प्रति लिटर हजार रुपैयाँमा बिक्री हुन्छः जुम्लामा ढटेलोको तेल


यतिबेला जुम्लाका महिलाहरुलाई c संकलन गर्न भ्याइनभ्याई छ । जुम्लाको सदरमुकाम खलंगा आसपासका महिलाहरु विहान, दिउँसो र बेलुकाको समयमा ढटेलो टिप्न व्यस्त देखिन्छन् ।
हातमा रवरको पञ्जा, पिठ्युँमा निगालोबाट बनेको(छान्नो) एउटा लठ्ठी बोकेर ढटेलोको झागभित्र पसेको पाइन्छ् । टिप्दा काडोले नघोचोस भनेर पञ्जा र लठ्ठीको सहायता लिन्छन् । जुम्लाको चन्दननाथ नगरपालिका –४ कि मुनकौरा बुढा ढटेलोका संकलनमा व्यस्त छिन् ।
बुढा अघिल्लो वर्ष ३५ लिटर ढटेलोबाट तेल निकालेको बताउँछिन् । सबै तेल घरमै खाने गरिएको सुनाइन् । यो वर्ष ४० देखि ५० लिटर बराबरको ढटेलो संकलन गरेकी छिन् । उनले भनिन्,यो तेलको महत्त्व कसैले बुझेका छैनन् ।
सबै आयतित तेलको मुख ताक्छन् । स्थानीय जडिबुटी र रैथाने तेलमा ध्यानाकषिर्त भएको देखिदैनन् । उनका अनुसार परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली दियो बाल्ने, मालिस गर्ने, तथा खाने तेलको रुपमा प्रयोग गर्दथे ।
जतिबेला बत्तिका लागि बैकल्पिक ईन्धनको उपस्थिति थिएन, त्यो बेला ढटेलोको तेल बत्ती बाल्नका लागि निकै उपयोगी मानिन्थो । अहिले ढटेलो कसैले चिन्दैन । उनको गुनासो थियो । यता अर्की उर्मिला कार्कीले पनि गत वर्ष २० लिटर तेल निकालिन् ।
तर घरमै खाइयो, अहिले २० देखि ३० लिटर तेल बराबरको ढटेलो संकलन गरेको सुनाउछिन् । यता जुम्लाको चन्दननाथ नगरपालिका–५ का आनन्द अधिकारीले ६० लिटर ढटेलो तेल बिक्री गरेको बताए । यो वर्ष अहिलेसम्म ३० लिटर तेल बिक्री गरेको बताउँछन् । उनले भने, ‘प्रति लिटर एक हजार रुपैयाँमा बिक्रीवितरण भइरहेको छ । चार किलो ढटेलो सुकाएर यसको दुई किलो बीयाँबाट एक लिटर तेल निकाल्न सकिन्छ । वर्षमा ६० हजार लिटर तेल निकाल्न सकियो भने पनि एक हजार रुपैयाँ प्रतिलिटरका दरले जुम्लामा ६ करोड रुपैयाँ ढटेलो तेलबाट आम्दानी हुन सक्ने संभावना छ ।’
ढटेलो पानीको स्रोतहरुको नजिकैको सुक्खा जमिनमा हुन्छ, वुट्यानमा फल्ने गर्दछ । साविकको कर्णाली अञ्चल हालको कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला,कालिकोट हुम्ला, मुगुको माथिल्लो भाग, डोल्पाका केही भागहरू यसको उत्पादनको लागि निकै उत्तम मानिन्छ ।
एक देखि २ मिटर सम्म उचाइ सम्म हुन्छ । भदौदेखि दाना लाग्न सुरु भएर चैत वैशाखसम्म ढटेलो पाक्ने गर्दछ । प्राय सुक्खा तथा कम पानी पर्ने ठाँउहरुमा उपयुक्त मानिन्छ । ढटेलो खेतीका लागि सुख्खा हावापानी भएको क्षेत्र मुलत कर्णाली प्रदेशका हिमाली जिल्ला यसको खेती गर्न सकिने प्रचुर संभावना भए पनि जुम्लाका स्थानीय तहले खासै चासो देखाउन सकेका छैनन् ।
परा–पूर्वकालदेखि मानिसहरुले ढटेलोको तेल निकाली प्रयोग गरेको पाइन्छ । मानव शरिरको लागि निकै लाभदायिक मानिने ढटेलोको तेल विभिन्न कुरामा उपयोग गरेको पाइन्छ । शरिरका विभिन्न अगंहरू दुखाइ कम गर्ने, जोर्नीको दुःखाई र बाथ रोग समेत निको पार्न मदत पुर्याउने, जोर्नीको दुखाइ लाइ कम गर्न,पेट सफा गरेर विभिन्न रोग निको हुने, पाचन प्रकृयालाइ सहजता प्रदान गर्ने,खाने तेलको रुपमा प्रयोग गरिन्छ ।
विभिन्न आयुर्वेदिक औषधिमा ढटेलोको प्रयोग अहिले पनि भईरहेको विभिन्न अयुर्वेद सम्वन्धी अनुसन्धानकर्ताले बताउछन् । तर यसको फाईदा र उपयोगिता बारे जानकारी नभएकै कारण संरक्षणमा ध्यान नदिदा लोभ हुने अवस्थामा समेत पुगेको छ ।
ढटेलोको दानाबाट निस्कीने तेललाई बजारीकरण गरेर मनग्य आम्दानी गर्न सकिने भएपनि फाईदाबारे जानकारी नहुँदा वर्षेनी खेर गईरहेको छ । किसानहरुले ढटेलो नामक वनस्पतीमा लाग्ने दाना संकलन गर्दै प्रशोधन गरी उत्पादन गरेको तेलको बजारीकरण गर्न निकै जरूरी छ । ढटलोे प्रशस्त मात्रामा पाईने भएपनि आवश्यक खोज अनुसन्धान पनि हुन सकेको छैन् ।
पछिल्लो पुस्ताले ढटेलो वनस्पतीको उपयोगिता र फाईदाबारे जानकारी नपाउँदा नाम समेत बिर्सिसकेका छन् । भने विगतमा जस्तै सहजै पाउन मुस्कील पर्ने गरेको छ । ढटेलो को वारेमा अध्ययन समेत नभएका कारण त्यस बारे खासै जानकारी हुन सकको छैन ।







