पर्यटक लोभ्याउने जुम्लाको आकाशे ताल आकर्षक पर्यटकीय गन्तव्य बन्दै

मानदत्त रावल
जुम्ला ,९ कार्तिक ।
जुम्लाको गुठीचौर गाउँपालिका– १ स्थित आकाशे तालले पर्यटक लोभ्याउने गरेको छ । समुद्री सतहदेखि ४ हजार ७७९.७ मिटर उचाईमा अवस्थित ‘आकाशे ताल’ अहिले आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । पछिल्लो समयमा मात्रै चर्चामा रहेको आकासे तालमा अहिले आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् ।
गतवर्ष कर्णालीकी चेली सृजना सिज्जुले उक्त तालको भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसपछि आन्तरिक पर्यटकहरू त्यहाँ पुग्न थालेका हुन् । दसैँतिहारको अवधिमा धेरै संख्यामा पर्यटक आकासे ताल पुगेका छन् । आकाशजस्तै निलो देखिने, कचौरा आकारको भएकाले उक्त तालको नाम आकासे ताल रहेको अनुमान गरिएको हो । यद्यपी, गाउँपालिकाले आधिकारीक नामाकरण भने गरेको छैन । धेरैलाई त्यहाँसम्म पुग्ने आधिकारीक रुट समेत थाहा छैन । यद्यपी तालको सुन्दरताले भने आन्तरिक तथा बाह्य पर्यटक आर्कषित भएका छन् ।
भौगोलिक विकटता र कठिन भूगोलकाबिचमा आकासे ताल गुठिचौर सिरानमा बसेको छ । जसले गुठिचौरको भाग्य र भविष्य बदल्न सक्ने प्रचुर सम्भावना पनि बोकेको छ । गुमनाम आकासे ताल चर्चामा आएको डेढ वर्ष बढी समय भईसक्दा पनि उक्त तालको एकिन क्षेत्रफल अहिलेसम्म पत्ता लागेको छैन ।
आकासे तालको प्रर्बद्धनका लागि पूर्वाधार निर्माण, प्रचार प्रसार तथा ठाउँ ठाउँमा रुट किलियर गर्ने सूचना टास्नु पर्ने अहिले मुख्य आवश्यकता देखिएको छ । भर्खर आकासे ताल भ्रमण गरेर फर्किएका पर्यटक भरत नेपाली भन्छन, ‘आकासे तालको सुन्दरताले कठिन भूगोल, सास्ती पूर्ण यात्राको दुख सबै भुलाउ छ । तर, आधारभूत पूर्वाधार समेत निर्माण नहुँदा समस्या छ । नत जाने बाटो थाहा छ । नत कुनै अभिलेख छन् । बाटो समेत थाहा नपाएर धेरैले दुख पाएको अवस्था छ ।’
धेरै सम्भावना रहेपनि आकासे ताल प्रचारप्रसार अभावले अझै पनि गुमनाम जस्तै बनेको उनको भनाई छ । गाउँपालिकाले ठाउँ ठाउँमा प्रतिक्षालय, खानेपानीका धारा, पदमार्ग, ईन्टरनेट जस्ता आधाभूत पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने समेत नेपालीको सुझाव छ ।
कसरी पुग्ने आकासे ताल ?जुम्ला बजारबाट पहिलो दिन सवारीसाधनमा करिब साढे २ घण्टाको यात्रामा गुठीचौरको मणिसाँघु पुगिन्छ । मणिसाँघुबाट चोत्रागाउँदेखि केही परसम्म सवारी साधनमै पुग्न सकिन्छ । त्यसपछि पैदल यात्राको ५–७ घण्टापछि आकासे ताल पुग्न सकिने त्यहाँ पुगेकाहरुको अनुभव छ । तर बाटो थाहा नपाएर भने धेरैले दुख पाएका छन् ।
त्यस्तै आकासे ताल पुगेका पर्यटक भेष बहादुर रावल भन्छन, ‘कर्णालीको आकाश छुन खोजे जस्तो उचाइमा, हिउँ सेताम्य हिमालको खोंचमा चम्किरहेको एउटा अद्भुत दृश्य हो आकाशे ताल । त्यहाँ पुग्दा छुटै आनन्द मिल्छ । प्रचार भएको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने देखिन्छ । प्रर्बद्धनमा पालिकाले ध्यान दिन जरुरी छ ।’ कर्णालीको भौगोलिक विविधता र कठिन भू–भागले गर्दा यहाँका धेरै ठाउँहरू अझै पनि राज्यको आँखाबाट ओझेलमा छन ।
गुठिचौर गाउँपालिकाले आकासे तालको प्रर्बद्धनका लागि विशेष योजना बनाउन लागेको बताएको छ । गुठिचौर उपत्यका तथा आकासे ताललाई पालिकाको समृद्धीको आधार मानेर विकास गरिने उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले बताईन् ।
नयाँ पर्यटकीय गन्तव्यका रुपमा सबैको रोजाईमा परेको आकासे ताललाई कर्णालीकै आर्कषणको केन्द्र बनाउन तीनै तहको संयुक्त लगानी जुटाउने प्रयासमा पालिका जुट्नु पर्ने गुठिचौर गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत माया बुढाले बताईन् ।
हाल गुठीचौर गाउँपालिका–१ मौरेसम्म ५० लाख रुपैयाँ बढी लागतमा सडक निर्माण गरिएको छ । सडक पुगेको ठाउँबाट तालसम्म पुग्न करिब ३ किलोमिटर लामो पदमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । तालको नापजाँचको कामलाई पालिकाले अघि बढाउने बुढाले बताईन् ।
गुठिचौर गाउँपालिका— १ का वडाध्यक्ष अर्जुनकुमार महतराले गाउँपालिकाले आकासे तालको प्रर्बद्धनका लागि पदमार्ग लगायतका पूर्वाधार बनाउन तयार रहेको बताए । आफ्नै वडामा उक्त ताल पर्ने भएकाले प्रर्बद्धनका लागि गम्भीर रहेको उनको भनाई छ ।
दुई वर्षअघि मात्र जुम्लाको तातोपानी गाउँपालिकाले गुमनाम गिडिदह चर्चामा ल्याएको थियो । जुन गुमनाम थियो । उक्त ताल कर्णालीकै तेस्रो ठुलो ताल हो । जहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।





