क्षतिग्रस्त संरचनाको स्थलगत रिपोटिङ्ग वडाध्यक्षहरु भन्छन्, जलेका कार्यालयबाट कसरी सेवा दिने ?

ओम शाही
सुर्खेत, १ असोज ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १२ वडाहरु तत्काल सेवा दिन नसक्ने गरी जलेर ध्वस्त भएको पाइएको छ । मंगलबार युवआह्वान दैनिकले वडा नम्बर १ देखि १२ सम्म स्थलगत रिपोटिङ्ग गरेको थियो । उक्त रिपोटिङ्गका क्रममा सेवा प्रवाहका दृष्टिकोणबाट नागरिकको नजिकमा रहेर कार्यसम्पादन गर्ने अधिकांश वडा कार्यालय तत्काल सञ्चालनमा आउन सक्ने अवस्था छैन ।


१६ मध्ये वीरेन्द्रनगर उपत्यकामा अवस्थित १२ वडा कार्यालयको भवन, विद्युतिय सफ्‌टवेयर, उपकरण, कागजात, फर्निचर, खानेपानी लगायतका पूर्वाधारहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगलागीका कारण वडा कार्यालयका भवनहरु समेत प्रयोग गर्न लायक छैनन् । आफ्‌नै भवनबाट सेवा दिइरहेका वडाका भवन अहिले आगलागीबाट खण्डहर बनेर उभिएका छन् । यी भवनलाई यथास्थितीमा ल्याउन ठुलो धनराशी खर्च गर्नुपर्ने देखिएको छ ।
स्थानीय सरकारको आधारभूत इकाई मानिने वडा कार्यालय नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रही सेवा दिने निकाय हुन् । संविधानले दिएको अधिकारअनुसार वडा कार्यालयले प्रवाह गर्ने नागरिकका दैनिक जनजिविकासँग सम्बन्धित विभिन्न प्रशासनिक, सामाजिक तथा विकास निर्माणका कामहरू जेन–जी आन्दोलनका कारण अनिश्चित बनेका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटाले तोडफोड र आगजनीका कारण वडा कार्यालयबाट तत्काल सेवा दिन नसकिने बताए । आगजनीका कारण वडा कार्यालयका सम्पूर्ण कागजी दस्तावेजसँगै भौतिक सामग्रीमा पूर्णरुपमा क्षति पुगेकाले अब कसरी अघि बढ्ने भन्ने विषयमा वडाध्यक्ष देवकोटाले अन्यौलता प्रकट गरे।


‘आगजनी तथा तोडफोडले वडा कार्यालयबाट नागरिकले पाउने जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराई दर्ता कार्य पूर्णरुपमा रोकिएका छन्,’ उनले भने, ‘यससँगै नागरिकता बनाउन आवश्यक पर्ने सिफारिस, बसोबास प्रमाणपत्र र वैवाहिक स्थिति प्रमाणित गर्ने कार्य पनि रोकिएका छन् ।’ उनका अनुसार तत्कालका लागि सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण प्रभावित बनेको छ । एक साता यता वडा कार्यालय सेवाविहिन हुँदा सेवाग्राही रित्तो हात फर्किन बाध्य बनेको पनि उनले बताए । त्यस्तै, वडा नम्बर १ का वडाध्यक्ष दिनेश खत्रीले कार्यालयमा क्षति पुगेपछि दैनिक हुने सामान्य सिफारिससमेत दिन नसकिएको बताए । उनले भने, ‘जग्गा नामसारी गर्न आवश्यक पर्ने सिफारिस, जग्गाधनी प्रमाण पूर्जाको सिफारिस, घर–जग्गाको नक्सा पास गर्ने तथा भवन निर्माण अनुमति दिने जस्ता सेवाहरु ठप्प भएका छन् । सेवाग्राहीले दैनिक फोन गरिरहेको भएको भएपनि सेवा दिन सकिने अवस्था छैन ।’ स्थानीय सरकारको जिम्मेवारी क्षेत्रमा पर्ने घरजग्गा कर, व्यवसाय कर, सवारी साधन कर संकलन तथा स्थानीय राजस्व अभिलेख राख्ने काम पनि प्रभावित बनेका छन् । उनले पनि वडा कार्यालयमा क्षति पुगेकाले तत्काल सेवा दिन नसकिने बताए ।


