जीवनज्योती स्कुलमा अभिभावक दिवस सम्पन्न : ‘बालबालिकाको सर्वाङ्गीण विकासमा घर–स्कुलको हातेमालो अपरिहार्य’

बाँके ,२१ मंसिर ।
कोहलपुर–१० रामनगरमा अवस्थित जीवनज्योती स्कुलले आज कक्षा एलकेजी र एक कक्षाका बालबालिकाका अभिभावक सहभागी भएको अभिभावक दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बिशिष्ट अतिथी सिलास बोगटीले बालबालिकाको हरेक आवश्यकतामा अभिभावक र शिक्षक दुवैको भूमिकामा बराबरी योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले“नानी–बाबुका मनस्थिति बुझ्दै, प्रेमपूर्वक सम्झाई–बुझाई अघि बढाउन अभिभावकले विशेष ध्यान दिनु पर्ने बताउनुभयो।
बोगटीले शिक्षा केवल स्कुलको चारकोठाभित्र सीमित नरही घरमा पनि निरन्तरता पाउनुपर्नेमा जोड दिनुभयो। “घर–स्कुलबीचको सहकार्य जित्ने माध्यम नै सफल शिक्षण प्रक्रिया हो भन्नुभयो।

यस्तै विद्यालयका प्रिन्सिपल फादर जोमन जेम्सले जीवनज्योती स्कुलले छोटो समयमै शैक्षिक क्षेत्रमा गरेको प्रगति अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको सामूहिक प्रयासको नतिजा भएको बताउनुभयो।

“बालबालिका काँचो माटो जस्तै हुन्। पहिलो विद्यालय घर हो र त्यसपछि मात्रै स्कुलको भूमिका आउँछ,” उहाँले भन्नुभयो।
जेम्सले अभिभावकलाई बालबालिकाको भविष्य स्कुलकै भरमा छोडेर खेलवाड नगर्न आग्रह गर्दै घरमै अनुशासन, संस्कार र व्यवहार सिकाउने वातावरण बनाउन अनुरोध गर्नुभयो। उहाँले विद्यालयले आगामी दिनमा अझ व्यवहारिक, जीवन–उपयोगी तथा गुणस्तरीय शिक्षा लागू गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाले अभिभावक दिवस कार्यक्रमले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुद बनाउने बताउनुभयो।
“बालबालिकाको पहिलो शिक्षा घरबाटै सुरु हुन्छ, दोस्रो शिक्षा स्कुल हो। त्यसैले अभिभावकले व्यवहारिक शिक्षा र आत्मनिर्भर बन्ने बानी घरमै विकास गरिदिनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले बालबालिकालाई सबै धर्म–समुदायको संस्कृतिको सम्मान गर्न सिकाउनुपर्नेमा जोड दिनुभयो।
“स्वस्थ जीवन बिना कुनै पनि शिक्षा प्रभावकारी हुँदैन, त्यसैले घर–परिवारको भूमिका अझ महत्त्वपूर्ण छ,” उहाँले थप्नुभयो।
केसीले जीवनज्योती स्कुललाई बालबालिकाको ‘सपना पुरा हुने विद्यालय’ भन्दै शिक्षा क्षेत्रलाई शैक्षिक हबका रूपमा विकसित गर्न आफू निरन्तर साथ दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले विद्यालयले छोटो समयमै शिक्षा क्षेत्रमा देखाएको उचाइ प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
“फादर जोमन जेम्सको अथक परिश्रम र व्यवस्थापनको दूरदृष्टिका कारण आज जीवनज्योती स्कुलले अभिभावक र सामुदायिक विश्वास जितेको छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा अभिभावक संघका अध्यक्ष फुलाराम थारु, विद्यालय व्यवस्थापन समितिका सदस्य चण्डीप्रसाद गैरे, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।
अभिभावक दिवसको अवसरमा विद्यालयमा शैक्षिक गुणस्तर, घर–स्कुल सहकार्य, बाल–अधिकार, व्यवहारिक शिक्षा तथा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण विषयमा अभिभावकलाई जानकारीमूलक सन्देश दिदै विभिन्न समुदायको सस्कृती झल्किने सास्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन समेत गराइएको थियो।








