सुर्खेतमा अवैध नेटवर्किङ धन्दा चलाएर  बेरोजगार युवा ठग्ने अभियूक्तहरु कारागार चलान पुनः उजुरी परेपछि कारागारबाट रिहा हुन पाएनन् धरौटीमा छुटेका ६ जना

ओम शाही
सुर्खेत, ८ भदौं ।
सरकारले १४ वर्षअघि नै प्रतिवन्ध लगाएको नेटवर्किङ व्यवसायको अवैध धन्दामार्फत सुर्खेतमा व्यापकरुपमा बेरोजगार युवा ठग्ने कार्यमा संलग्न आठ व्यक्ति पुर्पक्षका लागि कारागार कार्यालय चलान भएका छन् । सुर्खेतको वीरेन्द्रनगर–४, मुलपानीस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालि नामको कम्पनीले ग्लोबल ओरियन्स प्रालिमा रोजगारी लगाइदिने प्रलोभनमा नेटवर्क सञ्जाल विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न कम्पनीका सञ्चालक तथा कर्मचारीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ३० साउन २०८२ मा जिल्ला अदालत सुर्खेतका न्यायधीस दीपक ढकालको इजलाशले ठगीमा संलग्नलाई थुनामा राख्न आदेश दिएको हो । रोजगारीको प्रलोभनमा पारी बेरोजगार युवा तथा युवतीहरु व्यापक ठगिएको गुनासोपछि सुर्खेत प्रहरीले मुलपानीस्थित स्काई ड्रिमको कार्यालयमा छापा हानेर अनुसन्धान थालेको थियो ।
प्रहरीले एक्सन लिएपछि सम्पर्कमा आएका पीडितहरुले ५ साउन २०८२ मा स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिमार्फत ग्लोबल ओरियन्स नेपाल प्रालिमा सीप सिकाई आकर्षक तलब सुविधासहित रोजगारी दिने प्रलोभनमा ठगिएको उजुरी दिएपछि उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका–२, घर भई वीरेन्द्रनगरस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रालिका सञ्चालक २६ वर्षीय नरेश बोहोरासहित आठ जना छन्, जसमा दार्चुलाको महाकाली गाउँपालिका–४, का २४ वर्षीय कृष्ण धामी, अछामको कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही थिए । यस्तै, पक्राउ पर्नेमा अछामको कमल बजार नगरपालिका–६, का २२ वर्षीय रवीन्द्र शाही, कञ्चनपुरको महाकाली नगरपालिका–२ का २२ वर्षीया मनिषा सिंह, बेलडाँडी गाउँपालिका–१, की २१ वर्षीय निर्मला धामी, बैतडीको सिगास गाउँपालिका–६, की २२ वर्षीया सुनिता साउद र डोटीको बडिकेदार गाउँपालिका–४ की २२ वर्षीया कमला चिमाला छन् । उनीहरु पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आफूहरु ठगिएको भन्दै ५१ जनाले  मुद्दा दर्ता गराएका थिए ।
यसरी आएका उजुरीको आधारमा अनुसन्धान थालेको सुर्खेत प्रहरीले ६४ लाख विगो र कैद सजायको माग गर्दै २७ साउन २०८२ मा जिल्ला अदालतमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतले डोटीको साइल गाउँपािलका–२, घर भई वीरेन्द्रनगर–४, स्थित स्काई ड्रिम इन्टरपेनर्सका सञ्चालक २६ वर्षिय नरेश बोहोरा र कन्चनपुर जिल्लाको बेलडाँडी–१, घर भएकी २१ वर्षिय निर्मला धामीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । अन्य ६ जनाबाट अदालतले धरौटी मागेको छ । अदालतले ठगीको आरोप लागेका मनिषा सिंहसँग