन !

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब तीन दिन बाँकी छ । दलहरुले आउँदो बिहिबार हुने निर्वाचन लक्षित शक्ति प्रदर्शन सम्पन्न गरेका छन् । मौन अवधि सुरु हुनुअघि दलहरुले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा तामझामका साथ चुनावीसभा सम्पन्न गरेका हुन् । आइतबार नेकपा एमालेले वीरेन्द्रनगरमा आयोजना गरेको विशाल चुनावीसभा सम्पन्न भएसँगै दलहरुका पूर्वनिर्धारित कार्यक्रम सकिएका हुन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाली कम्यूनिष्ट पार्टी (नेकपा)ले आफ्नो शक्ति प्रदर्शन गरिसकेका छन् । दलहरुले यस पटक सुर्खेतलाई केन्द्र बनाएर ठुला प्रकृतिका चुनावी सभा गरेका थिए । प्रदेशको राजधानी भएकाले पनि दलहरुले सुर्खेतलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । मौन अवधि सुरु हुनुअघि दलहरुले कर्णालीका १० वटै जिल्लाका नागरिकको बसोवास रहेको वीरेन्द्रनगरमा आफुलाई बलियो देखाउन प्रचारका विभिन्न माध्यमहरु अपनाएका छन् । गएराती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले दलहरुलाई ४ फागुनबाट चुनावीसभा गर्न समय दिएको थियो ।
यस अवधिमा दलहरुले विगतका चुनावमा जस्तै घरदैलो, चुनावीसभामार्फत भोट मागेका छन् । २३–२४ भदौको जेन–जी आन्दोलनपछि नियमित समयभन्दा दुई वर्ष अगावै हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलहरुले पुरानै एजेण्डमा मतदाता फकाउने प्रयास गरेका छन् । दलका उम्मेदवारहरुले मतदाता समक्ष पुरानै विकासी एजेण्डा प्रस्तुत गरेर मत मागेका छन् । यस पटक पनि विगत झै दलहरुले एकअर्कालाई सराप्नमै समय खर्चेका छन् । विशेष गरी यसपटकको निर्वाचनमा आफुलाई वैकल्पिक नयाँ राजनीतिक शक्ति ठान्ने रास्वपा र पुराना दलबीच निकै घोचपेच चलेको छ । रास्वापले देशमा भ्रष्टाचारले जडो गाडेको, सुशासन कायम हुन नसकेको, बेरोजगारी बढेको, अपेक्षाकृत विकासले गति लिन नसक्नुको प्रमुख कारण पुराना दलको थाप्लोमा हालेर मत प्रभावित पार्ने प्रयास गरेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी मैदानमा होमिएको रास्वपाले पुराना दललाई निषेधको नजरले हेरेको देखिन्छ । पुराना दलकै कारण २३ भदौको आन्दोलन जन्मिएको रास्वपाको आरोप छ । यस्तै, परम्परागत दलहरुले रास्वपालाई अतिवादको संज्ञा दिदै भोट मागेका छन् । उनीहरुले रास्वपाकै डिजाइनमा जेन–जी आन्दोलन भएको दावी गर्दै आगामी चुनाव देश बनाउने र जलाउने शक्तिहरुका बीच भएको दावी गर्दै आएका छन् ।
पुराना दलहरुले रास्वपाका कारण संविधान र व्यवस्था नै खतरामा पर्ने आशंका गरेका छन् । चुनावीसभामा सम्बोधन गर्ने सबैजसो पुराना दलका नेताहरुले रास्वपाद्वारा नयाँ र पुराना भन्दै फैलाइएको भ्रम चिर्न पुरै शक्ति लगाएका छन् । उनीहरु रास्वपाप्रतिको पपुलर लहरका बीच आफ्ना सांगठनिक भोट जोगाउन रक्षात्मक देखिएका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट अस्तित्वमा आएको रास्वपाका पक्षमा देशभर देखिएको जनलहरले कर्णालीमा पनि पुराना दलहरुलाई चुनौती थपेको छ । यस पटकको चुनावका लागि दलहरुले जेन–जी आन्दोलनको मुलमर्मलाई संस्थागत गर्न कुनै पनि दलले खास एजेण्डा प्रस्तुत गरेनन् । यसले आगामी निर्वाचनबाट आउने सरकारले पनि सुशासनका क्षेत्रमा आशा जगाउन नसक्नेतर्फ संकेत गरेको छ । दलहरुले चुनावी प्रचार गर्दा एकअर्कालाई तथानाम गालिगलौचमा उत्रिए । तर उनीहरुले देश गालिले होइन भिजले बन्छ भन्ने तथ्य बिर्सिए । पक्कै पनि यो राम्रो पक्ष होइन । चुनाव लोकतन्त्रको सुन्दर पक्ष हो । भोट माग्ने बेला तथानाम आश्वासन देखाएर चुनाव जित्ने तर जनअपेक्षा पुरा नगर्ने नेताहरुको प्रवृत्तिले मतदाता आजित बनिरहेका छन् ।






