कानूनले अपराध मान्छ तर रोकिँदैन बालविवाह बालविवाह अन्त्यको कदम खोज्दै मानवअधिकार आयोग

ओम शाही

सुर्खेत, २१ कार्तिक ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले २० वर्ष उमेर नपुगी गरिएको विवाहलाई गैरकानुनी मान्छ । कानुनतः त्यस्तो विवाह स्वतः बदर हुने प्रावधान छ । नेपाल सरकारले बालविवाह न्यूनीकरणका लागि मुलुकी अपराध संहिता २०७४ मा गरिएको सजाएको व्यवस्था, बालवालिका सम्बन्धी ऐन २०७५ मा गरिएको अधिकारको सुनिश्चित, बालअधिकार सम्बन्धि महासन्धि १९८९ र महिलामाथि हुने सबै प्रकार विभेदहरूको अन्त्य गर्ने महासन्धि १९७९ लाई अनुमोदन गरी कार्यान्वयन गर्ने प्रयत्न गरिरहेको छ ।

बालविवाहलाई सन् २०३० सम्म बालविवाह अन्त्यको लक्ष्य सरकारको छ । यही लक्ष्य बमोजिम सरकारले वर्षेनी ठुलो लगानी गर्दै आएको छ । तर, सरकारी लगानी भने बालुवामा पानी सरह भइरहेको छ । बालविवाहलाई कानुनले अपराध मान्छ, यसको न्यूनिकरणमा व्यापक कार्यक्रम लागु भएका छन् । बिडम्बना बालविवाहको ग्राफ भने डर लाग्दो छ । सरकारले कानुन नै बनाएर बालविवाह अन्त्यको रणनीति अपनाइ रहदा न्यूनिकरण हुन नसकेको बालविवाहका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन थालेको छ ।

आयोगद्वारा गठित बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ टोलीले कर्णाली प्रदेशबाट छलफल सुरु गरेको छ । जाँचबुझ टोलीले  प्रारम्भिक चरणमा कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाका सरोकारवालासँग छलफल गरेको छ । आयोगले कर्णालीमा विद्यमान बालविवाहको अवस्था र यसको अन्त्यका लागि चाल्नुपर्ने कदमबारे समिक्षा गर्दै वीरेन्द्रनगरमा छलफल कार्यक्रम सम्पन्न गरेको हो । आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित नेपालमा बालविवाह सम्बन्धी राष्ट्रिय जाँचबुझ टोलीले बालविवाहको विषयमा अध्ययन गरी बालविवाहको भित्री कारणसहितको सरकारलाई विस्तृत रूपमा सिफारिससहितको निर्देशन र सिफारिस  बुझाउने तयारी गरेको छ ।

कर्णाली प्रदेशबाट छलफल सुरुवात भएको यस विषयमा सबै प्रदेशमा छलफलको आयोजना गरिएको आयोगले जनाएको छ । नेपालको संविधान बमोजिम मानव अधिकारको सम्मान, संरक्षण र सम्बद्र्धन तथा त्यसको प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्नुका साथै नेपाल सरकारले, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा जनाएको प्रतिबद्धता अनुसार सोको कार्यान्वयन अवस्थाको समेत अनुगमन गर्नु राष्ट्रिय मानव अधिकार आयोगको काम र कर्तव्य कार्यान्वयन गर्ने सिलसिलामा जाँचबुझ टोली गठन गरिएको राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेशका प्रमुख रमेशकुमार थापाले बताए ।

यस्तो छ कर्णालीमा बालविवाहको तथ्यांक 

कर्णालीमा बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले भने सहजै स्वीकार्ने गरेका सरकारी आँकडाले नै देखाउँछन् । कर्णालीमा अझै पनि ४३ दशमलव ६ प्रतिशतले २० वर्ष नपुग्दै बिहे गर्ने गरेको तथ्यांकले देखाउँछ । तीमध्ये ५५ दशमलव  ६ प्रतिशत किशोरी र २९ दशमलव दुई प्रतिशत किशोर रहेको भर्खरै राष्ट्रिय जनगणना २०७८ को बालबालिकासम्बन्धी सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेशको १० वटै जिल्लामा बालविवाहको दर १० प्रतिशतभन्दा माथि छ । यसमा सबैभन्दा धेरै बालविवाह सल्यानमा भइरहेको छ । कर्णालीमा बालविवाह गर्नेमा पुरुषभन्दा महिला धेरै छन् । सल्यानमा २४ दशमलव  तीन प्रतिशतले उमेर नपुग्दै वालविवाह गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्यांकले देखाउँछ । जसमा पुरुष ११ दशमलव नौ प्रतिशत छन् भने महिलाको संख्या ३४ दशमलव सात प्रतिश छ ।