आगजनी र तोडफोड गरिएका वडा कार्यालयको वर्तमान अवस्था हेर्दा आन्दोलनकारीले चोरी र लुटपाट गर्ने मनसायका साथ आक्रमण गरेको देखिन्छ । ‘आन्दोलनकारीले सर्वप्रथम वडा कार्यालयका दराज तथा टेवलका घर्रामा क्षति पुर्‍याएका छन्,’ वडा नम्बर १२ का वडाध्यक्ष चुडामणी चपाईले भने, ‘तोडफोड र आगजनीपूर्व कार्यालयमा रहेका सोफा, टेबल, कम्यूटर, प्रिन्टर लगायतका भौतिक सामाग्री निकालेको देखिन्छ ।’ उनले वडा कार्यालयका महत्वपूर्ण कागजी दस्तावेजहरु छानिछानि जलाएको, च्यातेको र केही लिएर गएको बताए । वडा कार्यालयहरुमा तोडफोड, आगजनी र लुटपाटमा केही स्थानीयको संलग्ना रहेको वडाध्यक्षहरुको आरोप छ । स्थलगत रिपोटिङ्गका क्रममा वडा कार्यालयमा भेटिएका अधिकांश वडाध्यक्षहरुले जलेको कार्यालयबाट कसरी सेवा दिने भन्नेमा अन्यौलता व्यक्त गरे । कर्मचारी तथा जनप्रतिनिधि मिलेर प्रहरीले मुचुल्का उठाएका वडा कार्यालयमा सरसफाई गरेको भएपनि सेवा दिइने फाँटहरु जलेर नष्ट हुँदा उनीहरु पनि अन्यौलमा छन् ।


क्षति पुगेका वडा कार्यालयको स्थलगत अवलोकनमा पुगेकी वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले आगजनी र तोडफोडबाट झण्डै २० करोड बढीको क्षति भएको बताइन । जेन–जी आन्दोलनका नाममा घुसेका अराजक व्यक्तिका कारण जनताको नजिकमा रहेर काम गर्ने सरकार तहसनसह हुँदाको सेवा प्रवाहमा असर परेको बताइन । उनले कुनै पनि वडा कार्यालयमा बसेर काम गर्न सकिने अवस्था नरहेको उल्लेख गर्दै तत्काल नगरपालिकाको कार्यालयबाटै भए पनि सेवा प्रवाहलाई निरन्तरता दिने प्रयास गरिरहेको बताइन ।


उनले वडा कार्यालयबाट सेवा प्रवाहलाई नियमित बनाउन समय लाग्नेसमेत बताइन । क्षतिग्रस्त वडा कार्यालयबाट प्रवाह हुने सेवासँगै संकलन हुने राजश्वमा असर पर्दा आवश्यक पर्ने फर्निचर, विद्युतिय सफ्‌टवेयर, उपकरण तथा कागजात खरिदमा समस्या हुने उनले बताइन । ढकालका अनुसार अहिले नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक सेवाहरु मध्ये स्वास्थ्य र दमकल मात्रै बाँकी छन् । आन्दोलनकारीले नगरपालिकाको फोहोर बोक्ने गाडीमा भएको आगजनीले यसको व्यवस्थापन अस्तव्यस्त हुनेमा चिन्ता व्यक्त गरिन ।

दलहरुले फहराए पार्टी कार्यालयमा झण्डा
जेन–जी आन्दोलनका क्रममा भएको व्यापक तोडफोड र आगजनीका कारण कर्णालीका प्रमुख राजनीतिक दलका पार्टी कार्यालय चलायमान बन्न थालेका छन् । २३ गते जेन–जी आन्दोलनमा सरकारको अत्याधिक बल प्रयोगबाट सोही दिन १९ जना युवाहरुको मृत्यु भएको थियो । त्यसको बदला लिन त्यसको भोलिपल्ट थालिएको आन्दोलनले अराजकरुप लिएपछि कर्णालीमा पनि यसले ठुलो क्षति पुर्‍याएको छ ।
प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चर्किएको आन्दोलनको पहिलो निशाना प्रमुख राजनीतिक दलका पार्टी कार्यालय बनेका थिए । २४ गते विहान करिव साढे ११ बजेको समयमा एमालेको पार्टी कार्यालयबाट सुरु भएको तोडफोड अन्तमा महत्वपूर्ण सरकारी निकायसँगै सर्वजनिक पद धारण गरेका व्यक्तिका निजी आवासलाई समेत निशाना बनाएर तोडफोड, आगजनी र लुटपाट मच्चाइएको थियो ।

