सभापति देउवाद्वारा बडादसैँको शुभकामना 

काठमाडौँ, १३ असोज ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई  आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले संविधानभित्रबाटै अहिलेको समस्याको समाधान खोज्न आग्रह समेत गर्नुभयो ।

सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो, हामीमा निहीत बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ, विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति,व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।”

उहाँले गत भदौ २३ र २४ गते  ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद् क्षणमा ती वीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अन्य सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनाको तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको बताउनुभयो ।

संविधान मुलुकको सर्वोच्च कानुन भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले बताउनुभयो ।

उहाँले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित भएको बताउनुभयो ।

“नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ, यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु,”– सभापति देउवाले भन्नुभएको छ ।

उहाँले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको बताउनुभयो ।

सभापति देउवाले बडादसँैं २०८२ को अवसरमा नेपाली कांग्रेस र आफ्‌नो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । रासस

 

सभापति देउवाद्वारा बडादसैँको शुभकामना 

“हिम्मतकी लक्ष्मी : दुर्गम गाउँबाट प्रेरणाको शिखरसम्म”

सभापति देउवाद्वारा बडादसैँको शुभकामना 

पर्वत कारागारले फरार कैदीबन्दी एक साताभित्र फर्किन

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds