मिरा पन्त : जसले ‘महिलाले सक्दैनन्‌’ भन्ने सोच तोड्दैछिन्‌

सुर्खेत, २९ साउन । महिलाले सक्दैनन्‌’ भन्ने पुरातनवादी मानसिकताबाट ग्रसित छ, नेपाली समाज । चाहे गाउँ होस् या सहरी क्षेत्र । महिलाले कुनै अवसर मागे उनीहरुलाई ‘असक्षमताको बिल्ला’ भिराउने प्रवृत्ति छ । तर ‘अवसर दिए काम गरेर देखाउन सक्छु, म पनि सक्षम छु’ भन्ने उदाहरण पेश गरेकी छिन्, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ की सदस्य मिरा पन्तले ।२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी मिराले राजनीतिमा पनि अवसर पाए महिलाले काम गरेर देखाउन सक्छन् भन्ने नजिर स्थापित गरेकी छन् । त्यसको मापन उनको काम गर्ने शैली, स्वभाव, जनताको काममा सर्मपित भएर लाग्ने दृढताले पुष्टि गरेको छ । जतिबेला पनि वडा कार्यालय र जनताकै माझमा भेटिन्छिन् उनी ।

पार्टी राजनीतिमा आउनुपूर्व शिक्षण पेशामा संलग्न थिइन, मीरा ।उनीसँग शिक्षा क्याम्पस, जन मावि, इत्राम स्कुल लगायतका शैक्षिक संस्थामा लामो समय शिक्षण गरेको अनुभव छ । वडा सदस्यमा निर्वाचित भएपछि पनि शिक्षण पेशालाई निरन्तरता दिएकी उनले गत असारबाट भने यो पेशालाई थाति राखेकी छन् । लामो समय शिक्षण पेशाबाट राजनीतिमार्फत समाजसेवा रोजेकी उनी अहिले कुशल जनप्रतिनिधिका रुपमा उदाएकी छिन् । शिक्षा संकायमा स्नाकोत्तर र कानुन संकायमा एलएलबी तहसम्मको अध्ययन पुरा गरेकी मिरा नेपाल महिला संघको वडा र नगर सचिव भएर सक्रिय राजनीतिक यात्रा सुरु गरिन् ।विद्यार्थीकालमा भने नेविसंघमा संगठित थिइन् । ‘बाल्यकालदेखि नै समाज परिवर्तन हुनुपर्छ भन्ने मेरो अन्तर मनमा लाग्थ्यो, उनी भन्छिन्, ‘समाजका हरेक पक्षमा रुपान्तरण आउनुपर्छ भन्ने लाग्थ्यो । अझ त्यसमा पनि महिला र पुरुषमा कामका हिसावले विभेद हुनु हुँदैन, समान हुनुपर्छ भन्ने मान्यता म सानैदेखि राख्थँे यसले मलाई राजनीतिमा आउन प्रेरणा मिल्यो ।’ विद्यार्थी जीवनपछि उनी केही वर्ष पारिवारिक काममै समय बिताइन् । छोराछोरी हुर्केपछि शिक्षण पेशालाई निरन्तरता दिइन ।

सबै नेता खराब छैनन्

२०७९ अघि मिरालाई एउटा विषयले पोलिरहन्थ्यो । ‘राज्य संरचना भित्र जुन वितृष्णा छ नि ! अहिले सबै भ्रष्ट छन्, नेताहरुले गर्ने काम सबै खराब छन् भन्ने खालको मानसिकता थियो, म त्यसलाई नजिकबाट बुझ्‌न चाहन्थे,’ उनी भन्छिन्, ‘मलाई के लाग्थ्यो भने राज्य संरचना भित्र वास्तविकरुपमा समस्या के छ ? हामीले सोचे जस्तै समस्या छ या योभन्दा फरक छ भनेर बुझ्‌न मलाई राजनीतिमा आउन मन थियो ।’ उनलाई नेतृत्व बुझ्‌नु पनि थियो ।यहीँ नेतृत्वलाई बुझ्‌न २०७९ मा उनले वडा सदस्यको रुपमा उम्मेदवार बन्ने घोषणा गरिन । उनको पूर्वघोषणालाई पार्टीले समेत साथ दियो । उनी अन्ततः चुनावबाट जनताको प्रतिनिधि बन्न सफल भइन ।

उनलाई चुनाव जित्न चुनौति थियो । चुनाव जितेपछि उनलाई लाग्यो आमरुपमा सोचे जस्तो राज्यको संरचनामा आउने नेतृत्वहरु खराब रहेनछन्  । तर, केही मानिसहरुले गर्दा पार्टीहरु प्रति जनतामा वितृष्णा बढेको भने उनले जनप्रतिनिधि हुँदै गर्दा महसुस गरिरहकी छन् । उनलाई लाग्छ, ‘राजनीति भनेको देशको मुल नीति हो । राज्य कस्तो बनाउँने ? राज्यको विकास कस्तो हुने ? समावेशी लगायतका हरेक पक्षहरु राजनीतिमै निर्भर हुन्छन् । हामीले जति नै कुरा गरेपनि राजनीतिलाई पर राखेर सम्भव छैन ।’ यसै कारण महिलाहरु राजनीतिमा आउनुपर्छ ।  महिलालाई अवसर नदिई उनीहरुको क्षमता मापन नहुने विचार उनको छ । राजनीतिमा मिराले परिवारबाट  पनि उत्तिकै साथ पाएकी छिन् । निर्वाचित भएर ६ नम्बर वडा कार्यालयमा प्रवेश गरेपछि यो पार्टी वा त्यो पार्टी भनेर पक्षधरताको अन्त्य गरेकी छन् ।

वडा कार्यालयमा आउने सेवाग्राहीका बिच सरकारको प्रतिनिधि भएर उभिनु नै उनको परिचय बनेको छ ।‘म निर्वाचित भएर आएपछि मैले जनताको पक्षमा काम गरेको छुँ,’ उनी भन्छिन्, ‘काम गर्ने क्रममा मलाई यो पार्टी वा त्यो पार्टी भन्ने लाग्दैन । नेपाल सरकारको प्रतिनिधि हुँ, सरकारले जे जिम्मेवारी दिएको छ त्यसै अनुरुप काम गर्नुपर्छ भन्ने मान्यता राख्छु ।’ आफूले गर्नुपर्ने काममा अन्याय गर्नु हुँदैन, सरकारले नागरिकलाई काखा र पाखा गर्नु हुँदैन भनेर उनले प्रष्ट बुझेकी छन् ।वडा सदस्य निर्वाचित भएपछि खास जनताका आवश्यकता र समस्या बुझेपछि आफ्‌नो जिम्मेवारीमा तलमाथि गर्नुहुँदैन भन्ने उनले सिकेकी छन् । जनताको राज्यप्रतिको अपेक्षा र दायित्वलाई मसिनो गरी बुझ्‌ने अवसर पाएकी उनले विपन्नका मुद्दालाई राज्यका हरेक निकायले पहिलो प्राथमिकतामा राख्नुपर्ने ठान्छिन् । समुदायस्तरमा आउने समस्या समाधानमा अग्रसर हुन्छिन् ।