आन्दोलनका क्रममा एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यालय खण्डहर बनेका छन् । जेन–जी आन्दोलनका नाममा घुसेका अराजक युवाले यी दलका पार्टी कार्यालय भवनभित्रका सम्पूर्ण भौतिक सामग्रीसँगै कागजी दस्तावेज जलाएर नष्ट गरेका थिए । आन्दोलनले क्षति पुगेसँगै दलहरुले आफ्‌ना पार्टी कार्यालयलाई पूर्ववत अवस्थामा फर्काउन लागिपरेका छन् ।
स्थिती सामान्य बनेसँगै एमाले, कांग्रेस, माओवादी, राप्रपा लगायत पार्टीका नेता तथा कार्यकर्ताहरु सरसफाईमा जुटेका हुन् । उनीहरुले क्षतिग्रस्त भवनभित्र आगलागीबाट खरानी भएका कागजी दस्तावेज, कुर्सी, टेवल, सोफा, आल्मोनियम पाटेसन, कम्प्यूटर, प्रिन्टर, झ्यालका सिसा लगायतका भौतिक सामग्रीहरु बाहिर निकालेका छन् । साथै उनीहरुले पार्टी कार्यालयमा नयाँ झण्डासमेत फहराएका छन् ।

थप एकताबद्ध भएर अघि बढ्न आग्रह
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र पूर्व मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धीहरुको रक्षा गर्दै थप एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् ।
संयुक्त वक्तव्य जारी गर्दै नेताद्धयले राष्ट्र र संघीय लोकतान्त्रिक गणतन्त्र सामू गम्भिर चुनौती उत्पन्न भएको प्रतिकुल अवस्थामा राजनीतिक दल, नागरिक समाज र युवा पुस्तालाई धैर्य रहन आग्रह गरेका हुन् । नेताद्धयले आम नागरिक र खास गरि युवा पुस्ता बीचमा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढनुलाई अन्यथा मान्नु नहुने बताएका छन् ।
‘विगतका कमजोरीहरुलाई सच्याउन र आत्मसमिक्षा एवं आ—आफ्नो ठाँउबाट सुधार गर्दै युवा पुस्तासहित नागरिकमा भरोसा बढाउँदै जानुपर्ने वास्तविक यर्थाथतालाई हामी सबैले स्वीकार्नै पर्दछ,’ अपिलमा भनिएको छ, ‘अहिले देखिएको विषम परिस्थितिमा प्राप्त उपलब्धीको रक्षा गर्दै सम्हालिनु, थप एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु नै समयको माग हो ।’


अपिलमा जेनजी आन्दोलनका नाउमा मुलुकका ऐतिहासिक सार्वजनिक संरचना, व्यक्तिका निजी सम्पतिमा गरिएको विध्वंशको निष्पक्ष छानबिन गर्न आग्रह गरिएको छ । साथै नेताद्धय कँडेल र शाहीले आन्दोलनका क्रममा भएको मानवीय र भौतिकप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

क्षतिग्रस्त संरचनाको स्थलगत रिपोटिङ्ग वडाध्यक्षहरु भन्छन्, जलेका कार्यालयबाट कसरी सेवा दिने ?

लुटपाट गरिएको दुई लाख नगद र सुनचाँदी

क्षतिग्रस्त संरचनाको स्थलगत रिपोटिङ्ग वडाध्यक्षहरु भन्छन्, जलेका कार्यालयबाट कसरी सेवा दिने ?

पुनः कर्णाली राजमार्ग अवरुद्ध : गगने खाेलामा

Leave a comment

Your email address will not be published. Required fields are marked *