अक्षयकोषको रकमबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

विद्यालयमा स्थानीय समाजसेवीका सहयोगमा सातवटा अक्षयकोष स्थापना गरिएका छन् । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट विद्यालयका जेहेनदार, आर्थिक रूपमा विपन्न, खेलकुदका क्षेत्रमा अब्बल रहँदै आएका विद्यार्थीलाई छात्रवृत्तिस्वरूप रकम प्रदान गर्ने व्यवस्था गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ठगुन्नाले बताए ।
‘प्रत्येक वर्ष अक्षयकोषबाट व्यवस्थापन समितिको बैठक बसी छात्रवृत्तिका लागि विद्यार्थीको छनोट गरी रकम प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘यस कार्यबाट अभिभावकले खर्च जुटाउन नसक्ने अवस्थाका विद्यार्थीलाई निकै सघाउ पुगेको छ, जेहेनदार विद्यार्थीको मनोबल बढ्दै गएको छ ।’
विद्यालयमा स्थापना गरिएका सातवटा अक्षयकोषमा गरी जम्मा रु. सात लाख ३७ हजार २२५ रहेको छ । अक्षयकोषबाट चालू शैक्षिक सत्रमा १४ जना छात्रछात्रालाई छात्रवृत्तिको रकम प्रदान गरिएको छ । छात्रवृत्ति पाउनेमा छात्र पाँच र छात्रा नौजना रहेका छन् ।
अधिकतममा रु. दुई हजार २५० देखि न्यूनतम रु. एक हजार ४८० का दरले छात्रवृत्तिको रकम दिइएको छ । विद्यालयमा स्वर्गीय रणबहादुर स्मृति छात्रवृत्ति, स्वर्गीय पदमबहादुर स्मृति छात्रवृत्ति, गणेश विमला असहाय, प्रतिभावान छात्रवृत्ति, धर्म जनता स्वर्ण छात्रवृत्ति, चन्द्रा कार्की खेलकुद छात्रवृत्ति, प्रताप द्रोपती स्मृति छात्रवृत्ति, देवबहादुर सिंह÷विष्णादेवी सिंह गरिब जेहेनदार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएका छन् ।
छात्रवृत्ति अक्षयकोषमा रु. एक लाख २५ हजारदेखि रु. एक लाखसम्मको रकम राखिएको छ । कक्षा एकदेखि १२ सम्म गरी विद्यालयमा ६४२ विद्यार्थी अध्ययनरत छन् । ०२९ मा विद्यालय स्थापना भएको हो । विद्यालयमा २९ जना शिक्षक कार्यरत रहेका छन् । स्थापनादेखि हालसम्म विद्यालयबाट दुई हजार १५७ जना विद्यार्थीले १० कक्षाको परीक्षा दिएर बाहिरिएका छन् ।