सात लाख ५० हजार, कमला चिमालासँग ६ लाख, कमल शाहीसँग पाँच लाख, कृष्ण सिंहसँग एक लाख २५ हजार, सुनिता साउँदसँग २५ हजार, रविन्द्र शाहीसँग १० हजार धरौटी मागेर छाड्न आदेश दिएको थियो । यद्यपी, धरौटी मागेर छाड्न भनिएकाहरु भने कारागार मुक्त हुने छैनन् । उनीहरुविरुद्ध पुनः जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठगीको उजुरु परेपछि ६ जना नै कारागारबाट नछुट्ने भएका हुन् । उनीहरुविरुद्ध थप ३५ बढी युवायुवतीहरुले ठगिएको उजुरी दर्ता गरापछि धरौटी लिएर छाड्न भनिएकाहरुलाई पुनः कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
स्काई ड्रिम नामक कम्पनीको माध्यमबाट ग्लोबल ओरियन्सको बैंक खातामा सीप सिकाएर आकर्षक रोजगारी दिने प्रलोभनमा पारी प्रतिव्यक्ति ५० हजारदेखि दुई लाख ६० हजारसम्म रकम पठाएका प्रमाणसहित थप उजुरी आउन थालेपछि उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्ने निचोडमा प्रहरी पुगेको हो । प्रहरी प्रवक्ता बुढथापाका अनुसार रोजगारीको प्रलोभनमा ठगिएकाहरुबाट ग्लोबल ओरियन्स नामक कम्पनी र त्यसपछि स्काई ड्रिमको बैंक खातामा विभिन्न माध्ययम प्रयोग भएर रकम गएको छ । यी दुबै कम्पनीका नेपालस्थित सबै बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु रोक्का गरेर सुर्खेत प्रहरीले विस्तृत अनसन्धान गरिरहेको छ । प्रतिवन्धित नेटवर्किङ व्यवसायबाट पुनः ठगिएको प्रमाणित भएपछि सुर्खेत प्रहरीले प्रहरी निरीक्षकको कमाण्डमा छुट्टै व्यूरो बनाएर अनुसान्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार रूकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, कालिकोट, अछाम, डोटी, दार्चुला लगायत जिल्लाका युवायुवतीहरु दैनिक जसो ठगिएको उजुरी लिएर आउने गरेका छन् । यसरी आउने अधिकांशले मोवाइल बैकिङमार्फत स्काई ड्रिम र ग्लोबल ओरियसन्सको खातामा रकम पठाएका छन् । प्रहरीका अनुसार प्रतिवन्धित नेटवर्किङ व्यवसायको ठगीमा परेका युवाहरु अधिकांश २५ वर्षमुनिका र कक्षा १२ सम्म अध्ययन गर्ने बढी छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट झण्डै पाँच सय बढी युवायुवतीहरु यस प्रकारको ठगीको सिकार बनेका छन् । यसरी ठगिनेहरु पढाईका शिलाशिलामा वीरेन्द्रनगरमा कोठा भाडामा बस्नेहरु बढी रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
युनिटी र हर्बो इन्टरनेसनललगायतले पिरामिड शैलीमा सञ्जाल विस्तार गरी सर्वसाधारणको अर्बौं रकम ठगी गरेको व्यापक गुनासोपछि १५ चैत २०६८ मा सरकारले यस्तो व्यवसायमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । सरकारको नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाउने उक्त निर्णय कानुनसम्मत भएको फैसला १४ वर्षअघि नै सर्वोच्च अदालतले गरिसकेको थियो । तर, सर्वोच्चको फैसला अपव्याख्या गरी सर्वसाधारण व्यापक ठगिएको नेटवर्किङ व्यवसायलाई २०७७ असारबाट सरकारले सञ्चालनको