पुराना दलका सिद्धान्त, वर्तमानको निराशा र वैकल्पिक आशा : युवा आकर्षण राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ

✍️ अर्जुनप्रसाद शर्मा
वीरेन्द्रनगर १२, सुर्खेत
नेपालको राजनीतिक इतिहासमा कुनै समय त्यस्तो राजा पनि थिए जसले जनताको घरमा चुलो नबलेसम्म दरबारमा भान्सा नचलाउने गर्थे। त्यसरी नै बीपी कोइरालाजस्ता नेताले आफ्नै भान्सामा दुई भारी दाउरा बढी खर्च भए पछि छानबिन गर्ने संवेदनशीलता देखाएका थिए। बीपी कोइराला केवल प्रजातान्त्रिक मूल्यका साधक मात्र होइन, जनताप्रति जवाफदेहिता र पारदर्शिताका प्रतीक पनि थिए। यही कारण उहाँले प्रतिपादन गर्नुभएको विचारधारा प्रजातान्त्रिक र जनमुखी रह्यो।
तर बीपीको विचार बोकेको कांग्रेस दल कालान्तरमा जनतामुखी बाटोबाट विचलित हुँदै भ्रष्टाचार र अवसरवादको दलदलमा फस्यो। त्यसैगरी, जनताको बहुदलीय जनवाद (जबज) का प्रवर्तक मदन भण्डारीले नेपाललाई मात्र होइन, विश्वले स्वीकार्ने खालको सिद्धान्त प्रतिपादन गरेका थिए। त्यस्तै माओवादी आन्दोलन, प्रचण्डपथ र माओवाद पनि श्रमजीवी, दलित, उत्पीडित वर्गका लागि आवाज बन्यो। यी सबै विचारधारामा कुनै खराबी थिएन, दोष त तिनलाई बोकेर सत्ता सञ्चालन गर्ने नेतृत्वमा भयो। नेताहरूले सिद्धान्तको आत्मालाई व्यवहारमा उतार्ने सट्टा आफ्नै स्वार्थअनुसार राज्य सत्ता सञ्चालन गरे।
यही कारणले गर्दा जनताले अनुभव गरिरहेका छन् कि सिद्धान्त र नीति विचार असफल थिएनन्, असफल त कार्यान्वयनकर्ताहरू हुन्। बीपीवाद त्यति जनमुखी हुँदाहुँदै पनि कांग्रेस भ्रष्टाचारको दलदलमा फस्दा जनताले त्यसलाई कालो कांग्रेस या भ्रष्टाचारको साधक भन्न थाले। त्यसकै विकल्प खोज्दै त्यो पुस्ता कम्युनिष्ट विचारधारातर्फ लागे त्यस पुस्ता साक्षी हाम्रा बा हरु हुन । जबज यति उत्कृष्ट सिद्धान्त हुँदाहुँदै पनि विगत ३७ वर्षदेखि सत्तामा रहेका नेतृत्वले यसको मूल मन्त्रलाई कार्यान्वयन नगरेपछि जनता निराश भए।
यही निराशाले अब नयाँ पुस्तामा वा हाम्रो पुस्ता ले प्रश्न उठाएको छ – जबज, बीपीवाद वा माओवादका सिद्धान्त किन कार्यान्वयन भएनन्? कसको कारणले भएनन्? अनि जनता राजनीतिबाट दिग्दार भए भन्ने कुरा बुझ्न किन जरुरी भयो? यी सिद्धान्तहरूले कहिले पनि भ्रष्टाचार, नातावाद, कृपावाद, निरंकुशता र अन्यायलाई समर्थन गरेका थिएनन्। तर यिनै कुराहरू आज राजनीतिक अभ्यासमा संस्थागत भइसकेका छन्।
