बाँकेमा प्रहरीको दुई अलग कारबाही — अवैध सामानसहित एक पक्राउ, फरार अभियुक्तसमेत समातिए

बाँके ,२१ असोज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दुई फरक कारबाहीमा अवैध सामानसहित एक व्यक्तिलाई पक्राउ गरी भन्सार पठाएको छ भने फरार अभियुक्तलाई समेत नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नेपालगञ्ज उप–महानगरपालिका–१४ स्थित क्षेत्रमा भन्सार छलि ल्याइएका कपडासहित एक जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाबाट कुर्ता सुरुवाल १२ पिस, लेडिज लुङ्गी ८८ पिस र एक मोटरसाइकल सहित करिब रु. १ लाख २५ हजार ६ सय बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद सामान र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
यस्तै, अर्को कारबाहीमा कोहलपुर नगरपालिका–१० चट्टार बस्ने १८ वर्षीय पुरन थारुलाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले २०७८ साल फागुन २४ गते (२०८०।११।२४) ३ महिना ९ दिन कैद र रु. ३,३३४ जरिवानाको फैसला गरेको थियो। लामो समयदेखि फरार रहेका थारु अखेर प्रहरीले नियन्त्रणमा लिएको हो।
उक्त दुबै घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीले भने,
“कानून विपरीतका गतिविधिमा संलग्न जो कोही पनि उम्कन पाउँदैन। प्रहरीले निरन्तर निगरानी र कारबाही जारी राखेको छ।”
प्रहरीका अनुसार बाँकेमा हालै तस्करी र फरार अभियुक्त नियन्त्रणमा लिने अभियानलाई थप प्रभावकारी बनाइएको छ।





