८० लाख तिरेर अवैध बाटो अमेरिका, लुटेराको गोलीले हत्या


रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।
मृतकका माईला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताए । टेक्सासमै रहेका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनले जनाए ।
आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरुले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लिगिएको बुझिएको माईला बुवा खिमबहादुरले जनाए । उनले गोली लागेर दीपकको घटनास्थलमै मृत्यु भएको उल्लेख गरे ।
दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन र गाउँ नै शोकमा रहेको बताए ।
दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाई छन्। एक बहिनीको विवाह भईसकेको छ भने एक भाई दीनेश बैदेशिक रोजगारीको शिलसिलामा कोरिया गएका छन् । कान्छो भाई जनक अध्ययनको क्रममा काठमाडौँमा छन् ।
मृतककी २६ वर्षीया श्रीमती बिमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसिपुरमा रहेकी छिन् । गाउँमा बाख्रापलन गर्दै आएका मृतक दीपकका ५६ वर्षीय बुवा लिलाराम ओली अहिले अचेत अवस्थामा छन् । घरमा सम्झाई बुझाई गर्ने अवस्था समेत छैन । सबैतिर सन्नाटा छाएको छ ।
खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पगेका थिए । सन् २०२३ को जुलाई महिनामा अमेरिका पगेका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पगेका हुन् । अमेरिकाको सपना पछ्याउँदै अवैध बाटो अमेरिका पुगेका दीपकको सपना भने विलिन भएको छ । सपनाको देशले दीपकको परिवारको सारा सपना टुटाईदिएको छ ।
दीपकले २०७९ मङ्सिरमा घर छोडर हिडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपैयाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । उनले भने, ‘‘बल्ल कमाउन थालेको थियो, लुटेराले हत्या गरिदिए ।’’
परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विछिप्त बनेका दाईलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पीर थपिएको उनको भनाई छ । परिवारका अनुसार अमेरिका जाँदा लागेको ८० लाख रुपैयाँ ऋणमध्ये आधा मात्रै तिरिएको छ ।
रुकुमबाट दलाललाई लाखौँ बुझाएर अवैध बाटो अमेरिका जाने युवाहरु धेरै छन् । यसबारेमा कुनै पनि निकायले आधिकारीक तथ्याङ्क राखेको पाईदैन । स्वदेशमा रोजगारीको अवसर नपाईने भन्दै अमेरिकी सपना बोकेर हिडेका सयौँ युवा अमेरिका पुगेका छन् ।
सयौँको संख्यामा विभिन्न देशमा अलपत्र परेका छन् । अवैध बाटो जाने क्रममा मृत्यु भएका, दलालले अलपत्र पारेका, बाटोमै बिरामी भएका, नेपाल फर्काइएका खबरहरु पनि आउने गरेका छन् ।






