होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध

जिल्ला प्रशासन कार्यालय सुर्खेतले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । बिहिवार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो ।

कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जारी गरेको सूचनामा भनिएको छ, ‘ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको छ ।

विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तड़क–भडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएको छ । सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ ।

तसर्थ, चाडपर्वहरुको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ्ग दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध छ । साथै, आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन् नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन हुन अनुरोध छ ।’ यस वर्ष होली पर्व आइतबार र सोमबार रहेको छ ।

होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध

कृषि विकास वैंकद्धारा ग्लोबल मनि वीक कार्यक्रम