जिल्लागत तथ्यांक हेर्ने होे भने सल्यानपछि रुकुम पश्चिममा बालविवाह धेरै हुने गरेको छ । यस जिल्लाको बालविवाहको दर २३ दशमलव सात प्रतिशत रहँदा पुरुष १२ दशमलव चार र महिला ३२ दशमलव आठ प्रतिशत छन् । यस्तै, बालविवाह धेरै हुने जिल्लामा तेस्रो स्थानमा छ जाजरकोट । जाजरकोटमा कुल २२ दशमलव एक प्रतिशतले उमेर नपुग्दै बालविवाह गर्ने गरेका छन् ।

जसमा पुरुष १० दशमलव नौ प्रतिशत र महिला ३२ दशमलव चार प्रतिशत छन् । बालविवाह हुने चौथों जिल्लामा परेको छ मुगु । मुगुमा २० दशमलव दुई प्रतिशत बालविवाहको दर रहँदा ११ दशमलव चार पुरुष र २८ दशमलव एक प्रतिशत महिलाले उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्यांकले देखाउँछ । यस्तै बालविवाह धेरै हुने जिल्लामा सुर्खेत पाँचौं स्थानमा पर्दछ । प्रदेश राजधानी रहेको जिल्लामै बालविवाहको तथ्यांक डरलाग्दोे छ । यहाँ विभिन्न अधिकारकर्मी संघसंस्थाले बालविवाह रोक्ने अभियान नै थालेको भए पनि ती सबै झारा टार्नमै सीमित रहेका राष्ट्रिय जनगणनाको तथ्यांकले पुष्टि गर्दछ ।

सुर्खेतमा १९ दशमलव पाँच प्रतिशतले २० वर्षमूनि विवाह गर्ने गरेका छन् । जसमा पुरुष आठ दशमलव तीन र महिला १८ दशमलव दुई प्रतिशत छन् । दैलेखमा १८ दशमलव  नौ प्रतिशले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा महिलाको संख्या धेरै छ । यस जिल्लामा आठ प्रतिशत पुरुष र २७ दशमलव पाँच प्रतिशत महिलाले बालविवाह गर्ने गरेका छन् । यस्तै, जुम्लामा पनि बालविवाहको तथ्यांक डरलाग्दो छ । यहाँ १७ दशमलव नौ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा पुरुषको संख्या आठ दशमलव ६ र महिलाको संख्या २६ प्रतिशत छ ।

हिमाली जिल्ला हुम्लामा आठ दशमलव तीन प्रतिशत पुरुष र २६ दशमलव एक प्रतिशत महिलाले सानै उमेरमा विवाह गर्दा कुल बालविवाहको दर १७ दशमलव सात प्रतिशत छ । कालिकोटमा १४ दशमलव पाँच प्रतिशत बालविवाह हुने गरेको छ । जसमा पुरुष ६ दशमलव पाँच र २१ दशमलव तीन प्रतिशत पुरुषले बालविवाह गर्ने गरेका छन् । यस्तै, डोल्पा जिल्लामा कुल बालविवाहको दर १३ दशमलव  आठ प्रतिशत छ । डोल्पामा आठ दशमलव तीन प्रतिशत पुरुष र १८ दशमलव आठ प्रतिशत महिलाले बालविवाह गर्ने गरेका छन् ।

सार्वजनिक सरकारी तथ्यांकले बालविवाह रोक्न राज्य तथा विभिन्न संघसंस्थाले चलाउँदै आएका अभियानहरु असफल त छन् नै कर्णालीमा बालविवाह भित्रभित्रै समाजले सहजै स्वीकारेको देखिन्छ । कर्णालीमा बालविवाहको ग्राफ उच्च रहेको भए पनि यस्ता घटनाहरू प्रहरीकहाँ निकै कम मात्रामा आउने गरेको प्रहरीको तथ्यांकले देखाउँछ । कारबाही हुने डर तथा जनचेतनाको कमीजस्ता कारणले बालविवाहका घटना प्रहरीकहाँ कमै मात्रामा आउने गरेको जानकारहरू बताउँछन् । पछिल्लो तीन आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर ४८ वटा बालविवाहविरुद्धका मुद्दा प्रहरीमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

 

कानूनले अपराध मान्छ तर रोकिँदैन बालविवाह  बालविवाह अन्त्यको कदम खोज्दै मानवअधिकार आयोग

एलन मस्क खर्बपति बन्ने दिशामा टेस्ला सेयरधनीहरूद्वारा

कानूनले अपराध मान्छ तर रोकिँदैन बालविवाह  बालविवाह अन्त्यको कदम खोज्दै मानवअधिकार आयोग

अस्वस्थ जीवनशैलीका कारण बाँकेका पत्रकारमा मुटु रोगको

Leave a comment

Your email address will not be published. Required fields are marked *