जुम्लामा ७ महिनामा १८ करोड राजश्व सङ्कलन

 

आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड १६ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । सात महिनामा २९ करोड १५ लाख ४० हजार राजश्व सङ्कलनको लक्ष्य भएपनि १८ करोड १६ लाख ६४ हजार मात्रै राजश्व उठेको हो । लक्ष्यअनुसारको ११ करोड राजश्व सङ्कलन हुन सकेन ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा ५९ करोड १० लाख राजश्व सङ्कलन गर्ने आन्तरिक राजश्व कार्यालय जुम्लाको वार्षिक लक्ष्य छ । तर बितेको सात महिनामा लक्ष्यभन्दा ११ करोड राजश्व कम सङ्कलन हुनुले वार्षिक लक्ष्य भेटाउन मुस्किल हुने देखिएको छ ।

जसमा आयकर तर्फ १३ करोड २६ लाख ३४ हजार, मूल्य अभिवृद्धि कर तर्फ ३ करोड ६२ लाख ९ हजार, ब्याजकर तर्फ २३ लाख एक हजार, अन्तःशुल्क तर्फ ७१ लख ९४ हजार र घर बहाल कर तर्फ ३३ लाख २६ हजार लगायत अन्य शीर्षक गरी माघ मसान्त सम्म १८ करोड १६ लाख ६४ हजार राजश्व असुली भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका सूचना अधिकारी धनसिंह थापाले बताए ।

‘जुम्लामा नियमित कारोबार गर्ने भन्दा अनुदानमुखी करदाता भएकै कारण राजश्व सङ्कलन घट्दो छ’,उनले भने,‘चालु आवको सात महिनामा लक्ष्यभन्दा ११ करोड कम राजश्व असुली भएको छ । अनुदान सकिएपछि उद्योग नै बन्द गर्ने,कारोबार कम देखाउने,नियमित कर नतिर्ने जस्ता समस्याले लक्ष्यअनुसार राजश्व सङ्कलनमा समस्या देखिएको हो ।’

आन्तरिक राजश्व कार्यालय जुम्लाको कार्यक्षेत्र,जुम्ला,मुगु र कालिकोट गरी तीन जिल्लामा हो । तीन जिल्लाका गरी अन्तःशुल्क तर्फ पाँच सय ५१ जना,भ्याट तर्फ एक हजार पाँच सय २२ जना, र आयकर (प्यान) दर्ता तर्फ १५ हजार दुई १४ जना गरी कुल १७ हजार तीन सय १७ जना करदाता रहेका छन् ।

सङ्घीयतापछि अनुदान लिन धमाधम प्यान दर्ता गर्ने करदाताको संख्या बढेको देखिन्छ । करदाताको संख्याका आधारमा वार्षिक राजश्व सङ्कलनको लक्ष्य निर्धारण हुन्छ । सूचना अधिकारी थापा भन्छन्,‘करदाता संख्याका आधारमा राजश्व सङ्कलनको लक्ष्य तोकिएपनि असुलीको अवस्था निराशाजनक छ । जुम्ला,कालिकोट र मुगुमा गुणात्मक भन्दा संख्यात्मक अर्थात् अनुदानमुखी करदाता बढी भएको पाइयो । जसको प्रत्यक्ष असर राजश्व सङ्कलनमा देखियो हो ।’

कार्यालयले करको दायरा र राजश्व सङ्कलनको मात्रालाई वृद्धि गर्नको लागि बजार अनुगमन र सुपरिवेक्षण गर्ने,करदातालाई बाँकी बक्यौता दाखिला अनुरोध गर्ने,करदाता शिक्षा लगायतका कर सचेतना अभिवृद्धिका विभिन्न गतिविधि सञ्चालन भइरहेका छन् । नियमित अनुगमन, निरीक्षण तथा सचेतनाका कार्यक्रम नियमित भइरहेकाले आगामी दिनमा कर सङ्कलनमा वृद्धि हुने आशा गरिएको छ ।

जुम्लामा ७ महिनामा १८ करोड राजश्व सङ्कलन

सल्यानमा २४ बालमैत्री पुस्तकालय खुले, एकैदिन ८

जुम्लामा ७ महिनामा १८ करोड राजश्व सङ्कलन

जुम्लामा १० हजार बालबालिले दादुरा-रुबेला विरुद्दको खोप