दुर्गमका विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालन

सिंजा क्षेत्रका चौध वटा विद्यालयमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । जुम्लाको सिंजा गाउँपालिका भित्रका ६ वटा,हिमा गाउँपालिको एक र जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सात वटा विद्यालय विज्ञान प्रयोगशाला सञ्चालन छन् । विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि विज्ञान विषयको पठनपाठन निकै सहज बनेको छ ।
सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले भने सिंजा –२ मा रहेको मावि चुलेलगाउँ र –५ वडामा रहेको कैलाश मावि फुङ्ग्र,–६ वडाको मावि जोडु,३ नम्बरको भैरव मावि नराकोट,मालिका मावि थापा र ३ नम्बर वडाको मावि गोठिपीगी विद्यालय हुन् । हिमाको गाउँपालिका –१ मा रहेको कालिका मावि बड्कीमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
यता कनकासुन्दरी गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन बहादुर रोकाया अनुसार कनकासुन्दरी गाउँपालिकाभित्र पर्ने १ वडाको महादेव मावि काभ्रा , २ वडाको नेपाल राष्ट्रिय मावि बोतामालिका, वडाको ३ मावि बुडु चौतारा र कोईलिचरि मावि लुम ५ नम्बर वडाको कनकासुन्दरी मावि लुड्कु यस्तै ८ नम्बर वडाको पाण्डवगुफा मावि कोटघर र मालिका मावि खिच्चनेमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।
शिक्षा शाखा प्रमुख जीवन बहादुर रोकायाले भने, ‘विज्ञान प्रयोगशाला स्थापना गर्न प्रति विद्यालयमा ६ लाख ५० हजार रुपैयाँ छुट्टयाइएको छ ।’ यस्तै पाण्डवगुफा माध्यमिक विद्यालयका प्रधानाध्यापक हस्तबहादुर भण्डारीले विज्ञान प्रयोगशालाबाट सिकाइ उपलब्धिमा सहयोग मिलेको बताए । उनले भने, ‘पहिले विद्यालयमा विज्ञानको सैद्धान्तिक कक्षमात्र लिइरहेका विद्यार्थीहरु अहिले प्रयोगशालामा व्यवहारिक कक्षसमेत लिइरहेका छन् । यो हरेक विद्यालय र विद्यार्थीका लागि सुखद् कार्य हो ।’
विज्ञान विषय लिएर उच्च शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि सुनौलो अवसरसमेत ह।कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले गाउँ पालिकाभित्र रहेका सातवटै विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना भइसकेको बताए । उनले भने, ‘अब कुनै पनि विद्यार्थी विज्ञान विषयको व्यवहारिक कक्ष लिन पाइएन भन्दै गुनासो गर्न पाइनेछैन । ’अध्यक्ष आचार्यले गुणस्तरीय,सीपमुलक र व्यवहारीक शिक्षा व्यवस्थापन गर्ने, नैतिक प्राविधिक, व्यवहारिक, व्यावसायिक र प्रयोगात्मक शिक्षा सञ्चालन गर्ने, प्रविधिमैत्री शिक्षक र विद्यार्थी उत्पादनमा जोड दिने कार्यमा जोड दिएको बताए ।प्रयोगशाला स्थापनाले शिक्षक, विद्यार्थी र अभिभावकमा हौसला थपिएको छ ।
अध्यक्ष आचार्यले थपे, ‘विद्यार्थीले रटन्ते शिक्षामात्र आर्जन गरेर बेरोजगारी जनशक्ति उत्पादन गर्नेभन्दा प्रयोगात्मक कार्य गरेर सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिइएको अवस्था छ ।’ कनकासुन्दरी–८ मा पर्ने कोटघर माध्यमिक विद्यालयमा कक्षा ८,९ र १० का २ सय ४ जना विद्यार्थीले प्रयोगशालाबाट सिकाइ उपलब्धि हासिल गरिरहेका छन् । प्रधानाध्यापक भण्डारीले प्रयोगशाला स्थापनाले उच्च शिक्षामा विज्ञान पढ्न चाहने विद्यार्थीका लागि हौसला प्रदान भइरहेको बताए ।
गाउँपालिकाले हरेक विद्यालयमा अनुगमन गर्दा विज्ञान विषयको प्रयोगशाला नहुँदा समस्या भइरहेको शिक्षक विद्यार्थीले गुनासो गरेका थिए । ‘प्रयोगशाला सुरु त भए,’ अध्यक्ष आचार्यले भने, ‘अब प्रयोगमा आइरहेका छन् या थन्किएका छन् । पटकपटक अनुगमन हुन्छ ।’ यता जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कनकासुन्दरीले मावितहका विद्यालयमा प्रयोगशाला सञ्चालनमा ल्याउन सक्नुले शिक्षामा सकारात्मक सन्देश फैलाइरहेको बताए । उनले प्रयोगशालामा प्रयोग हुने सामानहरुको सही र सुरक्षित प्रयोग गर्नसमेत आग्रह गरे । विज्ञान प्रयोगशालाको सामान खरिद गर्न दातृ निकायले साथ दिएको गाउँपालिका अध्यक्ष आचार्यले बताए ।






