बाँकेमा चिसो र शीतलहरले जनजीवन प्रभावित


पछिल्लो पाँच दिनदेखि चिसो बढेर बाँकेसहित पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र शीतलहरले बाँकेका आठवटै पालिकामा जनजीवन कष्टकर बनाएको छ । बिहानैदेखि बाक्लो हुस्सुले ढाकिने र तापक्रममा गिरावट आउने क्रमले चिसो झन् बढेको छ ।
चिसोका कारण बच्चा, वृद्धवृद्धा र विपन्न वर्ग बढी प्रभावित भएका छन् । अत्यधिक चिसोका कारण मानिसहरूलाई घरबाहिर निस्किन कठिनाइ भइरहेको छ । यसले गर्दा बजार, कार्यालय र विद्यालयहरूमा मानिसहरूको उपस्थिति न्यून बनेको छ । नेपालगञ्ज, कोहलपुर र खजुरा बजारहरूमा चहलपहल कम भएको छ भने यात्रुहरूको संख्या घटेको छ ।
विद्यालय र क्याम्पसमा विद्यार्थीहरूको उपस्थिति घटेको देखिएको छ । नेपालगञ्जका व्यापारी रेवती रमणका अनुसार न्यानो कपडाको बिक्री भने बढेको छ, तर अन्य व्यापार व्यवसायमा मन्दी छाएको छ । ग्रामीण क्षेत्रका बासिन्दाहरू घुर र आगो बालेर चिसो छलिरहेका छन् ।
चिसोका कारण स्वास्थ्यमा असर पर्ने सम्भावना बढेकाले बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा कमजोर व्यक्तिहरूलाई विशेष ख्याल गर्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
अहिलेसम्म बाँकेको कुनै पनि स्थानीय तहले चिसोबाट बच्न आगो बाल्ने दाउरा वा न्यानो कपडाको व्यवस्था गरेको छैन । अत्यधिक चिसोका कारण यहाँका जनजीवन झन् कष्टकर बनिरहेको छ । चिसोले यातायात र दैनिक क्रियाकलापहरूमा समेत नकारात्मक असर पु¥याएको छ ।
चिसोको प्रभावलाई मध्यनजर गर्दै, स्थानीय तह र सरोकारवाला निकायहरूले जनताको स्वास्थ्य र सुविधाका लागि आवश्यक कदम चाल्नु आवश्यक देखिन्छ । वातावरणीय विपत्तिका रूपमा आएको यस चिसोले बाँके र आसपासका क्षेत्रको जनजीवन थप कठिन बनाएको छ ।





