कृषकलाई गाउँमै पुगेर सचेतना

कृषि ज्ञान केन्द्र दाङले गाउँमै पुगेर कृषकहरुलाई सचेतना प्रदान गर्न थालेको छ । केन्द्रले जिल्लाका सबै पालिकामा पुगेर कृषकलाई सचेतना प्रदान गर्ने कार्य सुरु गरेको हो । कृषकका समस्या बारे जानकारी लिने काम भइरहेको ज्ञान केन्द्रले जनाएको छ ।
नागरिकको घर आगनमा पुगेर सूचना प्रदान गर्ने र उनीहरुको समस्याका बारेमा जानकारी लिने काम भइरहेको केन्द्रका निमित्त प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए । ‘कार्यालयबाट यस वर्ष प्रदान गरिने अनुदानका कार्यक्रमका बारेमा जानकारी तथा अनुदान प्राप्त गर्न चाहिने कागज पत्रका प्रक्रियाका बारेमा जानकारी दिने गरेका छौ’ प्रमुख बस्नेतले भने ।
नागरिकहरुलाई घर आँगनमा पुगेर जानकारी दिँदा सबैले जानकारी पाउनुको साथै अनुदान प्राप्त गर्नका लागि समेत सहजता हुने उनले बताए । ‘अनुदानका बारेमा जानकारी प्राप्त गरे पनि कृषकहरुले अनुदान प्राप्त गर्नका लागि आवश्यक प्रक्रिया बुझन नसक्दा समस्या हुने गरेको छ,’ उनले भने,‘ गाउँमा पुगेपछि कृषकसँग छलफल गरेर उनीहरूले नबुझेका विषय बुझाउँदा कृषकलाई समेत सहज हुने छ’ ।
ज्ञान केन्द्रले गाउँ गाउँमा सचेतना कार्यक्रम सञ्चालन नगर्दा टाढा टाढाबाट कार्यालयसम्म आएर बुझ्न पर्ने बाध्यता रहेको थियो । ज्ञान केन्द्रले स्थानीय तहमा रहेका सहकारी संस्थामार्फत सचेतना दिने गरेको छ । ‘सहकारीमार्फत जानकारी दिँदा एकै पटकमा धेरै कृषहरुलाई जानकारी पुग्ने भएकाले सहकारीमार्फत अगाडि बढेका छौ’ प्रमुख बस्नेतले भने,‘यसका साथै स्थानीयतहसँग समेत छलफल गर्ने गरिएको छ’ ।
जसले गर्दा स्थानीय तहले कृषि क्षेत्रमा के कसरी काम गरिरहेका छन् भनेर जानकारी लिन सजिलो हुने गरेको छ । गाउँमा पुगेको टोलीले तत्कालै समस्या समाधान गर्ने विषयलाई समाधान समेत गर्ने गरेको छ । ज्ञान केन्द्रको प्राविधिक टोलीसहित गाउँ पुगेको टोलीलाई आफनो कुरा राख्न पाउदा कृषकहरु समेत खुसी हुने गरेको प्रमुख बस्नेत बताउँछन् । ‘घर आँगन मै कृषकले आफ्ना समस्या राख्न पाउँदा खुसी भएको पाएका छौ’ उनले भने,‘कृषकहरुको घर बारीमा पुग्दा उनीहरुलाई उत्साह बढ्ने गरेको पाएका छौ’ ।
ज्ञान केन्द्रले राजपुर गाउँपालिका–२ मटेरीया; उद्यमशिल कृषि बहुउद्वेश्यीय कृषक सहकारी संस्था लि; लमही नगरपालिका–६ लमही; हरितक्रान्ति कृषि सहकारी संस्था; लमही नगरपालिका–२ केरुनिया; दुमदुमा भगवती तरकारी तथा बीउ आलु उत्पादक कृषक सहकारी संस्था, लमही नगरपालिका– ६ खैरी देउखुरी, गुरबाबा बहुउद्वेश्यीय सहकारी संस्था, दंगीशरण गाउँपालिका– ३ रावतगाउँमा कार्यालयका गतिविधिहरु बारे अन्तक्र्रिया, कृषकका समस्याबारे जानकारी लिनुको साथै सहकारी संस्थाले गरिरहेका काम, आउँदा दिनका योजनालगायतका विषयमा छलफल गरिसकिएको छ ।