इजाजत दिन सुरु गरेसँगै पुनः सर्वसाधारण ठगिने क्रम बढ्दै गएको छ । वस्तु तथा सेवा प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बनाएर इजाजत बाँड्न सुरु गरिएसँगै वैधानिक रूपमै नागरिक ठगिएका घटना बाहिर आउन थालेका छन् । सर्वोच्च अदालतले स्वच्छ प्रतिस्पर्धा र उपभोक्ताको हितमा प्रतिकूल प्रभाव नपर्ने गरी कानुनी व्यवस्थामार्फत प्रत्यक्ष व्यवसायका लागि अनुमति दिन सकिने गरी फैसला गरेको थियो । यही फैसलाको अपव्याख्या गर्दै सरकारले घुमाउरो शैलीमा नेटवर्किङ व्यवसायलाई वैधता दिएपछि नेटवर्किङ व्यवसायीहरू सलबलाएका हुन् ।
नयाँ बनेको कानुनमा पनि नेटवर्किङ शैलीको व्यवसायमा रोक लगाइए पनि देशभर इजाजत लिएका कम्पनीहरूले नेटवर्क सञ्जाल विस्तार गरिरहेका छन् । हालसम्म आइबोस ग्लोबल इन्टरनेसनल प्रालि, नेचर हर्ब्स इन्टरनेसल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ प्रालि, केयर माट्र्स इन्टरप्राइजेज प्रालि, युटर्न इन्टरनेसनल प्रालि, ग्लोबल ओरियन्स प्रालि, अपि लाइफ इन्टरनेसनल, गोल्डेन नेपाल मार्केटिङ प्रालिलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले इजाजतपत्र बाँडिसकेको छ । यिनैमध्येको ग्लोबल ओरियन्स नेपाल प्रालिले सुर्खेतमा पिरामिड शैलीको सञ्जाल विस्तार गरी उच्च शिक्षा अध्ययन गरिरहेका बेरोजगार युवाहरूलाई ट्र्यापमा पार्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।
यसको केन्द्रीय कार्यालय काठमाडौंमा छ । कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भई वीरेन्द्रनगरमा शैक्षिक गतिविधि सञ्चालन गर्ने नाममा खोलिएको स्काई ड्रिम इन्टरप्रेनर्सले ग्लोबल ओरियन्समा जागिर लगाउने भन्दै धमाधम युवाहरू ठगिन थालेको गुनासो बढेपछि यसका सञ्चालक तथा नेटवर्किङ व्यवसाय विस्तारको काम गर्नेहरू सुर्खेत प्रहरीको पञ्जामा परेपछि नेटवर्किङ ठगीको विषय पुनः सतहमा आएको हो ।
यी कम्पनीहरूले कार्यालय खडा गरेर सामाजिक सञ्जाललगायतका माध्यमबाट नेटवर्क सञ्जाल बनाएर व्यापक ठगी गरिहेका छन् । नेटवर्किङ व्यवसायमा आधारित यस्ता कम्पनीका कार्यालयहरू देशका प्रमुख शहरहरू झापा, बिर्तामोड, हेटौँडा, चितवन, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीमा सञ्चालनमा रही सोझासाझा बेरोजगार युवायुवतीलाई व्यापक स्क्याम गर्ने गरेको यी कम्पनीले सामाजिक सञ्जालमा गर्ने विज्ञापनमा देख्न सकिन्छ ।
सुर्खेतमा अवैध नेटवर्किङ धन्दा चलाएर  बेरोजगार युवा ठग्ने अभियूक्तहरु कारागार चलान पुनः उजुरी परेपछि कारागारबाट रिहा हुन पाएनन् धरौटीमा छुटेका ६ जना

बाँकेमा ८५ किलोमिटर सडक निर्माण

सुर्खेतमा अवैध नेटवर्किङ धन्दा चलाएर  बेरोजगार युवा ठग्ने अभियूक्तहरु कारागार चलान पुनः उजुरी परेपछि कारागारबाट रिहा हुन पाएनन् धरौटीमा छुटेका ६ जना

सम्पादकीय : आन्तरिक हवाई उडानमा पहल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds