सम्पादकीय : सडक सुरक्षामा चुनौती

सुर्खेतमा एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभर चार सय २३ सडक दुर्घटना भएका छन् । जसमा ३८ जनाले सडकमै ज्यान गुमाउँदा नौ सय ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा २९ पुरूष, एक बालक, ६ महिला र ३ बालिका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनमा गत वर्ष सवारी दुर्घटनामा कमी आएको भएपनि मृतकको संख्या भने बढेको देखिन्छ । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाभर ६ सय ७३ सवारी दुर्घटनामा पर्दा २८ जनाको मृत्यु भएको थियो भने एक हजार एक सय ८४ जना घाईते भएका छन् । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा धेरै सडक दुर्घटना तीव्र गति र क्षमताभन्दा बढी भारका कारण भएको देखिन्छ ।

ट्राफिक प्रहरीले ट्राफिक नियममा कडाई गर्दै आएको भएपनि सवारी चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु, यन्त्रिक गढबढी, जिर्ण सडक लगायतका कारणले हुने सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ । दिनप्रतिदिन बढ्दै गएको सवारी चापसँगै ट्राफिक नियम उल्लंघनका घटनामा समेत उल्लेख्य बृद्धि भएको छ । यो सडक सडक सुरक्षाको दृष्टिकोणले निकै चुनौतीको विषय हो ।

प्रहरीको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार आठ सय ४२ सवारी साधनहरूलाई ट्राफिक नियम उल्लघंन गरेको कसुरमा कारवाही भएको देखिन्छ । यसरी कारवाहीमा परेका सवारीबाट एक करोड १५ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको प्रहरीको तथ्यांक छ । गत वर्ष २०८१/०८२ मा ट्राफिक नियम उल्लघंन गर्नेको संख्या १७ हजार एक सय ५१ पुगेको छ । यी सवारी साधनलाई नियम उल्लघंन गरेवापत गरिएको कारवाहीबाट प्रहरीले एक करोड ४५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले तीन वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने सवारीबाट झण्डै पाँच करोड बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा १९ हजार ६ सय ३१ सवारी साधनहरु कारवाहीमा परेका थिए । उक्त कारवाहीबाट एक करोड ४७ लाख ६३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार सात सय दुई वटा सवारी साधनलाई कारवाही गर्दा एक करोड नौ लाख ११ हजार राजश्व संकलन भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ । यो तथ्यांकले ट्राफिक नियमको व्यापक उल्लंघन भइरहेको देखाउँछ । ट्राफिक नियमको जानकारी हुँदाहुँदै पनि त्यसलाई नियतवस पालना नगर्दा सवारी दुर्घटनासमेत निम्तिने गरेको छ । सडक सुरक्षा सबैको सरोकारको विषय भएपनि ट्राफिक नियम पालनामा लापरवाही गरिँदा निर्दोष नागरिकको ज्यानै जाने खतरा बढ्दै जानु दुखद् पक्ष हो ।

सडक सुरक्षा गर्ने जिम्मा पाएको ट्राफिक प्रहरी कसरी बढी राजश्व संकलन गर्ने भन्नेमा केन्द्रित छ । अर्कोतर्फ तीनै तहका सरकाहरुले यो विषयलाई खासै प्राथमिकतामा राखेको अवस्था छैन । जसका कारण सवारी चालकको लापरवाही, क्षमताभन्दा बढी यात्रु, यन्त्रिक गढबढी, जिर्ण सडक लगायतका कारणले सडक दुर्घटनाले प्रसय पाइरहेको छ ।

कतिपय अवस्थामा यात्रुलेसमेत ट्राफिक नियमको पालना गरेको देखिँदैन । यसर्थ, सडक सुरक्षामा सरोकारवाला निकायसँगै आम नागरिक पनि सचेत हुन आवश्यक छ । जबसम्म सवारी चालक, यातायात व्यवसायी, आमनागरिक र नियामक निकाय सडक सुरक्षामा जिम्मेवार बन्दैनन्, तबसम्म सडक सुरक्षाको सवाल निकै चुनौतीपूर्ण छ ।

सम्पादकीय : सडक सुरक्षामा चुनौती

राउटे सहभागितामा वृक्षारोपण : लोपोन्मुख समुदायले रोपे

सम्पादकीय : सडक सुरक्षामा चुनौती

कर्णाली प्रदेशमा सुरु भयो घर बीमा कार्यक्रम:

Leave a comment

Your email address will not be published. Required fields are marked *