नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले सन्जीवनी कलेजको बोर्ड हटाए

सरला सुवेदी ।
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरूले सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड हटाएका छन् । उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सेवा प्रवाहलाई प्रभावित पार्ने गरी भइरहेको आन्दोलन रोक्न अन्तरिम आदेश जारी गरेको दुई दिनपछि यो घटना भएको हो ।

२०८१ पुस १५ गते नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्ज उल्लेखित बोर्ड हटाएर सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड झुन्ड्याइएको थियो । तर, शनिबार दिउँसो आन्दोलनरत कर्मचारीहरूले उक्त बोर्ड हटाइदिएका हुन् ।

यस घटनापछि सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । करिब ९०० कर्मचारी आवश्यक रहेको भन्दै माघ मसान्तभित्र आवेदन दिन सूचनामा उल्लेख गरिएको छ । तीन सय बेडको अस्पताल सञ्चालनका लागि कर्मचारी माग गरिएको हो ।

श्रम ऐनअनुसार संस्था मर्ज हुँदा स्वामित्व लिने संस्थाले कर्मचारीहरूको दायित्व लिनुपर्ने व्यवस्था छ । तर, नेपालगन्ज मेडिकल कलेजका अधिकांश कर्मचारीको नियुक्ति लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडका नाममा भएकाले समस्या उत्पन्न भएको छ ।

नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक श्याम शर्माले भने, “अब नेपालगन्ज मेडिकल कलेजको सेवा कोहलपुर र चिसापानीबाट मात्रै सञ्चालित हुनेछ ।” उनका अनुसार नेपालगन्जमा हालसम्म सञ्चालन भइरहेको स्वास्थ्य केन्द्रको संरचना नेपालगन्ज मेडिकल कलेजको नभई नेपालगन्ज हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिको थियो ।

सञ्जालका सञ्चालक खुमा अर्यालले उक्त संरचना सन्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाममा स्थानान्तरण गर्ने तयारी गरेका छन् । उनले नयाँ अस्पताल तीन सय बेडको हुने र नेपालगन्जमा सन्जीवनीको रूपमा सञ्चालन हुने जानकारी दिए ।

शर्माले थपे, “अहिलेका आन्दोलनरत कर्मचारीहरूले कि त कोहलपुरमा जानुपर्छ, वा पुनः आवेदन दिएर काम गर्नुपर्छ ।” नेपालगन्ज मेडिकल कलेजको यो नयाँ मोडले कर्मचारी र व्यवस्थापनबीच थप तनाव बढ्ने सम्भावना देखिएको छ ।

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले सन्जीवनी कलेजको बोर्ड हटाए

बाँकेमा चिसो र शीतलहरले जनजीवन प्रभावित

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले सन्जीवनी कलेजको बोर्ड हटाए

माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो

This will close in 0 seconds