ओझेलमा एक सय पर्यटकीय  गन्तव्यमा सुचिकृत ‘गिद्धे डाँडा’

ओम शाही 

सुर्खेत, १८ पुस ।

संघीय सरकारले आर्थिक वर्ष २०७५/०७६ मा देशभरका पर्यटकीय सम्भावना बोकेका एक सय स्थानहरुको सूची सार्वजनिक गर्‍यो । यसरी छनौंट भएका पर्यटकीय गन्तव्यको विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने र स्थानीय आयस्तरमा सुधारसँगै पर्यटन प्रवद्र्धन गर्ने सरकारको महात्वकांक्षी योजना थियो । यसले समग्र राष्ट्रको अर्थतन्त्र सबल हुन अपेक्षा राखिएको थियो ।

नेपालका प्राकृतिक, पुरातात्विक, ऐतिहाँसिक, सांस्कृतिक तथा धार्मिक दृष्टिबाट महत्वपूर्ण मानिएका स्थलहरुको खोजी गरी तिनीहरुलाई पर्यटकीय स्थलमा विकास गर्ने लक्ष्यका साथ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ५० करोड बजेटसमेत विनियोजन गरेको थियो । सरकारको यहीँ योजना अन्तर्गत एक सय सूचीमा समेटिएको थियो सुर्खेतको भेरीगंगा नगरपालिका–५, हात्तिखालस्थित गिद्धे डाँडा । तर, योजना कार्यान्वयनमा आएको झण्डै सात वर्ष बित्दा गिद्धे डाँडा भने पर्यटन पूर्वाधारको अभाव झेलिरहेको छ ।

संघीय सरकारले सो क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्न आर्थिक वर्ष २०७५/०७६ मा ५० लाख र ०७६/०७७ मा ५० लाख गरी एक करोड बजेट विनियोजन गरेको थियो । सो बजेटबाट गिद्धे डाँडासम्म पुग्न नौ सय ४५ वटा सिढीसहितको पदमार्ग, सिद्धबाबाको मन्दिर, पर्यटकका लागि धर्मशाला र प्रतिक्षालय निर्माण गरिएको थियो । त्यसयता भने संघ र प्रदेश सरकारले एक रुपैयाँ पनि बजेट विनियोजन गरेका छैनन् ।

भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालका अनुसार गिद्धे डाँडामा लोपन्मुख गिद्ध प्रजातिको बासस्थान रहेकै कारण यसको नाम गिद्धे डाँडा राखिएको हो । गिद्धे डाँडा यस्तो प्राकृतिक विविधता बोकेको स्थान हो, जहाँबाट चुरे क्षेत्रको मध्यभागमा उभिएर उत्तरतर्फको हिमश्रृंखला र दक्षिणतर्फको तराई एकै पटक अवलोकन गर्न सकिन्छ ।

‘उत्तरी क्षेत्रका हिमश्रृंखलादेखि तराईका दाङ, बाँके, बर्दिया लगायतका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ,’ नगर प्रमुख ढकालले भने । उनका अनुसार डाँडामा निर्माण भएको सिद्धबाबाको मन्दिरको दर्शन गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । गिद्धे डाँडासम्म निर्माण गरिएका सिढीसहितको पदमार्गमा प्राकृतिक आनन्दसहितको रमणीय यात्रा गर्न सकिन्छ ।

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको बाँधस्थलदेखि विद्युत गृहसम्मको अवलोकन पनि यहीँ डाँडाबाट गर्न सकिन्छ । संघीय सरकारले पर्यटकीय गन्तव्य घोषणा गरेपनि पूर्वाधार विकासमा निरन्तरता नदिँदा सम्भावनायूक्त गिद्धे डाँडा ओझेलमा परेको ढकालले बताए । भुगोलका कारण नगरपालिकाको बजेटले मात्र पर्यटन लक्षित पूर्वाधार निर्माण सम्भव नभएको उल्लेख गर्दै उनले प्रदेशसँग पनि बजेट माग गरेको बताए ।

उनले गिद्धे डाँडासम्म पुग्न छिन्चुदेखि लेखहात्तिखाल जोड्ने सडकको स्तरोन्तीमा प्रयास थालेको भएपनि बजेट अभाव झेल्नु परेको बताए । नगरपालिका, प्रदेश र संघ सरकारको संयूक्त लगानीमा छिन्चु–लेखहात्तिखाल सडक स्तरोन्तीको कार्य अघि बढेपनि २३–२४ भदौको जेन–जी आन्दोलनपछि संघीय सरकारले बजेट कटौती गर्दा काम रोकिएको ढकालले बताए । संघीय सरकारले खर्च कटौतीका नाममा उक्त सडकमा विनियोजित ६ करोड रुपैयाँ रोकेपछि सडक अलपत्र परेको हो ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने ठुलो सम्भावना भएपनि बजेट अभावले अपेक्षित काम गर्न नसकिएको उनको भनाई छ । नगर प्रमुख ढकालले आगामी आर्थिक वर्षभित्र गिद्धे डाँडासम्मको सडकलाई स्तरोन्ती गर्ने गरी नगरपालिका लागेको बताए । छिन्चुबाट लेखहात्तिखाल झण्डै १४ किलोमिटरको दुरीमा अवस्थित छ । गिद्धे डाँडामा विविधतायूक्त हावापानीसँगै गर्मी र चिसोमा हुर्कने रुख विरुवा, रसायनिक विषादीरहित अर्गानिक भिलेज, लोपोन्मुख गिद्धको बासस्थान छ । भेरीगंगा नगरपालिका–५, का वडाध्यक्ष प्रेमबहादुर सारु मगरले संरक्षणको अभावले पछिल्लो समय गिद्धको संख्या घट्दै गएको बताउँछन् ।

