सम्पादकीय : दशैँलाई भव्य र सभ्य बनाऔँ !

दशैँ हिन्दु धर्मालम्वीहरुको मुख्य पर्व हो । धार्मिक हिसावले दशैँ हिन्दुहरुको पर्व भएपनि यसले नेपालका विविध जाति, भाषा, संस्कृति र भौगोलिक अनेकतालाई एकताको सूत्रमा बाँध्ने माध्यम पनि हो । पञ्चाङ्ग अनुसार आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म मनाइने यो पर्व केवल धार्मिक विधि–अनुष्ठानमा सीमित नभई सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र सांस्कृतिक उत्सवको अभिन्न हिस्सा हो । यही कारणले यसलाई ‘राष्ट्रिय पर्व’ पनि भनिन्छ । तर, पछिल्ला वर्षहरूमा दशैँको मौलिकता र सभ्यतालाई कमजोर पार्ने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । अस्वस्थ प्रतिस्पर्धा, देखावटी खर्च, मदिरा सेवन, जुवातास र आर्थिक भारका कारण यस पर्वको असल मर्म ओझेलमा पर्ने चिन्ता थपिँदै गएको छ ।

कतिपय घरधुरीले ऋणसमेत गरेर महँगो खसी–बोका काट्ने, नयाँ लुगा किन्ने र अनावश्यक खर्च गर्ने परिपाटी बनाएका छन् । यसले सामाजिक असमानतालाई झनै गहिरो पार्ने मात्र होइन, पर्वको वास्तविक महत्वलाई नै विकृत बनाइरहेको छ । यस वर्ष हामी सबैले दसैँलाई भव्य मात्र नभई सभ्य बनाउन सामूहिक प्रतिबद्धता आवश्यक छ ।

भव्य भन्नाले खर्चिलो र तडकभडकमुखी बनाउनु होइन, बरु साझा खुशीको वातावरण सिर्जना गर्नु हो । परिवारसँग मिलेर टिका–जमरा ग्रहण गर्ने, मन्दिर–देवालयमा गएर पूजाआजा गर्ने, सामाजिक मेलमिलाप बढाउने कार्य नै यस पर्वको असली भव्यता हो । सभ्य भन्नाले भने यो पर्वलाई अनुशासित, मर्यादित र सन्तुलित ढंगले मनाउने हो । मदिरा सेवनले हुने घरेलु हिंसा, सडक दुर्घटना र सामाजिक अपराध रोक्न सकियो भने मात्र हामीले सभ्य दसैँ मनाएको ठहर हुनेछ । यही सन्दर्भमा सरकारले गर्ने तयारी पनि उत्तिकै महत्वपूर्ण छ । बजारमा हुने कृत्रिम मूल्यवृद्धि, गुणस्तरहिन सामाग्रीको व्यापार, र यातायातमा हुने मनपरी भाडादर नियन्त्रण गर्न नसके नागरिक थप पीडित बन्न सक्छन् । चाडकै बहानामा उपभोक्ता ठगिने अवस्था टार्न सम्बन्धित निकाय सतर्क रहनुपर्छ । उता स्थानीय सरकार र सुरक्षा संस्थाले चाडपर्वमा देखिने अपराध नियन्त्रण गर्न चुस्त व्यवस्था मिलाउन जरुरी छ ।

सामाजिक सन्दर्भमा हेर्दा दशैँलाई सम्पन्नहरूले मात्र होइन, विपन्न र निमुखाले पनि बराबरीको उत्सवका रूपमा अनुभव गर्न सक्ने वातावरण बनाउनु पर्छ । दान, सहयोग, र सहभोजमार्फत धनी–गरिबबीचको खाडललाई घटाउने काम गर्न सके यस पर्व अझ अर्थपूर्ण बन्नेछ ।

दशैँमा लामो बिदा हुने भएकाले अध्ययनमा रुचि राख्नेहरुले नयाँ पुस्तकहरु पढ्ने अवसर हो भने घुम्न मन पराउनेहरुका लागि उपयुक्त समय पनि हो । दशैँ मात्र होइन अन्य चाडपर्वलाई पनि भव्य र सभ्य बनाउन राज्यको संयम, समाजको सचेतता र व्यक्तिगत अनुशासन अपरिहार्य हुन्छ । देखावटी र खर्चिलो पर्वभन्दा सादगीपूर्ण र आत्मीय पर्वलाई प्राथमिकता दिऔँ । धार्मिक आस्थालाई मर्यादित ढंगले पालना गर्दै, सामाजिक सद्भाव र पारिवारिक प्रेमलाई केन्द्रमा राख्न सके दशैँको वास्तविक सौन्दर्य र राष्ट्रिय एकता झल्किने छ । असत्यमाथिको जित भएकाले पनि निराशाका बादल चिर्ने उत्सव बनोस बडादसैँ । भव्य र सभ्य भएर मनाऔं दसैँ । दसैँको समस्त नेपालीजनहरुमा हार्दिक मंगलमय शुभकामना ।

सम्पादकीय :  दशैँलाई भव्य र सभ्य बनाऔँ !

जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो

सम्पादकीय :  दशैँलाई भव्य र सभ्य बनाऔँ !

जुम्लाको गुठिचौरमा घोडा दौड प्रतियोगिता हुने 

Leave a comment

Your email address will not be published. Required fields are marked *