दुर्गमको खाद्य उद्योगले कमायो एक वर्षमा ४२ लाखभन्दा बढी


जिल्लामा निजी लगानीमा स्थापना भएको सोवर्ण खाद्य उद्योगले यस वर्ष हालसम्म ४२ लाख रुपैयाँ कमाइ गरेको पाइएको छ ।
उक्त उद्योगले जिल्लाका रैथाने बालीको बिभिन्न परिकार उत्पादन गरेर राजधानी काठमाडौं निकासी गरेर यो कमाई गरेको हो ।
सो उद्योगका सञ्चालक मुकुन्द रोकायाका अनुसारउद्योग स्थापना यता सबै भन्दा बढी यसवर्ष ४२ लाख ५५ हजार ५५० रुपियाँ कमाई गरेर हालसम्म कै बढी कमाई गर्न सफल भएको छ । उद्योग स्थापना भएको नौ वर्ष भएको छ । यसअघि उक्त उद्योगले बार्षिक पन्द्र लाख रुपियाँसम्म कमाई गर्दै आएको थियो ।
यसरी झण्डै दुई सय प्रतिशत बढी कमाई हुनुमा रैथाने बालीको परिकार उत्पादन र यसको प्रचार प्रसारले गर्दा ब्यापारमा बृद्धि मुल्य कारण भएको हो । उद्योगले हुम्लाबाट काठमाडौं निकासी गरेका रैथाने बालीका परिकारमा चिनोको चामल, बिस्कुट, उवाको सातु, कागुनोको चामल, मार्सी चामल, सिमी, उवा लगायत छन् ।
जसमा ११४ क्वीन्टल चिनोको चामल, ६५ क्वीन्टल सिमी र २० क्वीन्टल उवा निकासी गरिएको छ । हुम्लाबाट काठमाडौं पठाईएको रैथाने बालीको परिकारलाई सिधै सुपर मार्केटहरुमा पुर्याउने गरिएको छ ।
रोकायालाई काठमाडौंबाट अर्डर आउने र त्यसै अनुसार प्याकिङ गरेर पठाउने गरेका छन् ।






