भारतबाट आयातित औलोको प्रकोप बाँकेमा बढ्दै

बाँके, ३० साउन ।
बाँकेमा पछिल्लो समय औलो (मलेरिया)का आयातित केसहरू बढ्दै गएका छन् । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमका अनुसार सबैभन्दा धेरै केसहरूको स्रोत भारत हो, विशेषगरी मुम्बई, चोरबजार, बढीमहला र भेन्डीबजारबाट आएका बिरामीहरूमा औलो पाइएको छ ।
सबैभन्दा बढी असर बाँकेको नरैनापुरमा परेको छ । आर्थिक वर्ष २०८१–८२ मा नरैनापुरमा मात्र १८५ जना बिरामी फेला परेका छन्, जुन अघिल्लो वर्षको १३२ भन्दा ५३ ले बढी हो । यस वर्ष वडा नं. २ र ३ बढी प्रभावित रहेका छन् ।
जिल्लाभरका तथ्यांक हेर्दा २०८०–८१ मा १६० केस रहेका भए पनि २०८१–८२ मा २६४ केस पुगेका छन् । यो अघिल्लो वर्षको तुलनामा १०४ ले बढी हो । यस अवधिमा बाँकेका सबै पालिकामा औलोका बिरामी देखिएका छन् । विशेषगरी कोहलपुर, नेपालगञ्ज र राप्तीसोनारीमा केस दोगुना बढेका छन् ।
नेपालले सन् २०२५ सम्ममा स्थानीय औलो शून्यमा पुर्याउने लक्ष्य राखे पनि बाँकेमा यो चुनौतीपूर्ण देखिएको छ। अघिल्लो आर्थिक वर्षमा डुडुवामा एक पुरुषको मृत्यु भइसकेको छ भने २६४ नयाँ केसमध्ये १० स्थानीय केस रहेका छन् ।
गौतमका अनुसार बिरामीहरूले सुरुवाती चरणमै सरकारी स्वास्थ्य संस्थामा नआउनु, निजी क्लिनिकमा आफूखुसी जाँच गराउनु र ढिला परीक्षण गराउनु औलो नियन्त्रणमा मुख्य बाधक बनेका छन् । औलो रोकथामका लागि खोजपड्ताल, विषादीयुक्त झुल वितरण, समुदायस्तरमा विषादी छर्किनेजस्ता कार्यक्रम सञ्चालन भइरहेको छ ।
विशेषज्ञहरूका अनुसार गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगी तथा क्रोनिक डिजिजका बिरामीहरू बढी जोखिममा छन् । औलोबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, राति सुत्दा झुल प्रयोग गर्ने र शंकास्पद लक्षण देखिए तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने सुझाव दिइएको छ ।