यसको परिणाम स्वरूप जनता अब सिद्धान्त भन्दा बढी न्याय, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता, सुशासन, विकास, रोजगार र आत्मसम्मान खोजिरहेका छन्। आफ्नो आपनत्वसहितको अधिकार र स्वस्थ प्रतिस्पर्धा खोजिरहेका छन्। प्रसिद्ध सिद्धान्तहरूको नाममा वर्षौँदेखि नाराबाजी, भाषण र कुटिल प्रबृत्तिबाट राजनीति खेलिँदै आएको छ तर देश भने बन्दैन भन्ने बुझाइ जनतामा बढेको छ।
सवाल उठ्छ – यी सबै सिद्धान्तको आडमा बसेका नेपालका राजनीतिक दलका मुख्य नेताहरू र दलहरू एकाएक कसरी नवधनाढ्य भए? कुन तरिकाबाट अवसर लिए? नातावाद र कृपावाद कसरी संस्थागत भयो? आज युवाले नेताहरूका भाषणमा विश्वास नगर्ने, विगत ३७ वर्षको सत्ता सञ्चालनलाई आलोचनात्मक दृष्टिले हेर्ने अवस्था आएको छ। यस्तो बेलामा पुराना दलका नेताहरूले “मिशन २०८४” को कुरा गर्दा जनतालाई लाजमर्दो लाग्नु अस्वाभाविक छैन।
यस्तो अवस्थामा अब परिवर्तन जबरजस्ती भए पनि आवश्यक भएको छ। नयाँ वैकल्पिक शक्ति आवश्यक भएको छ। यही वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदाउँदै छ। यस पार्टीले पारदर्शिता, जवाफदेहिता, आपनत्वसहितको प्रतिस्पर्धा, सुशासन र आत्मसम्मानलाई प्राथमिकतामा राखेको देखिन्छ। रास्वपाका मन्त्रीहरूले आफ्ना पालामा देखाएका कार्यशैली, परिवारवादभन्दा बाहिर बसेर गरेको काम, नीति निर्माणमा बौद्धिक अडान, प्रजातान्त्रिक रूपमा उम्मेदवार छनोट गर्ने अभ्यास आदिले जनतामा विश्वास जगाएको छ।
यही कारण आज युवाको जनलहर दिन दुईगुना, रात चौगुना यस पार्टीतर्फ बढिरहेको छ। पुराना दलमा बसेर अन्याय र भ्रष्टाचारको साक्षी बन्नुभन्दा नयाँ अध्याय सुरु गर्ने हो भन्ने भावनाले युवालाई रास्वपातर्फ तानिरहेको छ। बीपीवाद, जबज वा माओवादी विचारधाराका राम्रा अंशहरूलाई आत्मसात गर्दै रास्वपाले जनमुखी अभ्यासलाई कार्यान्वयन गर्ने क्षमता प्रदर्शन गर्न आवश्यक छ।
तर आलोचनात्मक प्रश्न यहाँ पनि छ – के एमाले, कांग्रेस, माओवादीमा रहेका नेताहरू आफ्ना सिद्धान्त अनुरूप चले? समानुपातिक सहभागिता के केवल आफ्ना श्रीमती, छोरी, ज्वाइँका लागि मात्र थियो? संसदका समानुपातिक सिटहरू पैसामा खरिद बिक्री भए कि भएनन्? सिमित मन्त्री र प्रधानमन्त्रीका लागि बजेट कसरी छुट्याइयो? व्यक्तिगत लाभका लागि सरकारी जग्गा कसरी पास गरियो? राष्ट्रिय गौरवका आयोजनाहरू ढिलो र भ्रष्टाचारले ग्रस्त किन भए? भारत वा विदेशीसँग असमान सम्झौता कसरी गरियो? महाकालीजस्ता स्रोतहरू बेच्ने निर्णय कसरी सम्भव भयो?
जनताले देखेका छन् – नेताहरू निजी स्वार्थका लागि एकजुट हुन्छन् र त्यही स्वार्थका कारण रातारात फुट्छन्, सरकार बदल्छन्। नीति र विधिका पक्षमा बोल्नेहरूलाई सजाय हुन्छ। उदाहरणका लागि सासद डा. सुनिल शर्माले आवाज उठाउँदा जेल जानुपर्यो। कुलमान घिसिङलाई हटाइयो। भुटानी शरणार्थी फाइल खुलेपछि २४ घण्टामै सरकार ढल्ने अवस्था आयो। पतञ्जली जग्गा प्रकरण बेचन झा पक्राउ, भुटानी प्रकरण को फाईल उजागर ,जन्मकैद भोगिरहेका अलाम को आम मफी भएपछि केही नेता भागाभाग भयो। तर गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई जस्ता नेतालाई जनताले चर्को स्वरमा बोल्ने भनेर चिने पनि जब ठूला मुद्दा खुले, उनीहरू मौन बस्न बाध्य भए।
यही कारण अब देशभक्त जोसुकै भए पनि चुप लाग्ने बेला छैन। सुशीला कार्की, सन्दुक रोहित, कुलमान घिसिङ, बालेन, हर्क, गोपी, रवि, प्रेम सन्जेल, इन्जिनियर, डाक्टर, पाइलट, पूर्वसैनिक, वकिल, कर्मचारी – सबै मिलेर देश बनाउनै पर्छ। युवाको जोश र अनुभवको ज्ञान मिसाएर मात्र समृद्धिको बाटो खुल्छ।
अब कुर्ने र हेर्ने समय सकिएको छ। पुराना दलमा अब सिद्धान्त अनुरूप काम हुने छैन भन्ने जनताले बुझिसकेका छन्। त्यसैले अन्याय र अत्याचारविरुद्ध आवाज उठाउनुपर्ने बेला आएको छ। परिवर्तन चाहने राजनीतिज्ञहरूले बुझ्नुपर्छ कि चुनाव अघिल्लो दिन रास्वपामा आएर भोलिपल्ट टिकट पाएर पर्सि पल्ट प्रतिनिधि बन्ने संस्कृतिले देश चल्दैन। यो भ्रम अब त्याग्नै पर्छ। राजनीति सस्तो अवसर होइन, गहिरो प्रतिबद्धता हो भन्ने बुझ्न आवश्यक छ।
आज परिस्थितिले बाध्य बनाएको छ कि दक्ष, ईमानदार र देशभक्त मानिसहरू राजनीति प्रवेश गरून्। अब युवाले परिवर्तनलाई टार्न सक्दैनन्। पुराना दलमा बस्नेहरू केवल साक्षी हुने मात्र हुन्, परिवर्तन गर्न सक्दैनन्। त्यसैले नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य छ। रास्वपाले जनतामुखी नियम, स्पष्ट कार्यक्रम, ठोस सिद्धान्त र नीति दस्तावेज छिट्टै ल्याउनुपर्ने अपेक्षा छ।
निष्कर्षमा भन्नुपर्दा, नेपालमा बीपीवाद, जबज वा माओवादी विचारधाराले दिएको मूल्य अझै सान्दर्भिक छन् तर तिनलाई कार्यान्वयन गर्ने नेतृत्व असफल भयो। यही असफलताले नयाँ पुस्तालाई निराश मात्र गरेन, वैकल्पिक बाटोतर्फ धकेल्यो। आज राष्ट्रिय स्वतन्त्र पार्टी युवा पुस्ताको आकर्षणको केन्द्र बन्दै गएको छ। पुराना सिद्धान्तका राम्रा अंशलाई आत्मसात गर्दै नयाँ अभ्यासलाई संस्थागत गर्न सक्ने क्षमता देखाएको छ। अब समय आएको छ – चुप लाग्ने होइन, उठ्ने। कुर्ने होइन, काम गर्ने। नयाँ अध्याय नयाँ पुस्ताबाटै सुरु हुने हो।
( लेखक अन्याय र भ्रष्टाचारका विरुद्धमा खरो आवाज उठाउने अभियायन्ता हुन्।)






