काँक्रेविहार जंगलमा किशोर–किशोरी मृत फेला, घटनाले उठायो गम्भीर प्रश्न

सुर्खेत,८ मंसिर ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक किशोर र एक किशोरी मृत अवस्थामा फेला परेको घटना सार्वजनिक हुँदै स्थानीय क्षेत्रमा ठूलो सनसनी फैलिएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुराकी १६ वर्षीया दीपिका चौधरी सोमबार बिहान झुन्डिएको अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहान करिब ११ बजेतिर घाँस काट्न जंगल पुगेका स्थानीयले दुवैलाई एकै ठाउँमा झुन्डिएको अवस्थामा देखेपछि तत्क्रममा प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाई आवश्यक अनुसन्धान अगाडि बढाएको छ।
प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उहाँका काका राजु चौधरीले र किशोरको सनाखत उहाँकी फुपू गीता खत्रीले गरेका हुन्। दुवकै परिवारजन घटनास्थल पुगेपछि शोकमग्न देखिएका थिए।
घटनाको प्रकृति र कारणबारे अहिले विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमै घटना रहस्यमय देखिएको भन्दै प्रहरीले परिवार, साथीभाइ तथा आसपासका व्यक्तिसँग पनि बयान संकलन गरिरहेको जानकारी दिएको छ।
स्थानीयहरू भने यस्तो दुखद घटना विगत केही वर्षयता काँक्रेविहार जंगल क्षेत्रमा पहिलोपटक भएको बताउँदै घटनाका सबै पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरिरहेका छन्। प्रहरीले पोष्टमार्टम रिपोर्ट र थप प्रमाणका आधारमा मात्र घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।






