आठौँ मेयर कप राष्ट्रिय साइकल दौडमा अच्युत कृष्ण खरेल च्याम्पियन
बाँके ,२१ मंसिर ।
आठौँ मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगितामा काभ्रेका अच्युत कृष्ण खरेलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेका छन्। एमटिबी पुरुष ३६ किलोमिटर दूरी १ घण्टा २ मिनेट ४० सेकेण्डमा पूरा गर्दै खरेलले उपाधिसहित नगद २५ हजार रुपैयाँ हात पारे।
खरेललाई कडा चुनौती दिएका नेपाल आर्मीका मुकेश थारुले १ घण्टा २ मिनेट ५७ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरे। उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। त्यस्तै, बाँकेका देब बोहोराले तेस्रो स्थान हासिल गर्दै १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
एमटिबी भेट्रान २५ किलोमिटरतर्फ बाँकेका दिपक मल्ल पहिलो भए भने अशोक दीक्षित दोस्रो र थोमेश बहादुर बोहरा तेस्रो भए। उनीहरूले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

एमटिबी महिला १६ किलोमिटरमा पनि स्थानीय खेलाडीहरूको उत्कृष्ट उपस्थिति देखियो। बाँकेकी एसी श्रेष्ठ पहिलो, सिता कार्की दोस्रो र बर्दियाकी निशा थारु तेस्रो बने। श्रेष्ठ, कार्की र थारुले क्रमशः २० हजार, १० हजार र ७ हजार रुपैयाँ जिते।
साधारण साइकल पुरुष २५ किलोमिटरमा बाँकेका विनोद यादव विजेता बने। जुगल थारु दोस्रो र लिखन प्रसाद थारु तेस्रो भए। उनीहरूले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ हात पारे। साधारण साइकल महिला १६ किलोमिटरमा सुमन बर्मा पहिलो, समिता थारु दोस्रो र मिना कुमारी थारु तेस्रो भई सोही पुरस्कार प्राप्त गरे।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन कार्यवाहक नगर प्रमुख कमरुद्दिन राईले गरे। कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, नेपालगञ्ज–१२ का वडा अध्यक्ष तरुण बज्राचार्य, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायत सहभागी थिए।
कार्यक्रममा संयोजक तथा क्लबका उपाध्यक्ष ओबिराम बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने क्लब अध्यक्ष प्रदीप सापकोटाले साइकल खेल र साइकल संस्कृतिको विकासका लागि क्लबले आठ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको बताए।
प्रतियोगिता नेपालगञ्जको विपी चोकबाट सुरु भई धम्बोजी, राँझा, हवलदारपुर, कोहलपुर हुँदै पुनः विपी चोकमै आएर सम्पन्न भयो। विजेता खेलाडीलाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।




