“हिम्मतकी लक्ष्मी : दुर्गम गाउँबाट प्रेरणाको शिखरसम्म”

गाेल्डेन बुढा
जुम्ला,१३ असोज।
देशभर दसैं नजिकिँदैछ। शहर बजारहरू रौं–रौं भरिँदै छन्, उपत्यकामा चहलपहल बढ्दो छ। तर,नेपालकै दुर्गम भेग जुम्लाको एक विकट गाउँ—पातारासी गाउँपालिका–४, स्यालागडिगाउँमा भने दसैंको रौनक फरक ढंगले देखा पर्छ। यही गाउँकी हुन् लक्ष्मी ऐडी, जो विगत आठ वर्षदेखि हरेक दसैंमा आफ्ना पालिएका भेडा बिक्री गर्न सदरमुकाम जुम्ला बजार झर्छिन्।लामो पैदल यात्रा, अप्ठ्यारा बाटाहरू, चिसो मौसम—यी सबै चुनौतिलाई पार गर्दै उनले एउटा उदाहरणीय जीवनशैली बनाएकी छन्।“राम्रो कमाइ हुन्छ,” मुस्कुराउँदै भनिन् लक्ष्मी ऐडी, “दसैंको मेलामा भेडाको माग धेरै हुन्छ। सदरमुकाममा त धेरैले पर्खिरहेका हुन्छन्।स्यालागडि गाउँबाट जुम्ला लगभग ४-५ तीन घण्टा पैदल बजारसम्म उकालो–ओरालो बाटो—लक्ष्मीका लागि नयाँ होइन।“शुरुका दिनमा त धेरै डर लाग्थ्यो,” उनी सम्झन्छिन्, “तर अहिले त बजारमै आफन्तजस्तो महसुस हुन्छ। मान्छेहरू चिन्छन्, कुराकानी गर्छन्, भेडा किनेर खुशी हुन्छन्।”उनका श्रीमान् जयबहादुर ऐडी पनि साथ दिन्छन्।

उनीहरू सँगै बसेर योजना बनाउँछन्—कति भेडा बेच्ने, कति राख्ने, कति पैसा बचत गर्ने। लक्ष्मीका अनुसार एक दसैंमा १५ देखि २० वटा भेडा बिक्री हुँदा तीन लाखभन्दा बढी आम्दानी हुन्छ।न्युनतम १५ हजारका दरले बिक्रीवितरण हुन्छन् ।“यो कमाइ हाम्रो लागि ठूलो हो। छोराछोरीको पढाइ, लत्ताकपडा, घर खर्च नयाँ लुगाफाटो सबै यहीबाट चल्छ,” जयबहादुर भन्छन्।उनीहरूका लागि भेडा मात्र आम्दानीको स्रोत होइन, आत्मसम्मान र आत्मनिर्भरता पनि हो। “हामीले सानो प्रयासबाट ठूलो आत्मबल पाएका छौं,” जयबहादुर भन्छन्, “गाउँमा बसेर पनि राम्रो कमाइ गर्न सकिन्छ, भन्ने देखाइरहेका छौं।”लक्ष्मीले दसैंको अवसरलाई मात्र व्यवसायिक अवसर मानेकी छैनन्, उनले यसलाई आत्मनिर्भरताको पर्व बनाएकी छन्। दसैंसँगै उनी आफ्ना परम्परागत सीप र जीवनशैलीलाई बजारसम्म पुर्याउँदैछिन्।उनको कथा जुम्लाका अन्य महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ। गाउँमै बसेर जीवन चलाउन सकिन्छ, आत्मसम्मानका साथ बाँच्न सकिन्छ—लक्ष्मी ऐडीको यात्रा यही सन्देश दिन्छ।लक्ष्मीको काम परम्परागत हो—भेडापालन।लक्ष्मी ऐडीको यो यात्रा अन्त्य होइन—यो सुरुवात हो। सुरुवात हो एउटा सोचको, कि आत्मनिर्भरता सहरको मोहमा होइन, गाउँको माटोमा पनि पलाउँछ। सुरुवात हो त्यो विश्वासको, जहाँ महिलाले परिवार मात्रै होइन, समाज परिवर्तन गर्ने नेतृत्व गर्न सक्छन्।दसैंको चहलपहलले बजार त भरिन्छ नै, तर लक्ष्मी जस्ता महिलाहरूको संघर्षले समाजमा विश्वास, आत्मबल र सम्भावनाले भरिने हो।लक्ष्मी ऐडीको कथा कुनै कथा मात्र होइन।यो कथा हो–संघर्षको, सफलताको, र दुर्गमतामा उज्यालो सम्भावनाको।
नेपालका हजारौं महिलाहरू बेरोजगारी, अवसरको कमी र दुर्गमताले थिचिएका छन्। तर लक्ष्मी ऐडीले देखाइन्—संकटबीच पनि सम्भावना हुन्छ। सरकार, संघ–संस्थाहरू र नीति निर्माताहरूले यस्ता उदाहरणीय जीवनहरूलाई सहयोग गर्न सके, देशभित्रै रोजगारी र आत्मनिर्भरता बलियो बन्नेछ।दसैंको यो बेला, जब धेरैले उपभोगतामूलक सोचमा रमाइरहेका छन्, स्यालागडि गाउँकी लक्ष्मी ऐडीले आत्मनिर्भरताको साँचो अर्थ देखाइरहेकी छन्—श्रम, लगन र धैर्यबाट समृद्धिको बाटो खोल्दै।स्यालागडिमा पहिले महिलाहरू घरभित्र सीमित थिए। लक्ष्मीले त्यो सीमालाई तोडेर देखाइन्—एक महिलाले पनि आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्छिन्, त्यो पनि गाउँमै बसेर। अहिले उनको प्रयास देखेर अरू महिलाहरू पनि भेडापालनमा लाग्न थालेका छन्। केही महिलाहरू त लक्ष्मीको सल्लाह अनुसार भेडा किन्न थालेका छन्।“उहाँ हाम्रो लागि दीदी मात्रै होइन, गुरुजस्तै हुनुहुन्छ,” भन्छिन् स्थानीय महिला रामु ऐडी, “उहाँको बाटो पछ्याउँदै हामी पनि अघि बढ्न थालेका छौं।”नेपालको विकासका लागि धेरैले सहरमुखी रोजगारीलाई समाधान ठान्छन्। तर लक्ष्मी ऐडीले देखाइन्—यदि अवसर र सहयोग पाइयो भने गाउँमै पनि आत्मनिर्भर जीवन सम्भव छ।आज पनि हजारौं नेपाली युवाहरू रोजगारीको खोजीमा खाडी मुलुक गइरहेका छन्। तर लक्ष्मी जस्ता महिलाहरू गाउँमै उद्यम गरिरहेका छन्। उनीहरूको कथा देशकै लागि उदाहरणीय हुन सक्छ—यदि राज्यले चासो दियो भने।