नागरिकता र जन्मदर्ताको समस्या समाधानमा उनको बढी चासो छ । महिलाको प्रजनन् स्वास्थ्य सुधारका क्षेत्रमा उनले बढी चासो दिएकी छन् ।महिला लक्षित सीपमुलक, कानूनी सचेतना, स्वास्थ्य शिविरका धेरै कार्यक्रम आएपछि सञ्चालन भएका छन् । द एसिया फाउण्डेशनको सहयोगमा दलित महिला केन्द्र नेपालद्वारा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमले उनको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुर्‍याएको छ । उनले थुपै्रपटक तालिम, गोष्ठी र भ्रमणहरुमा भाग लिने अवसर पाइन । जसले सार्वजनिक गुनासोको सम्बोधन गर्ने, बोल्नेकलादेखि विवाद समाधानका हरेक उपाय उनले यो कार्यक्रमबाटै सिकेकी हुन् ।महिला भएकै कारण वडाध्यक्षबाट कुनै विभेद भोग्नुपरेको छैन् उनलाई । चित्त नबुझेको कुरा वडाध्यक्ष समक्ष ढुक्कसँग राख्ने राजनीतिक चरित्र छ उनमा । न कि यसले जनप्रतिनिधि बिच मदभेद सिर्जना होस् । ‘महिला जनप्रतिनिधि भएकै कारण कार्यस्थलमा मैले त्यस्तो फरक व्यवहार भोग्नुपरेको महशुस गरेको छैन,’ उनले भनिन् ।वडाको सामाजिक क्षेत्रमा कार्यक्रम तय गर्ने, सञ्चालन गर्नेदेखि यस क्षेत्रमा कस्ता कामहरु गर्ने भन्ने विषयका एजेण्डाहरु मिराकै नेतृत्वमा हुन्छन् । वडाध्यक्ष जनक रावलले पनि मिराको सक्रियता, जनताको सेवामा सर्मपित हुने भावनाबाट प्रभावित छन् ।

मिरा लगायतका वडा सदस्यहरुले राखेको प्रस्तावमा उनले सहजै स्वीकार गरिदिन्छन् । उनीहरुलाई काममा प्रेरणा मिलोस भनेर मैंले उत्प्रेरणा दिन्छु, सबै गतिविधिमा उहाँको सक्रिय सहभागिता रहन्छ, रावल भन्छन्, महिला जनप्रतिनिधिलाई प्राथमिकतामा राखेर नीति निर्माणदेखि सार्वजनिक कामहरु गर्दै आएको छु, जसबाट  उहाँहरुले सिक्ने अवसर प्राप्त गर्नुहुन्छ ।’

‘पार्टीले अवसर दिए कार्यकारी पदमा लड्न तयार छु’

मिरा हाल वडा सदस्यसँगै कांग्रेसको जिल्ला प्रशिक्षण समितिको सदस्य र वीरेन्द्रनगर नगरपालिकाको न्यायिक समितिको सदस्यमा भूमिका छिन् । अब उनी पार्टीले जुनसुकै तहमा जिम्मेवारी दिएपनि नेतृत्व गर्न सक्षम रहेको बताउँछिन् ।वडा सदस्यमै सीमित रहने की अघि बढ्ने भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मेरो अन्तर मनको लक्ष्य उप–प्रमुख हो, भएन भने वडाध्यक्ष पनि हो । हेरौं त्यो बेलासम्म कस्तो माहोल बन्छ ।’ तर, पार्टीको निर्णयलाई सिरोधार्य गर्ने नीति उनमा छ । पार्टीले टिकट दिएको खण्डमा उप–प्रमुखको भूमिकामा जनताको सेवा गर्ने दृढ इच्छा सुनाउँछिन् ।

उनले वडा सदस्यको टिकट पाउन खासै मेहनत गर्नुपरेन । पार्टीका जनसंगठनहरुमा देखाएको क्षमताको आधारमा सजिलै टिकट पाएकी थिइन । टिकट लिँदा दोस्रो पटक सोही पदमा नदोहोरिने प्रणसमेत गरेकी छन् । भन्छिन्, ‘वडा सदस्यमा निर्वाचित भइसकेपछि नेतृत्व र व्यक्तित्वको तह बढेको महसुस गरेकी छु । यसकारण पनि कार्यकारी पदमा रहेर जनताको सेवा गर्ने इच्छा छ ।

मिरा पन्त : जसले ‘महिलाले सक्दैनन्‌’ भन्ने सोच तोड्दैछिन्‌

’३१ औं वर्षमा स्याक नेपाल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds