दश वर्षपछि सरकारी जहाजको जुम्ला–सुर्खेत उडान


नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले १० वर्षपछि पहिलो पटक जुम्ला–सुर्खेत उडान भरेको छ । सोमबार बिहान नेपालगञ्ज देखि ७ बजेर ५० मिनेटमा जुम्ला विमानस्थलमा अवतरण गरेको जहाजले दुई जना यात्रु लिएर सुर्खेतको उडान भरेको हो।दश वर्षपछि सरकारी जहाजले जुम्ला सुर्खेत उडान गरेको म्यानेजर देवीप्रसाद न्यौपानेले बताए।उनले भने,‘उडान सुरु भएको छ ।
कहिले सम्म चल्ने हो थाहा छैन ।’ नेपाल एयरलाइन्सको जहाजले जुम्लाबाट सुर्खेत उडान भरेर मन्त्रीहरूको टोली कालिकोटस्थित सुनथराली विमानस्थलमा पु¥याएर सुर्खेत फर्किएपछि जुम्ला उडान गर्ने समयतालिका छ ।
त्यसपछि सुर्खेतदेखि जुम्ला हुँदै नेपालगञ्ज उडान भर्ने म्यानेजर न्यौपानेको भनाइ छ । बिहानै आइपुगेकोले यात्रु नभेटिएको पनि उनको भनाइ छ । जुम्ला–सुर्खेत भाडा ५ हजार ४० रुपैयाँ निर्धारण भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान जुम्लादेखि सुर्खेत गरेको बताए । ‘सुनथराली विमानस्थल कालिकोटमा मन्त्री ल्याउने भएकोले बिहानै जहाजले जुम्ला उडान गरेको छ,’ प्रमुख अधिकारीले भने,‘सुर्खेतदेखि आजै नै जहाज जुम्ला आएर नेपालगञ्ज उडान भर्ने कार्यतालिका छ ।’नेपाल एयरलाइनसको नियमित उडान तालिका आइपुगेको छैन ।
नियमित गर्ने कि नगर्ने आगामी सोमबारको उडानले मात्र निश्चित गर्छ । अर्को सोमबारदेखि मात्र नियमित फ्लाइटको तालिका आउन सक्ने उनको भनाइ छ । जुम्ला–सुर्खेर्त हवाई उडान नहुँदा अहिले पनि लुम्बिनी प्रदेश पुगेर कर्णाली प्रदेशको राजधानी सुर्खेत आउनुपर्ने बाध्यता छ ।
जुम्लामा नेपाल एयरलाइन्स,सीता,समिट र तारा एयरले उडान भरिरहेका छन् । पर्यटन व्यवसायी ललितजंग महतले यसअघि सीता एयरको उडान सुर्खेत–जुम्ला गरेका थिए । नेपाल सरकारले पनि जुम्ला–सुर्खेत उडान भर्ने गरी कार्यतालिका बनाउन नेपाल एयरलाइन्सलाई यसअघि नै भनिसकेको छ । नेपाल एयरलाइन्सले हुम्ला–सुर्खेत उडान भर्ने काम सुरु गरिसकेको छ ।






