‘कर्णाली एक्सपो’ सोमवार सम्मका लागि स्थगित


सुर्खेतको वीरेन्द्रनगरमा सोमवारबाट सञ्चालन हुने भनिएको तेस्रो कर्णाली एक्सपोको सम्पुर्ण तयारी पुरा भएको अबस्थामा स्थगित भएको छ । आयोजकले आईतवार एक सुचना जारी गर्दै सोमवार सम्म महोत्सव स्थगित भएको जनाएको हो ।
कर्णाली प्रदेश रंगशालाको उत्तरतर्फको मैदानमा सञ्चालन हुन लागेको महोत्सवको सबै तयारी पुरा भएको थियो । कार्यक्रमको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले गर्ने तयारी थियो ।
तर फागुन १२ गते उच्च अदालत सुर्खेतमा रिट परेपछी महोत्सव स्थगित गर्नुपरेको सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले जानकारी दिए । उनका अनुसार अदालतकोे आदेश पछि नयाँ सुचना जारी गरेर मेला सञ्चालनको जानकारी गराइने बताए ।
यस्तै फागुन १२ गते रातीदेखि उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलको नाम जोडेर सामाजिक संजालमा टिकाटिप्पणी र लगाइएको निराधार आरोपप्रति पनि संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक सुचना जारी गर्दै वाणिज्य संघले गुण्डा परिचालन गरी गोली हान्न लगाएको जस्ता भ्रामक र अनर्गल कुराहरू राखेर संस्थाको गरिमामा आँच पुयाउने र अध्यक्षको सामाजिक प्रतिष्ठाको मानमर्दन गर्ने गरी गैरजिम्मेवारपूर्ण टीकाटिप्पणी गरिएकोमा खेद प्रकट गरेको छ ।






