वर्षाले भिजायो धानबाली, जुम्ली किसानका चिन्तित

गोल्डेन बुढा
जुम्ला,११ कार्तिक
धान उब्जाएर भित्र्याउँला भन्ने आशामा खेतमा पसिरहेका जुम्लाका किसान सोमबार रातिदेखिको लगातार वर्षाले निराश बनेका छन्। खेतमै ढालेको धान सुकाउन नपाउँदै वर्षाले भिजाएपछि किसानको वर्षभरको मेहनतमा पानी परेको छ।जुम्लाको चन्दननाथ नगरपालिका, हिमा र तातोपानी गाउँपालिकाका सयौँ किसान अहिले खेतमै चिन्तित छन्।

जुम्ला जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष कुल २ हजार ८ सय ९० हेक्टरमा रोपिएको धानमध्ये करिब २० प्रतिशत बाली वर्षाको पानीले भिजेको छ।कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार जुम्लाका ८ स्थानीय तहमध्ये कनकासुन्दरी, सिंजा, तिला, गुठिचौर र पातारासी गाउँपालिकाका किसानले धान घर भित्र्याइसकेका छन्। तर तातोपानी, हिमा र चन्दननाथका किसान अझै खेतमै सुकाउने तयारीमा थिए।“धान भिज्दैमा तत्काल क्षति हुन्छ भन्ने होइन,” प्रमुख अधिकारीले भने, “घाम लागेमा दाना सुक्छ र गुणस्तरमा ठूलो असर पर्दैन। तर पानी दुई–चार दिन लगातार परे चामलमा कनिका बढी हुने सम्भावना हुन्छ। सात दिनसम्म पनि वर्षा नरोकिए भने भने धानका बाला र डाँठ कुहिने खतरा ठूलो हुन्छ।”चन्दननाथ नगरपालिकाको गैरागाउँ, पिपलगाउँ र जातिभिडका किसानले धान काटिसके पनि भित्र्याउन सकेका छैनन्। तातोपानी गाउँपालिकाको राँका, बाइराँका, लाछु जिउला र डाँगीबाडा जिउलाका किसानले पनि खेतमै ढालेको धान सुकाउन नपाएर समस्यामा परेका छन्।

हिमा गाउँपालिकाको दयार र मोफ्लाका किसानले धान ढालिसकेका छन्।भने, तलिकुडु र माथिकुडुका किसान अझै काट्नै बाँकी अवस्थामा छन्।कतिपय किसानले पानी छल्न धान पालले छोपेर राखेका छन्,। कतिपयले डाँठसहित घरमा ल्याएका छन्। तर धेरै किसानले खेतमै लहरा बनाएर राखेको धान लगातार भिजिरहेको छ।कृषि विकास कार्यालयका तथ्यांकअनुसार जिल्लाको ८० प्रतिशत धान भित्र्याइसकिएको छ। जुम्लामा मुख्य रूपमा कालीमार्सी, लेकाली–१, लेकाली–३, चन्दननाथ–१ र चन्दननाथ–३ जातका धान खेती हुने गर्छ।स्थानीय किसान रामकृष्ण रोकाया भन्छन्, “यो पटक धान राम्रो फलिएको थियो, तर समयमै घर भित्र्याउन नपाउँदा समस्या भइरहेको छ। खेतमा पानी परिरहे धान ढलेर नोक्सानी हुने डर छ।”अहिले किसानको आँखामा एउटै अपेक्षा छ—घाम लागोस्, धान बचोस्। कृषि विकास कार्यालयले बिहानैदेखि सबै स्थानीय तहका कृषि शाखासँग समन्वय गर्दै धानबालीको अवस्था बुझिरहेको छ। अधिकारीले भने, “अहिले नै क्षति ठ्याक्कै भन्न सकिँदैन, तर मौसमले साथ नदिए ठूलो नोक्सानी हुनसक्छ।”जुम्लाका खेतहरू अहिले धानले छरिएका छन्, तर ती बालाहरू पानीको भारीमा झुकेका छन्। वर्षाले रोक नलिए यो वर्ष किसानको पसिनाले फलाएको सुनको बाली खेतमै कुहिने डर बढ्दो छ।






