बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तीव्र गतिमा पुनर्निर्माण गरिने


काठमाडौँ, २१ पुसः राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हल सिंहदबारस्थित आइतबार विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २८औं बैठकमा भएका विषयमा भएका धारणाहरु सञ्चारकर्मीसँग राख्दै गृहमन्त्री रमेश लेखक । तस्बिरः गोपाल दाहाल÷रासस
गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८औँ बैठकमा गृहमन्त्री लेखकले विपद्बाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माण तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन् ।
”डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपद्बाट भएको क्षतिबारे विपद् क्षतिको मूल्यांकन (डिडिए)को काम सुरु गर्ने र डिडिए भइसकेको ठाउँमा पुनःनिर्माणको अगाडि बढाउने आजको बैठकले निर्णय गरेको छ”, उनले भने । विपद् क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनःनिर्माणका लागि आवश्यक कानुनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए ।
”विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ । सोहीसम्बन्धी कार्यविधि आज पारित गरेका छौँ । आगामी माघ तेस्रो साताबाट जाजरकोट भूकम्पको विपद् क्षतिको मूल्यांकन सुरु हुनेछ”, उनले भने । उक्त निर्णय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ ।
गृहमन्त्री लेखकका अनुसार आइतबार साँझ ७ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बस्दैछ । आइतबारको परिषद् बैठकले निर्णय गरिसकेपछि पुनःनिर्माणको कामले तीव्रता पाउने मन्त्री लेखकको भनाइ छ ।





