राज्यको उपेक्षाले सास्ती भोग्दै यात्रा गर्दै नागरिक


बुधबार राती परेकोे अविरल बर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अबरुद्ध छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अबरुद्ध भएको राजमार्ग एकतर्फि मात्रै खुलाउनका लागि कम्तिमा तीनदेखि चार दिन लाग्ने छ । कर्णाली राजमार्ग अन्र्तगतको दैलेखको आठविस नगरपालिका–५, को मालाचौरदेखि कालिकोट शुभकालिका गाउँपालिका–१, को हुल्म बजारसम्मको सडक खण्ड ठाउँठाउँमा क्षतविक्षत भएको छ ।

यो खण्डमा पर्ने दैखोला, एससमोड, मेयरखोला, गगनेखोला लगायतका ठाउँमा ठुलो पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि साविक कर्णालीका चार जिल्ला यातायात सेवाबाट पूर्णरुपमा अलग भएका छन् । बाढी र पहिरोका कारणले अबरुद्ध कर्णाली राजमार्ग खुलाउन अझै केही दिन लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी एवम् इन्जिनियर वीरबहादुर जिटीले बताए ।

‘सडक सुचारु गर्नका लागि हेभी इक्वीपमेन्टहरु परिचालित भइसकेका छन्,’ उनले भने, ‘पहिरोका कारण धेरै ठाउँमा ठुलो क्षति भएको छ । सडक खुलाउन तीनदेखि चार दिन लाग्ने प्रारम्भिक अनुमान हामीेले गरेका छौं ।’ राजमार्गको गगने खोला, एसमोड, दैखोला र मेहर खोलामा आएको बाढीले पहिरोले राजमार्ग अबरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतनकुमार मण्डलले बताए ।

उनका अनुसार तीन ठाउँमा ठुलो पहिरोले सडक अवरुरुद्ध छ भने, हुल्म, जिते, जितेगडा, सेरिघाट लगायतका स्थान थुप्रै स–साना पहिरो सडकमा खसेका छन् । सडक डिभिजन कार्यालय जुम्लाको कार्यक्षेत्र दैखोला–जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर आईरहेको पहिरोले यात्रा सास्तीपूर्ण बन्ने गरेको छ ।

सहायक सडकका कारण पहिरो

गगने खोला र मेयर खोलामा आएको पहिरोको मुख्य कारण ति सडकभन्दा माथि खनिएका सहायक सडक रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । शुभकालिका गाउँपालिकाको केन्द्रसम्म जान निर्माण गरिएका ग्रामिण सडकबाट ढुंगासहित आएको पहिरोले सडकनै बगाइदिएको कार्यालयले जनाएको छ ।

शुभकालिका गाउँपालिका जाने बाटोको माटो र ढुंगा एकै साथ आएपछि गगने खोलामा लगाएको टेवा पर्खाल र सडक पुरै बगाएपछि सडक अबरुद्ध भएको डिभिजन प्रमुख मण्डलले बताए । त्यस्तै, दैलेख र कालिकोट जोड्ने दैखोलाको पक्की पुल बाढीले बगाएको छ । उक्त खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।

सडक अबरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन्, भने स्याउ बोकेर गएका माल बहाक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् । दुई सय ३२ किलोमिटर लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुँदै आएको छ । हालसम्म चार दर्जन भन्दा बढी पहिरोले पटक–पटक सडक अबरुद्ध गरिसकेको छ ।

बुझेरमात्र यात्रा गर्न आग्रह

पहिलोले कर्णाली कोरिडोर पनि अवरुद्ध बनेको छ । कर्णाली करिडोर अन्र्तगतको सान्नी त्रिवेणी गाउँपालिका–१ फुगाड जलविद्युत् आयोजनाको सुरुङबाट खसेको लेदोसहितको पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले जानकारी दिए ।

‘कर्णाली कोरिडोरको फुगाडमा पनि पहिरो खसेको छ । पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध छ,’ उनले भने, ‘कोरिडोर अवरुद्ध हुँदा गाडी ठाउँ ठाउँमा रोकिएका छन् ।’ यता, सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग अवस्था बुझेर मात्र यात्रा गर्नका सुझाएको छ । कर्णाली राजमार्गको बिभिन्न ठाउँमा पहिरो गएका कारण राजमार्गको अवस्था मात्र बुझेर यात्रा गर्न सुझाएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेको छ, ‘सडक सुचारु गर्नका लागि हेभी इक्वीपमेन्टहरु परिचालित भइसकेका र सडक सुचारु गर्न केही दिन समय लाग्ने भएकोले सूचारु भए पश्चात यसै सामाजिक सञ्जालमार्फत जानकारी गराइनेछ । यसबाट यात्रु महानुवर्गमा पर्न गएको असुविधाप्रति सडक डिभिजन परिवार क्षमाप्रार्थी छ ।’

करोडौ खर्च अवस्था उस्तै
सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालिकोट हुँदै कर्णाली नदिको किनारै किनार भएर जुम्ला पुग्ने मार्ग अर्थात कर्णाली राजमार्ग । यो राजमार्ग कर्णालीको प्रमुख पर्यटकीयस्थल रारा जोड्ने प्रमुख मार्ग समेत हो ।

यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्ड समेत मानिएको छ । राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटनाहरु भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन् । तरपनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पु¥याउन सकेको छैन । टालटुलका लागि फाट्ट–फुट्ट बजेट आउने गरेपनि समर्ग राजमार्ग विकासका लागि पर्याप्त बजेट नआउँदा सवारी दुर्घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् ।