उनले गिद्धको बासस्थान संरक्षणसँगै यो क्षेत्रलाई पर्यटकीय हब बनाउन स्थानीय सरकारले पहल गरेपनि प्रदेश र संघ सरकारबाट सहयोग नपाएको गुनासो गरे । उनी भन्छन्, ‘नगरपालिकाको बजेटले मात्र हुँदैन । डीपीआर अनुसारका संरचना निर्माण गर्न ठुलो बजेट आवश्यक छ । अर्को महत्वपूर्ण विषय यस क्षेत्रलाई बिषादीरहित अर्गानिक क्षेत्र बनाउन सकिने प्रसस्त आधार छन् । लोपोन्मुख गिद्ध प्रजातीको संरक्षण गर्नकै लागि भएपनि गिद्धे डाँडाको विकास गर्न आवश्यक छ ।’

स्थानीयहरुले गिद्धे डाँडालाई दैविक शक्तिको प्रतिकका रुपमा लिने गरेका छन् । स्थानीय पूर्णिमा केसीले रोपाईका समयमा पानी नपरे गिद्धे डाँडामा रहेको सिद्धबाबाको मन्दिरमा पुजा गरे घर नर्फकदै पानी पर्ने जनविश्वास रहेको बताउँछिन । सडक अभावकै कारण आफुहरुलाई निकै सास्ती भोग्नु परेको गुनासो छ ।

‘लेखहात्तिखालसम्म बाह्रै महिना सञ्चालन हुने सडक निर्माण भएको भए यहाँका उत्पादनले बजार पाउथे,’ उनि भन्छिन्, ‘वीरेन्द्रनगरबाट नजिकको दुरीमा अवस्थित गिद्धे डाँडा घुम्न आउने पर्यटकको संख्या बढ्थ्यो । यसले हामीलाई पनि सहज हुने थियो ।’ सडक अभावकै कारण स्थानीयलाई बिरामी पर्दा अस्पताल लैजानसमेत समस्या छ । कृषि र पशुपालनको ठुलो सम्भावना भएपनि सडक नहुँदा स्थानीयस्तरमा उत्पादित कृषि उपजले बजार नपाउने उनले बताइन ।

गिद्धे डाँडा घोषणा पत्र जारी

नेपाल पत्रकार महासंघ सुर्खेत शाखले गिद्धे डाँडा घोषणा पत्र जारी गरेको छ । महासंघको आयोजना तथा भेरीगंगगा नगरपालिकाको समन्वमा बुधबार भेरीगंगा–५, गिद्देडाँडामा सम्पन्न अन्तरक्रिया कार्यक्रमबाट पाँच बुँदे घोषणा पत्र जारी गरिएको हो ।

जसअनुसार भेरीगंगा नगरपालिकालाई यसै बर्षको हिउँदेसभाबाट सञ्चार कानुन निर्माण गर्न महासंघले ध्यानाकर्षण गरेको छ । संघीय सरकारले देशभर छनौट गरेका एक सय पर्यटकीय गन्तव्यभित्र परेको गिद्धे डाँडा जान कालीदमारदेखि लेखहात्तिखालसम्मको सडक यथाशिघ्र स्तरोन्नती गर्नुका साथै गिद्धे डाँडामा आधारभूत पूर्वाधार (खानेपानी, विधुत) को व्यवस्था, सिद्धबावा मन्दिर र निर्माणधिन धर्मशालालाई पूर्णता दिन तीनै तहका सरकारलाई महासंघले ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, गिद्धे डाँडा पुग्ने पर्यटकहरुको सुविधाका साथै स्थानीय समुदायलाई पर्यटनमार्फत आयआर्जनमा जोड्न लेखहात्तिखालमा घरबास (होम स्टे) सञ्चालनका कार्यक्रम बनाउन सरोकारवाला निकायलाई महासंघले अनुरोध गरेको छ । हर्रेदेखि गिद्धे डाँडासम्म पैदल मार्ग (ट्रेकिङ्ग रुट) को विकास तथा गिद्धे डाँडास्थित गिद्धको वासस्थान संरक्षण गर्न बर्दिया राष्ट्रिय निकुञ्ज लगायत सम्वद्ध पक्षलाई गम्भीर बन्न महासंघले भनेको छ ।

ओझेलमा एक सय पर्यटकीय   गन्तव्यमा सुचिकृत ‘गिद्धे डाँडा’

सम्पादकीय : सुरक्षा चुनौतीमा ध्यान देऊ !

ओझेलमा एक सय पर्यटकीय   गन्तव्यमा सुचिकृत ‘गिद्धे डाँडा’

विचारः एआईमा आधारित शिक्षण विधिको अभ्यास 

Leave a comment

Your email address will not be published. Required fields are marked *