चन्दननाथ मन्दिरमा ५२ हाते लिंगो फेरिँदै घटस्थापनाको भव्य आरम्भ

गाेल्डेन बुढा
६, असोज २०८२
कर्णालीको सांस्कृतिक र धार्मिक गहना चन्दननाथ मन्दिरमा सोमबार घटस्थापनाको अवसर पारेर ५२ हाते लिंगो परम्परागत शैलीमा फेरिएको छ। लिंगो फेरेसँगै ५२ हातकै नयाँ ध्वजा पनि फहराइएपछि मन्दिर परिसर भक्तिभाव र संस्कारको उत्सवमा रंगिएको छ।चन्दननाथ–भैरवनाथ गुठी समितिका अध्यक्ष अमरबहादुर थापा भन्छन्, “वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हात लामो लिंगो र त्यत्तिकै ध्वजा राखिन्छ। यो परम्परा केवल धार्मिक नभई कर्णालीको सांस्कृतिक पहिचान हो।”मन्दिर परिसरमा फेरिएको लिंगोले मात्र घटस्थापनाको सुरुआत हुँदैन, जुम्लावासीका घरघरमा जमरा राख्ने धार्मिक यात्रा पनि यसबाट प्रारम्भ हुन्छ। यही दिन मन्दिरको माटो लिएर जमरा राख्ने चलन अझै जीवित छ, जुन परम्परामा विश्वास, एकता र प्रकृतिप्रतिको सम्मान झल्किन्छ।चन्दननाथ मन्दिरको यो धार्मिक परम्परा प्रकृतिसँग गहिरो सम्बन्ध बोकेको छ।

देवीदेवताले वर्षभरि विपत्तिबाट रक्षा गरून् भन्ने कामना गर्दै लिंगो फेर्ने गरिन्छ। साथै, कृषिमा समृद्धि होस्, भोकमरी नहोस् भन्ने उद्देश्यले मार्सी धानको सिक चढाइन्छ।विश्वकै सबैभन्दा उचाइमा फल्ने भनिने यो धान मार्सी लाई जुम्लामा विशेष धार्मिक महत्व दिइन्छ। सिक चढाएपछि परिवारका सदस्यहरू एकै थलोमा भेला भएर नयाँ अन्न—नुवागी खाने परम्परा आज पनि उत्तिकै श्रद्धाका साथ मनाइन्छ। यही दिनदेखि धान भित्र्याउने कार्यको औपचारिक सुरुआत पनि गरिन्छ।दशकअघिसम्म यो पर्वमा कर्णालीका विभिन्न जिल्लाबाट चन्दननाथ मन्दिरका लागि सामग्री पठाउने परम्परा जीवित थियो। जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को, मुगुबाट मास, मुगी दाल, राडीपाखी आदिको सहभागिता हुने गर्थ्यो।तर, आधुनिक व्यवस्थापनसँगै अहिले ती परम्पराहरू क्रमशः हराउँदै गएका छन्। “हाल मन्दिरका सबै तयारी तथा सामग्री सुरक्षाकर्मी र समितिमार्फत व्यवस्थापन गरिन्छ,” गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले जानकारी दिए।सांस्कृतिक र धार्मिक सन्देश मात्र नभई कृषक जीवनशैलीसँग समेत गहिरो रूपमा गाँसिएको चन्दननाथ मन्दिरको यो परम्परा जुम्लाको गौरव मात्र होइन, कर्णालीको ऐतिहासिक सम्पदा पनि हो।चन्दननाथ – नेपालकै उच्च भू–भागमा अवस्थित ऐतिहासिक मन्दिर, जसले कर्णाली क्षेत्रको धार्मिक नेतृत्व गरिरहेको छ।मार्सी धान – हिमाली भेगमा फल्ने विशिष्ट जातको रातो धान, जुन स्वास्थ्यवर्धक र धार्मिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ।’ घटस्थापनाका दिन जुम्लाबासीले नयाँ अन्न (नुवागी) खाने परम्परा पनि लामो समयदेखि चल्दै आएको छ ।विश्वकै अग्लो स्थानमा फल्ने मार्सी धानको सिक चढाएपछि परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई नुवागी खाने चलन छ ।
परम्परागत चलन अनुसार जुम्लामा आजकै दिनदेखि धान भित्र्याउन पनि सुरु गरिन्छ ।बिहान ७ बजेपछि पुराना लिंगा ढाल्ने र नयाँ लिंगा ठड्याइने काम सुरु भएको थियो






