जुम्लामा लगातार वर्षा हुदा भित्र्याउने ठिक्क पारेका धान खेतमै भिजे

काली बहादुर परियार
जुम्ला ,११ कार्तिक ।
जुम्लामा हिजो रातिदेखि परेको अविरल वर्षाले किसानको मेहनत र आशा दुबैलाई भिजाएको छ । हिउँदको मुखमा जब जुम्ली किसानहरू आफ्नो बाली भित्र्याउने तयारीमा रहेकाे बेला अचानक पानी पर्दा जुम्लीमार्सि धान खेतमै भिजाएकाे हाे ।
किसानले भित्र्याउन ठिक्क पारेका धान निरन्तर परेको पानीले भिजाएर उनीहरूलाई ठूलो चिन्तामा पारेको छ।
जिल्लाका तातोपानी, चन्दननाथ–८ र १० तथा सिंजा क्षेत्रका किसानहरू अहिले सबैभन्दा बढी प्रभावित बनेका छन् । यी क्षेत्रका धेरै जिउलाेमा अझै धान चुट्न बाँकी रहेको अवस्थामा हिजो रातिदेखि लगातार पानी परे पछि खेतमा नै राखिएका धानका बोटहरू भिजेका हुन् ।
चन्दननाथ नगरपलिका -८ का स्थानीय किसान दड्क दमाई भन्छन्, धान काटेर चुट्ने तयारीमै थियौं, एक दिनमा सुकाउने अनि भित्र्याउने सोच थियो, तर रातभर परेको पानीले सबै योजना बिगार्यो । उनका अनुसार खेतमै भिजेका धानका बोटहरू सुक्न कठिन हुने र अन्नको गुणस्तर घट्ने सम्भावना रहेकाे गुनासाे गरे ।
जुम्ला जिल्लामा धान खेती मुख्य बालीमध्ये एक हो । यहाँको जुम्ली मार्सीधानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा माग बढ्दो छ। तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण खेतीपातीको ढाँचा प्रभावित भइरहेको किसानहरूको भनाइ छ। अघिल्ला वर्षमा समयमै पानी नपाएर बाली सुक्ने समस्या देखिएको थियो भने यसपालि भित्र्याउने बेलामा पानीले समस्या थपेको उनकाे भनाइ छ ।
यस्तै कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार निरन्तर वर्षाले भिजेका धान लामो समय खेतमै रहँदा दाना कुहिने, अन्नको रङ फिका हुने र अंकुरण हुने खतरा रहेकाे बताए ।
उनका अनुसार, यस्तो अवस्थामा किसानले भिजेका धानलाई सकेसम्म छिट्टै निकालेर खुला ठाउँमा सुकाउने प्रयास गर्नुपर्ने जानकारी दिए । उनले भने, ढिलो गरे ठूलो नोक्सानी हुन सक्छ। धान भित्र्याउने समय नजिकिँदै गर्दा परेको वर्षाले केवल अन्नमै असर पार्दैन, आगामी वर्षको बीउ उत्पादनमा पनि चुनौती थप्ने उनकाे भनाइ छ ।
धानको बीउ तयार गर्ने किसानहरूले विशेष रूपमा चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूले पनि परिस्थितिलाई गम्भीर रूपमा लिएको बताएका छन् ।
चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष भिम बहादुर रावतले भने, हामीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइरहेका छौं, सम्भव सहयोगका उपायबारे छलफल भइरहेको छाै ।
अहिले जुम्लाका अधिकांश किसानको नजर आकाशतिर छ । पानी रोकियोस् र खेतमै भिजेका धान सुकाउने मौका मिलोस् भन्ने आशामा छन् । निरन्तर वर्षा रोकिएर मौसम खुल्ने हो भने केही राहत मिल्ने सम्भावना छ । तर यदि पानी अझै निरन्तर परिरह्यो भने यो वर्ष जुम्ली किसानका लागि ठूलो क्षति बन्न सक्छ ।