कर्णाली राजमार्गमा भएका सानादेखि ठूला दुर्घटनाका घटना थुप्रै छन् । घटना २०६३ चैत्रको हो । कालिकोटको हुल्मदेखि सुर्खेतका लागि प्रस्थान गरेको बस आफ्नै गतिमा हुईकिरहेको थियो । बसमा साहु, चालक र सहचालकबाहेक ४७ यात्रु थिए ।

दैलेखको आठबीस नगरपालिकाको किटुबाट अघि बढ्न नपाउँदै यात्रुबाहक बसको टायरले सडकको लिक छोड्यो । बस कर्णाली नदिमा खस्यो । आ–आफ्नै सपना बोकेर यात्रारत यात्रुहरुको सपना त्यहि टुंगियो । उक्त दुर्घटनामा ४२ जनाले ज्यान गुमाए । जो कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबै भन्दा ठूलो र भयानक दुर्घटना थियो । त्यो कहालीलाग्दो दुर्घटनापछि राजमार्गमा यात्रा गर्ने जो कोहीलाई झस्काउँछ ।

कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सिमित रहेन् । यात्रुबाहक सवारी साधन दुर्घटना हुने क्रम बढिरहेको छ । २०६८ मंसिरमा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए । २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । त्यसबीचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो ।

नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो । कर्णाली राजमार्गमा पुःन बस दुर्घटना भयो । कालीकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटनामा चार जनाले ज्यान गुमाए ।

म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटना परेको थियो । यी राजमार्ग सञ्चालनमा आएपछि भएका केहि ठूला दुर्घटना हुन् । स–साना दुर्घटनाहरु दैनिक जसो भईनै रहन्छन् । यो राजमार्गमा भएका दुर्घटनामा अहिलेसम्म सयौँ कर्णाली बासीले ज्यान गुमाईसकेका छन् ।
कर्णाली राजमार्गमा बर्सेनी सडक मर्मतका नाममा करोडौ रुपैयाँ खर्च हुने गरेको भएपनि सडकको अवस्था उस्तै रहने गरेको छ । बर्सेनि कर्णाली राजमार्ग मर्मत तथा सम्भारका नाममा बजेट आउने भए पनि भत्केको ठाउँमा सामान्य मर्मत गरेर बजेट मात्र सक्ने परिपाटी छ ।

अगाडिबाट सडकमा ओटासिल हाल्दै जाने र पछिबाट उप्किँदै जाने भएकाले सडक सुधारका नाममा बजेट मात्र खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्गको मर्मतका लागि झन्डै १६ करोड बजेट खर्च भएको थियो भने आर्थिक वर्ष २०७८/०८९ मा २६ करोड बजेट खर्च आर्थिक वर्ष २०७९/०८० सोही हाराहारीमा बजेट खर्च भएको थियो ।

विभिन्न खण्डमा भाग गरेर मर्मतका लागि भनेर ठेक्कामार्फत काम सुरु गरिएको थियो । निर्माण व्यवसायीले ठेक्का पनि हाले तर सडक बनाउने नाममा खाल्डाखुल्डी मात्र पुरे, कतै ओटासिल गरिएको थियो । तर, सडकको अवस्था उस्तै रहेको खाडाँचक्र नगरपालिका–६ दाहाँका स्थानीय नरबहादुर शाही बताउँछन् ।
अगाडिबाट ओटासिल हाले पनि पछिबाटै उप्किँदै जाने गरेको तिलागुफा नगरपालिका–४, राँचुलीमन पूर्व वडाध्यक्ष खड्कराज शाहीले बताए । ‘मेरो वडाको राँचुलीमा सडकमा कालोपत्रे गरेको १५ दिनमा सडक पुरानै अवस्थामा परिणत भएको छ ।’

उनले भने, ‘केही दिनसम्म कालो राम्रो देखिएको सडक दुई हप्तापछि हेर्दा पहिलेको जस्तै जीर्ण बनेको छ ।’ सडक कालोपत्रे गर्दा सडकमा रहेको माटो राम्रोसँग सफा गर्ने त्यसपछि पानीले माटो सबै बगाएर खाली कङ्क्रिटमाथि कालोपत्रे गर्दा मात्र त्यो सडक बलियो हुने आफूले सुनेको पूर्ववडाध्यक्ष शाहीले बताए ।

कर्णाली राजमार्ग स्तोरोन्तीमा राज्यको ध्यान नजानु, भएको बजेट सदुपयोगको प्रभावकारी अनुगमन र मूल्यांकन नहुँदा कर्णालीको लोकमार्ग सास्ती र ज्यान गुमाउने मार्ग बन्दै गएको छ । साविक कर्णालीको एकमात्र विकल्प कर्णाली राजमार्गको स्तरोन्तीमा राज्य बेखबर बन्दा नागरिक हिलाम्मे र धुलाम्मे सडकमा असुरक्षित यात्रा गर्न बाध्य हुनुपरेको पूर्ववडाध्यक्ष शाहीले गुनासो गरे ।

राज्यको उपेक्षाले सास्ती भोग्दै यात्रा गर्दै नागरिक

सम्पादकीय: नागरिकलाई सुविधा दिने आवास गृह

राज्यको उपेक्षाले सास्ती भोग्दै यात्रा गर्दै नागरिक

 ‘नेपाली मोडेल’ मा सरकारका उपलब्धिहरू