पहिलोपटक जुम्लामै सम्भोट लिपि पढाइ

गाेल्डेन बुढा
जुम्ला ,५ कार्तिक ।

जुम्लाबाट पहिलोपटक सम्भोट लिपिको औपचारिक अध्ययन सुरु भएको छ। बुद्ध दर्शन संघ जुम्लाले बुद्धका मौलिक उपदेशहरू गहिरो रूपमा बुझ्न र तिनलाई विश्वभर फैलाउन सम्भोट लिपिको कक्षा सञ्चालनमा ल्याएको हो।पहिले भोटे समुदायमै सीमित मानिएको यो लिपि अब सबै जातजातिका विद्यार्थीहरूका लागि खुला भएको छ। क्षत्री, बाहुन, दलित समुदायका विद्यार्थीहरूले पनि सम्भोट लिपिको अध्ययन गर्दैछन, जसले नेपाली समाजमा जातीय विभाजनभन्दा माथि उठेर साझा ज्ञानको बाटो पहिल्याउन थालिएको संकेत गर्छ।संघका अनुसार हाल १६ जना विद्यार्थीले सम्भोट लिपिमा अध्ययन गरिरहेका छन्।

उनीहरूका लागि बिहान, दिउँसो र बेलुकाको तीन सत्रमा कक्षा सञ्चालन हुँदै आएको छ। अध्ययनका लागि दुई जना प्रशिक्षित शिक्षक छन् भने सबै विद्यार्थीका लागि निःशुल्क आवासको व्यवस्था गरिएको छ।संघका अध्यक्ष खेन्पो कुन्ख्याब (छिरिङ तामाङ) का अनुसार सम्भोट लिपि केवल एक लिपि होइन, यो बुद्धको शिक्षासँग जोडिएको गहिरो सांस्कृतिक र बौद्धिक सम्पदा हो। “बुद्धको उपदेश केवल सुन्ने होइन, बुझ्ने हो — त्यो बुझाइ सम्भोट लिपिबाट गहिरो हुन्छ,” उनले भने, “मनको तनाव घटाउन र ज्ञानको बाटो समाउन हामीले यो यात्रा सुरु गरेका हौं।”यो पहलले अब सम्भोट लिपिको अध्ययनका लागि काठमाडौं वा भारत जाने बाध्यता अन्त्य गरेको छ। जुम्लामै अध्ययन गर्न पाउँदा विद्यार्थीहरू हर्षित छन्। हाल अध्ययनरत विद्यार्थीमध्ये छिमेकी जिल्ला मुगुबाट २ जना, जुम्लाको गुठिचौरबाट ६, पातारासीबाट ६, तातोपानी गाउँपालिकाबाट १ र छिमेकी जिल्ला डोल्पाबाट १ जना छन्।

बुद्ध दर्शन संघका कार्मा बुढा भन्छन्, “विद्यार्थी संख्या बढ्दो छ। सम्भोट लिपिको महत्व बुझ्ने चेतना विस्तार हुँदैछ। भविष्यमा यसलाई कलेज तहसम्म विस्तार गर्ने योजना बनाएका छौं।”सम्भोट लिपिको विकास सातौं शताब्दीमा तिब्बती राजा स्रोङ्चन गम्पोका मन्त्री थोन्मि सम्भोटले गरेका थिए। भारतमा आएर शब्दविद्या अध्ययन गरेपछि उनी तिब्बत फर्किए र सम्भोट लिपिको विकास गरे। यस लिपिमा ३० व्यञ्जन र ४ स्वर चिन्ह रहेका छन्।

मुख्यतः भोट भाषामा लेखनका लागि प्रयोग गरिने सम्भोट लिपिको पठनपाठन आठौं शताब्दीपूर्व नेपालमै चलनमा थियो भन्ने ऐतिहासिक तथ्यहरू पाइन्छन्।आजको जुम्लाबाट सुरु भएको यो पहलले त्यो ऐतिहासिक परम्परा पुनः जीवन्त बनाउँदैछ। बुद्धको शिक्षालाई मूल भाषामै बुझ्ने र त्यसलाई विश्वसामु राख्ने यो अभियानले सुदूर हिमाली भेगलाई अध्यात्म र ज्ञानको केन्द्रका रूपमा पुनःस्थापित गर्नसक्ने सम्भावना बोकेको छ।

पहिलोपटक जुम्लामै सम्भोट लिपि पढाइ

सयपत्री फुलका माला बेच्न महिला सदरमुकाम

Leave a comment

Your email address will not be published. Required fields are marked *