हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध, पर्यटक अलपत्र

गोल्डेन बुढा
जुम्ला । बिहीबारदेखि परेको अविरल हिमपातका कारण नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले नजिकै पहिरो जाँदा र सातमोड क्षेत्रमा बाक्लो हिउँ जम्दा यातायात सञ्चालन हुन नसकेको हो।

सडक बन्द हुँदा रारा ताल जाने आन्तरिक तथा विदेशी पर्यटकहरू बीचमै अलपत्र परेका छन्। यातायात ठप्प हुँदा स्थानीय बासिन्दाको जनजीवनसमेत प्रभावित बनेको छ।

मुगुका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रका अनुसार सडक खुलाउन डोजर परिचालन गरिएको छ। शुक्रबारसम्म चारवटा सवारीसाधन बीचमै रोकिएको जनाउँदै उनले डोजर प्रयोग गरेर तिनलाई गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको बताए।

उनका अनुसार जुम्लातर्फबाट डोजर परिचालन गरिएको छ, तर बाक्लो हिमपातका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ। पैदल हिँडडुल गर्नसमेत मुस्किल भइरहेको छ। कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल जाने पर्यटकहरू हिउँमै रोकिएका छन्।

यसैबीच, सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले पहिरो हटाउन डोजरसँगै प्राविधिक जनशक्ति पनि परिचालन भइसकेको जानकारी दिए। ‘मौसममा सुधार आए आइतबार बिहानसम्म सडक खुल्नेछ, तर निरन्तर वर्षा र हिमपात भए खुलाउन केही दिन लाग्न सक्छ,’ उनले भने।

उनले यात्रुहरूलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरे।

जुम्लाका उच्च पहाडी भेगमा हिमपात भए पनि बेँसी क्षेत्रमा भारी वर्षा भएको छ। हिमपातका कारण जुम्लासहित माथिल्लो कर्णाली क्षेत्रका हवाई उडानसमेत अवरुद्ध भएका छन्।

हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध, पर्यटक अलपत्र

विप्लवको कृषि क्रान्तिस् स्याउ खेतीदेखि भेडापालनसम्म

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds