जुम्लामा ८४९ नयाँ मतदाता थपिए : करिब ५० प्रतिशत युवापुस्तामा चासाे

काली बहादुर परियार,
जुम्ला,४ मंसिर।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जुम्लामा मतदाता दर्ता अभियान उल्लेख्य रूपमा सक्रिय बन्दै गएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाले दिएको तथ्याङ्क अनुसार बिहीबार सम्म ८ सय ४९ जना नयाँ मतदाता थपिएका छन् ।
सबै भन्दा रोचक पक्ष भनेको दर्ता भएका मध्ये करिब ५० प्रतिशत युवापुस्ता रहेका छन् । युवाहरूको यो उत्साहले आगामी निर्वाचनमा जुम्लाबाट मतको रौनक अझ बढ्ने संकेत दिएको छ।
निर्वाचन कार्यालयकी निमित्त प्रमुख नारायणी आचार्यका अनुसार अनलाइन मार्फत दर्ता गर्न सकिने व्यवस्था लागू भएपछि प्रक्रियामा तीव्रता आएको छ। थपिएका मतदातामध्ये ३ सय ७३ महिला र ४ सय ७६ पुरुष रहेका छन् ।
त्यसमध्ये ९७ जनाले बाहिरी जिल्ला बाट आएर जुम्लामै नाम दर्ता गराएको कार्यालयले जनाएको छ। यसले जुम्लालाई जनसंख्यात्मक दृष्टिले मात्र नभई राजनीतिक सक्रियताका हिसाबले पनि केन्द्र मोडिरहेको देखाएको छ।
नयाँ मतदाता जोडिनु अगाडि जिल्लामा कुल ६७ हजार ७ सय ३६ मतदाता थिए । पुरुष ३५ हजार २ सय ७५ र महिला ३२ हजार ४ सय ६१ रहेको तथ्यांकमा अब नयाँ दर्तासँगै वृद्धि हुन लागेको हो ।
यसैबीच, जिल्लामा मतदान व्यवस्थालाई अझ सहज बनाउनका लागि ३ ठाउँमा मतदान केन्द्र थप तथा स्थानान्तरणको प्रस्ताव पनि गरिएको छ ।
हिमा गाउँपालिका–१ र पातारासी गाउँपालिका–७ मा एक एक मतदान केन्द्र थप्ने तथा तिला गाउँपालिका–९ को केन्द्र सार्ने सिफारिस जिल्ला निर्वाचन कार्यालयले केन्द्रिय निर्वाचन आयोगमा पठाएको छ।
हाल जुम्लामा एक नगरपालिका र सात गाउँपालिका गरी आठ स्थानीय तहमा ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कार्यरत छन्। आगामी निर्वाचन नजिकिँदै जाँदा यी केन्द्रहरूको अवस्थाबारे सर्वपक्षीय बैठकसमेत सम्पन्न भइसकेको छ।
असोजदेखि सुरु गरिएको मतदाता नामावली सङ्कलन कात्तिक मसान्तसम्म सीमित भए पनि बढ्दो सहभागितालाई मध्यनजर गर्दै आयोगले म्याद मंसिर ५ गतेसम्म थपिदिएको छ। दर्ता प्रक्रियामा दैनिक भीड बढ्दै जाँदा कार्यालयले जनतालाई समयमा प्रक्रिया पूरा गर्न आग्रहसमेत गरेको छ।
जुम्लामा बढ्दो मतदाता उत्साह र नयाँ दर्ताको लहरले आगामी निर्वाचनमा उच्च सहभागिताको संकेत मात्र दिएको छैन, स्थानीय राजनीतिक वातावरण पनि क्रमशः तात्न थालेको छ।





