दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती 

ओम शाही
सुर्खेत, १२ असोज ।
कर्णाली प्रदेश राजधानी सुर्खेतबाट करिब नौ किलोमिटर पश्चिम वीरेन्द्रनगर र बराहताल गाउँपालिका सिमास्थित गिरिघाटबाट दैनिकजसो हजारौँको संख्यामा गाडी ओहोरदोहार गर्छन । यतिबेला दशैँको उमङ्गका साथ कर्णाली राजमार्गको छेउ गिरीघाट भएर यात्रु बोकेका गाडीहरुको बाक्लो चहलपहल छ । चारैतिर घना जंगल, वसन्त ऋतुसँगै पलाएका पालुवा । चिरबिर चराचुङ्गीको आवाज । दायाँ–बायाँ खोलाछेउमै कर्णाली राजमार्ग । त्यही राजमार्गको छेउमा ११ वर्षअघि (२०७१ सालमा) भेरी नदिमा आएको बाढीका कारण विस्थापित बन्न पुगेको बस्ती छ ।
देशैभर दसैँको रौनक चल्दा यो बस्ती भने सुनसान छ । साविक हरिहरपुर गाविसका वडा नम्बर १, २, ३, ४, ५ र ६ स्थित भेरी नदी किनारका बस्तीहरूमा बाढी पसेको थियो । उक्त बाढीबाट कैयनले परिवारका सदस्य र आफन्त गुमाए । बाढीमा परेर सिस्नेरीमा नौ, पाग्मामा दुई, दुबिचौरमा ६ र थापाडेरामा १० जनाले ज्यान गुमाएका थिए । सिस्नेरीबाट ३२ घर पूर्ण विस्थापित भएका थिए । अझै पनि गिरीघाट बस्तीमा बसेका बाढीपीडितका आँखा ओभाएका छैनन् ।
बाढीले घर सम्पत्ति बगाएपछि उनीहरू टहरोकै व्यवस्थापन र बिहान–बेलुकीको छाक टार्नका लागि संघर्षरत छन् । विस्थापित भएको एक दशक पूरा हुँदा राज्य विपन्न नागरिकप्रति बेखबर छ । जसले उनीहरू कष्टकर जीवनयापन गर्न बाध्य बनिरहेका छन् । गिरीघाटमा हाल एक सय १९ भन्दा बढी घरपरिवार पालमुनि बस्दै आएका छन् । यसमा विपन्न दलित समुदायको संख्या धेरै छ । न त उनीहरूको गर्जो टार्ने गतिलो मेसो छ, न त घर नै । अहिले बडादसैँको रौनक चौतर्फी छाएको छ । शहर–बजारबाट मात्र होइन, घरपरिवारको जीविकाका लागि देश नै छोडेर परदेशिएकाहरूसमेत गाउँघर फर्केका छन् ।
हुने खानेदेखि हुँदा खानेसम्म सबैले आ–आफ्नो क्षमताअनुसार दशैँ मनाउने तयारीमा छन् । तर,  गिरीघाटमा बसिरहेका बाढीपीडित बस्तीमा भने अहिले पनि चाडपर्वको रौनक कत्ति पनि देखिँदैन । उनीहरूलाई पीडा र ऋणको भारीले च्यापेको छ । विगत ११ वर्षयता उनीहरूका लागि दशैँमा कुनै उमङ्ग नै आएको छैन । आफ्‌न्तले घर भरिन्थ्यो, टीका र आशीर्वाद थाप्नेको भिड हुन्थ्यो, बेलुका आँगनमा नाचगान पनि चल्थ्यो । १० वर्षअघिसम्म रुपलाल कुमालको घरमा दशैँले यस्तै उमङ्ग ल्याउँथ्यो । तर, अहिले उनमा दशैँको कुनै अनुभूति नै हुन सकेको छैन । उनी भन्छन्, ‘बिहान बेलुका छाक टार्नै मुस्किल हुन्छ । कसरी दसैँ मनाउनु ? पीडा र ऋणको भारीले थिचेको छ ।’
उमेरले ७१ वर्ष पुगेका रूपलाल बाढीबाट विस्थापित भएर गिरिघाट आउँदा ६० वर्षका थिए । २०७१ साउनको त्यो कहालीलाग्दो रात रूपलालको मानसपटलबाट अझै मेटिन सकेको छैन । भेरी नदीमा आएको बाढीले एकाएक सुकम्बासी बनेको क्षणले रूपलाललाई अझै सताइरहन्छ, जुन बेला भेरी नदीमा आएको बाढी बस्तीमा पस्दा दर्जनौँले ज्यान गुमाएका थिए । विस्थापित बनेपछि जसोतसो परिवार लुकाउन उनले गिरिघाटमा खरको छानो बनाएका छन् । तर, उक्त छानो उनको परिवारका लागि ओल्टोपोल्टोसम्म फर्कन मिल्ने प्रकृतिको छैन ।
एकातिर जीवनको उतरार्ध, अर्कोतर्फ कष्टकर छानोको बासमा बस्नुपर्ने बाध्यता उनलाई छ । रूपलालको दैनिकी आजभोली कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुको भोक, प्यास मेटाउन दुई/चारवटा चाउचाउ, बिस्कुट, चुरोट तथा पानी बिक्री गरेर बितिरहेको छ । अस्थायी शिविरमा बस्दै आएका गोपाल विकले पालपुनी कष्टकर रूपमा थुप्रै दसैँ मनाइसकेको बताए । उनी भन्छन्, ‘अझै कति दशैँ मनाउन पर्ने हो थाहा छैन ।’
ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका उनलाई दशैँले छोएको छैन । ‘दशैँ–तिहार आयो, घरमा छाक टार्न धौ–धौ छ, केटाकेटीले नयाँ लुगा किन्दिन भन्छन्, मीठो मसिनो खान खोज्छन्,’ उनले भने, ‘घरमा एकसुको पैसो छैन, के गरेर दशैँ तिहार मनाउने ?’ सोही बाढीले टोपबहादुर सिंजालीको घरजग्गा बगायो । घरजग्गा बगाएपछि परिवारसहित थातथलो छोडेर गिरीघाटको सडकछेउमा बस्न थालेको १० वर्ष पुग्यो । ‘समस्या ज्युँका त्युँ छन् । चार्डपर्व आउँदा झनै समस्या हुने गरेको छ । जमरा राख्ने ठाउँसमेत छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?,’
उनी भन्छन्, ‘२०७१ सालयता हामीले चाडपर्व मनाउन पाएका छैनौँ । समस्या नै समस्या छ ।’ विस्थापित भएकै एक दशक पुग्दा पनि उनीहरूको पुनर्स्थापना हुन सकेको छैन । बाढी प्रभावित परिवारको बसाइ मात्र असुरक्षित छैन, बिहान बेलुकाको गाँस जुटाउन पनि उस्तै मुस्किल छ । स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीजस्ता सुविधाबाट उनीहरू वञ्चित छन् । शिविरकी हरिकला विकले चाडपर्व आउँदा झनै समस्या हुने गरेको बताइन् । उनलाई पालमुनिको कष्टकर जीवन त भोग्नु परेकै छ, बिहान बेलुकीको छाक टार्न हम्मेहम्मे परेको छ ।
दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती 

सम्पादकीय : घुमौं कर्णाली

दशैँको उमङ्गले नछोएको बाढीपीडितको बस्ती 

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *