कर्णालीबाट श्रम स्वीकृति लिने बढे

सुर्खेत, ६ जेठ ।
कर्णाली प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दै गएको देखिएको छ । जसका लागि श्रम स्वीकृति लिनेहरुको संख्या २४ हजार एक सय ७५ पुगेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशभरबाट रोजगारीका लागि तेस्रो मुलुक जान २४ हजार बढीले श्रम स्वीकृत लिएका हुन् । जसमा पुरुषको संख्या २२ हजार तीन सय नौ रहेको छ भने महिलाको संख्या एक हजार आठ सय ६६ छ ।
वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रमका बीच सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत कमल बहादुर रोकायले श्रम स्वीकृत लिने सबै भन्दा धेरै सल्यान जिल्लाका रहेको जानकारी दिए । उनका अनुसार सल्यानबाट श्रम स्वीकृत लिनेको संख्या सात हजार ५३ मध्ये पुरुष ६ हजार पाँच सय ४० र पाँच सय १३ महिला छन् ।
सबैभन्दा कम डोल्पाका रहेका छन् । डोल्पामा पुरुष चार सय ४१ र ७१ जना महिला गरी पाँच सय १२ जनाले श्रम स्वीकृत लिएका छन् । यस्तै, अधिकृत रोकायले सुर्खेतबाट पाँच हजार तीन सय ९४ जनाले श्रम स्वीकृत लिएको बताए । जसमा पुरुषको संख्या चार हजार नौ सय ६७ र महिलाको संख्या चार सय २७ रहेको छ ।
दैलेखबाट तीन हजार दुई सय ३० जनाले श्रम स्वीकृत लिएका छन् । पुरुष दुई हजार नौ सय ९९ र महिला दुई सय ३१ छन् । त्यस्तै रुकुमपश्चिमबाट २ हजार ६ सय ४१ ज्नाले श्रम स्वीकृत लिएका छन् । पुरुष दुई हजार तीन सय ९४ र महिला दुई सय ४७ रहेका छन् । जाजरकोटबाट श्रम स्वीकृत लिनेको संख्या दुई हजार तीन सय ९६ छ । पुरुष दुई हजार दुई सय ५६ र महिला एक सय ४० छन् ।

जुम्लाका नौ सय ५६ जनाले श्रम स्वीकृत लिएका छन् । पुरुष आठ सय ८४ र महिला ७२ जना रहेका छन् । कालिकोटबाट आठ सय ९५ जना, हुम्लाबाट पाँच सय ६१ र मुगुबाट पाँच सय ३७ जनाले श्रम स्वीकृत लिएका छन् ।
त्यस्तै, चालु आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका २२ श्रमिकको मृत्यु भएको छ । सात जना विरामी तथा अंगभंग भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ३० जना विरामी तथा अंगभंग भएका थिए भने ६१ श्रमिकको मृत्यु भएको थियो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका रोजगार संयोजक मोहन प्रसाद पौडेलले वैदेशिक रोजगारीमा जाने उदेश्यले पासपोर्ट बनाएका, वैदेशिक रोजगारीमा गएका, वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका परिवारहरुका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले काम गर्दै आएको जानकारी दिए ।
उनका अनुसार सामी अन्तर्रगत थुप्रै कार्यक्रम रहेको र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्रगत रही वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न संयन्त्रहरुले काम गरिरहेका छन् ।
आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने मनसायले पासपोर्ट बनाउने नागरिकहरुलाई वैदेशिक रोजगारीमा कसरी सुरक्षित जान सकिन्छ, सरकारले कुन कुन देशहरुमा जानका लागि श्रम स्वीकृती दिएको छ, वैदेशिक रोजगारीमा जाँदा कुन कुन प्रक्रिया अपनाउनुपर्छ र विदेशमा कोही व्यक्ति अलपत्र वा ठगीमा परेमा समेत परामर्शसंगै उद्धारमा सहजीकरण लगायतका काम केन्द्रले गरिरहेको पौडेलले बताए ।
कार्यक्रममा आप्रवासी परामर्शकर्ता सीता कुमारी वलीले जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको आप्रवासी परामर्श केन्द्रबाट दुई महिनामा एक हजार पाँच सय ४१ जनालाई परामर्श दिएको जानकारी दिइन् । उनले दैनिक रुपमा ७० जनाको हाराहारीमा वैदेशिक रोजगारीमा जानका लागि प्रशासनमा पासपोर्ट बनाउन आउने गरेको बताइन् ।






