बाँकेमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद

बाँके, २६ मंसिर ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले कात्तिक २३ गतेदेखि सुरु गरेको धान खरिद कार्यक्रमअन्तर्गत हालसम्म बाँकेका किसानसँग करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका सूचना अधिकारी शिवराज घिमिरेका अनुसार अहिलेसम्म कुल १४ हजार ९३२.२० क्विन्टल धान खरिद भएको छ ।
कम्पनीले जिल्लाका ३९७ किसानबाट ९ हजार ९३२.५० क्विन्टल मोटो धान तथा ४ हजार ९९९.७० क्विन्टल मध्यम धान गरी कुल १४ हजार ९३२.२० क्विन्टल धान खरिद गरिसकेको जानकारी दिएको छ । बाँकेका लागि तोकिएको ५ हजार क्विन्टल मध्यम धानको कोटा पूरा भइसकेकाले अब शेष अवधि मोटो धान मात्रै खरिद गरिने कम्पनीले जनाएको छ ।
नेपालगन्जका लागि यो वर्ष २० हजार क्विन्टल कोटा निर्धारण भएको छ । यसअनुसार अहिले करिब ५ हजार क्विन्टल धान खरिद गर्न बाँकी रहेको कम्पनीले जनाएको छ । धान बिक्रीका लागि ६२५ किसानले सिफारिस दिए पनि अहिलेसम्म ३९७ किसानले मात्रै धान बिक्री गर्न सकेका छन् । कोटा सकिनु नजिकै पुगेकाले अब बाँकी किसानले धान बिक्रीमा चुनौती सामना गर्नु पर्ने भएको छ ।
कोटा वृद्धि गर्न केन्द्रमा गरिएको अनुरोध अस्वीकार भएपछि यो वर्ष कोटा नबढ्ने पक्का भएको कम्पनीले जानकारी दिएको छ । उता, जिल्लामा धान उत्पादन अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको हुँदा किसानले तोकिएको कोटा अत्यन्त कम भएको गुनासो व्यक्त गरेका छन् । गत वर्षभन्दा झनै आधा कोटा निर्धारण गरिएकोमा किसान असन्तुष्ट देखिएका छन् ।
बाँके डुडुवा–३ का किसान नरेश मौर्यले उत्पादन राम्रो भए पनि खाद्य व्यवस्था कम्पनीले कम मात्रामा धान खरिद गर्दा किसान समस्यामा परेको बताए । बजारमा व्यापारीहरूले सरकारले तोकेको मूल्यभन्दा करिब एक हजार रुपैयाँ कममा धान किन्न खोजेकाले किसान थप संकटमा परेका छन् ।
सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा तथा मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । तर, कोटा सीमित हुँदा किसानले सरकारी मूल्यमा धान बिक्री गर्ने अवसर गुमाउँदै गएको पाइन्छ ।


